+
+
Shares

इक्यान अध्यक्षका लागि पौडेल र भुसालको उम्मेद्‌वारी

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २२ गते १८:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल शैक्षिक परामर्श संघको अध्यक्ष पदका लागि महासचिव दिपकराज भुसाल र प्रथम उपाध्यक्ष एन्ड्रयु पौडेलले उम्मेदवारी दिएका छन्।
  • एन्ड्रयु पौडेलले इक्यानलाई व्यावसायिक, पारदर्शी र सदस्यकेन्द्रित बनाउन प्रतिबद्धता व्यक्त गरेका छन्।
  • भुसालले संस्थागत सुधार र नयाँ नेतृत्वसहित २६ वटा एजेन्डा अघि सारेका छन् र पूर्ण सर्मपित रहने बताएका छन्।

२२ पुस, काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) को अध्यक्षका लागि दुई जनाको उम्मेद्वारी परेको छ ।

यही २८ पुसमा हुन गइरहेको २०औं साधारणसभामा अध्यक्षका लागि हालका प्रथम उपाध्यक्ष एन्ड्रयु पौडेल (लक्ष्मण) र महासचिव दिपकराज भुसालले उम्मेद्वारी दिएका हुन् ।

यसअघि अध्यक्षका लागि उम्मेदवारी दिने घोषणा गरेकी गीता शिवाकोटी (गितान्जली) पछि हटेपछि अध्यक्षका लागि दुई जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।

गीताले पौडेलको उम्मेदवारीमा प्रस्तावकका रूपमा रहँदै आफ्नो उम्मेदवारी उपाध्यक्षका रूपमा मनोनयन दर्ता गराएकी छन् । लामो समयदेखि शिक्षा परामर्श क्षेत्रमा सक्रिय पौडेललाई एक समूहले साझा उम्मेदवारका रूपमा अघि सारेको छ ।

‘एन्ड्र्यु प्यानल’ अन्तर्गत उपाध्यक्ष पदमा वासुदेव दाहाल, पुष्पराज भट्टराई र गीता शिवाकोटी (गीताञ्जली), महासचिवमा नवराज केसी र सचिव पदमा एलबी गोले तामाङ र भुपाल केसीको उम्मेदवारी रहेको छ ।

त्यसैगरी, कोषाध्यक्षमा साधना पुडासैनी र सह–कोषाध्यक्षमा भीमबहादुर थापा उम्मेदवार बनेका छन् ।

अध्यक्षका उम्मेदवार पौडेलले इक्यानलाई थप व्यावसायिक, पारदर्शी र सदस्यकेन्द्रित संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले शैक्षिक परामर्श व्यवसायमा देखिएका नीतिगत चुनौती समाधान, सरकारी निकायसँग प्रभावकारी संवाद तथा सदस्यहरूको हकहित संरक्षणलाई आफ्नो प्रमुख एजेन्डा बनाए ।

आफ्ना प्रमुख एजेन्डालाई ‘एबीसीडीई’ का रूपमा प्रस्तुत गरेका पौडेलले ‘इक्यानको नयाँ व्यवस्था, व्यक्ति भन्दामाथि संस्था’ भन्ने नाराका आधारमा आगामी कार्ययोजना बनाएको बताए ।

पौडेलले एडभोकेसी, एकान्टबेलिटी, व्यवसाय, ब्रान्डिङ, शाखा विस्तारलाई तिब्रता, स्मार्ट इक्यान, डिप्लोमेसी, डोमिनेन्स, इम्पावरमेन्ट सहितका एजेन्डा अघि सारेका छन् ।

निर्वाचनका लागि दुवै पक्षले तयारी तीव्र बनाएको छ । भुसाल प्यानलको उपाध्यक्षमा फिलिप डीसी, मञ्जित ढकाल, विकल्प राज पाेखरेल र रत्न भट्टराई उम्मेदवार छन् ।

भुसाललाई पूर्वअध्यक्ष प्रकाश पाण्डे र वर्तमान अध्यक्ष शेषराज भट्टराईको समर्थन रहेको छ । भुसालको प्रस्तावक स्वयं पाण्डे र समर्थक भट्टराई छन् ।

भुसालले संस्थागत सुधार, नयाँ नेतृत्व र वैकल्पिक कार्यदिशासहित निर्वाचनमा होमिने जनाएको छ । भुसालले विभिन्न २६ वटा एजेन्डाहरू अघि सारेका छन् । उनले इक्यान सदस्यको अधिकार र औपचारिक मान्यता, इक्यान ट्रेनिङ एकेडेमी स्थापनादेखि लिएर आगामी २ वर्ष इक्यानको लागि पूर्ण सर्मपित रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

७०० भन्दा बढी सदस्य संस्था रहेको इक्यानमा यसपटकको निर्वाचनलाई अत्यन्तै प्रतिस्पर्धात्मक रूपमा हेरिएको छ । दुवै प्यानलले आफ्ना एजेन्डा, नेतृत्व क्षमता र टिमको अनुभवका आधारमा सदस्यहरूको समर्थन जुटाउने प्रयास गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?