+
+
Shares

प्रधानमन्त्रीसँग मधेशका प्रदेश प्रमुखको शिष्टाचार भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २२ गते १९:०८

२२ पुस, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग मधेश प्रदेश प्रदेश प्रमुख सुरेन्द्र लाभले शिष्टाचार भेट गरेकी छिन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा विविध समसामयिक विषयमा कुराकानी भएको छ ।

त्यसक्रममा प्रधानमन्त्री कार्कीले प्रदेश प्रमुख लाभलाई प्रदेशको राजनीतिक समस्या समाधानका क्रममा अभिभावकका रुपमा प्रभावकारी भूमिका खेल्न सफल भएको भन्दै प्रशंसा गरिन् । साथै पछिल्ला दिनमा मधेशमा देखिएको सामाजिक समस्या समाधानमा पनि यस्तै भूमिका खेल्न आग्रह पनि गरिन् ।

‘मधेश प्रदेशमा देखिएको राजनीतिक समस्या समाधानका लागि तपाईँले जुन अभिभावकीय भूमिका खेल्नुभयो, त्यो प्रशंसनीय छ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘अझै पनि समाजका सबै पक्ष समेटेर शान्ति र सद्भाव कायम राख्न यस्तै भूमिका खेल्न सक्नुहुनेछ भन्ने मलाई विश्वास छ ।’

आउँदो फागुन २१ गतेका लागि निर्धारित निर्वाचनको वातावरण बन्दै गएको अवस्थामा यसबीचमा आउन सक्ने सम्भावित चुनौतीहरुतर्फ पनि सतर्क हुनुपर्ने प्रधानमन्त्रीको धारणा थियो ।

‘देश अब पूरै निर्वाचनको मुडमा गइसकेको छ,’ उनले भनिन्, ‘यस्तो समयमा कतिपय तत्त्वले चुनौती खडा गर्न सक्छन् । त्यसतर्फ सचेत रहँदै समाजमा शान्ति, सद्भाव र सहिष्णुता कायम गर्न सबै पक्षले भूमिका खेल्नुपर्ने हुन्छ । तपाईँ पनि अभिभावकका रुपमा पहल गर्नुहोस् । राज्यका सबै संयन्त्र परिचालन गरी चुनावका लागि अनुकूल वातावरण बनाउँदै जानुपर्छ ।’

प्रदेश प्रमुख लाभले पनि प्रदेशको शान्ति सुव्यवस्था कायम राख्न आफ्नो तर्फबाट प्रयास गरिरहेको र सुरक्षा तथा प्रशासनिक संयन्त्र परिचालित भइरहेको जानकारी दिए ।

प्रदेश प्रमुख लाभले भेटका अवसरमा आफूले पदभार सम्हालेपछिका दुई महिनाको अवधिमा गरेका कामको विवरण प्रस्तुत गर्नुका साथै प्रधानमन्त्री कार्कीलाई मिथिलाका स्थानीय कलाकारले बनाएको जानकी मन्दिरको प्रतिमा र आफ्ना पुस्तक उपहार पनि दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?