News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको ८ कम्पनीले दुई महिनाभित्र आईपीओ निष्कासन गर्नुपर्ने व्यवस्था छ।
- सोलु हाइड्रोपावरले पुस २९ देखि ८२ लाख कित्ता आईपीओ सर्वसाधारणका लागि खुलाउनेछ।
- सुपर खुदी हाइड्रोपावर, पाल्पा सिमेन्ट, सूर्यकुन्ड, भुजुङ, होटल फरेस्ट इन, शिखर पावर र रिजलाइन इनर्जीले पनि आईपीओ निष्कासन गर्नेछन्।
२३ पुस, काठमाडौं । नेपाल धितोपत्र बोर्डको स्वीकृतिपछि धमाधम प्राथमिक सेयर (आईपीओ) निष्कासन हुन थालेका छन् । बोर्डबाट स्वीकृति पाएका ८ कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न बाँकी छ ।
स्वीकृति पाएका यी ८ कम्पनीले पालैपालो आईपीओ निष्कासन गर्नेछन् । बोर्डबाट स्वीकृत पाएर निष्कासनका लागि बाँकी रहेका कम्पनीमा पाल्पा सिमेन्ट, सोलु हाइड्रोपावर, होटल फरेस्ट इन, शिखर पावर, सुपर खुदी हाइड्रोपावर, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक, रिजलाइन इनर्जी र भुजुङ हाइड्रोपावर छन् ।
बोर्डबाट विवरणपत्र, बिक्री प्रस्ताव वा सम्बन्धित विवरण स्वीकृत भएको मितिबाट दुई महिनाभित्र संगठित संस्थाले धितोपत्रको बिक्री खुल्ला गरी सक्नुपर्ने व्यवस्था धितोपत्र दर्ता तथा निष्कासन नियमावलीमा उल्लेख छ । तसर्थ यी ८ कम्पनीले बोर्डबाट स्वीकृत पाएको २ महिनाभित्रै आईपीओ निष्कासन गरिसक्नुपर्छ।
सम्बन्धित नियामक निकायले अन्यथा तोकेकोमा बाहेक संगठित संस्थाले जारी पूँजीको दश प्रतिशत भन्दा घटी र ४९ प्रतिशत भन्दा बढी नहुने गरी सेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्नुपर्ने व्यवस्था सो नियमावलीमा छ ।
सोलु हाइड्रोपावर
सर्वसाधारणलाई सबैभन्दा पहिले खुल्न लागेको आईपीओ हो– सोलु हाइड्रोपावर । कम्पनीले वैदेशिक रोजगारमा रहेका, प्रभावित स्थानीय, सामुहिक लगानी कोषलाई सेयर बाँडफाँट गरेसँगै अब सर्वसाधारणका लागि पुस २९ गतेदेखि खुल्दैछ ।
माघ ४ गतेसम्म आईपीओ निष्कासन गर्दैछ । कुल ८२ लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन हुनेछ । यस कम्पनीले सोलुखुम्बुमा ८२ मेगावाटको तल्लो सोलु जलविद्युत् आयोजना बनाएको छ ।
प्रतिमेगावाट लागत १९ करोड ८८ लाख रुपैयाँको अनुमान छ । असोज मसान्तसम्मको वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ५३ पैसा छ । त्यस्तै प्रतिसेयर आम्दानी ४.४५ रुपैयाँ छ ।
सुपर खुदी हाइड्रोपावर
आयोजना प्रभावित लमजुङका स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई सुपर खुदी हाइड्रोपावरको आईपीओ हाल खुलिरहेको छ । कम्पनीले जारी पूँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो ।
कम्पनीले लमजुङमा २६ मेगावाटको माथिल्लो खुदी जलविद्युत् आयोजना बनाएको छ । जसको प्रतिमेगावाट लागत २० करोड ६९ लाख ३८ हजार रुपैयाँ छ । त्यस्तै प्रतिसेयर आम्दानी ४.४५ रुपैयाँ छ । ४६ करोड ५३ लाख रुपैयाँ सञ्चित नाफा रहेको कम्पनीले जनाएको छ । केयर रेटिङ नेपालबाट बीबी रेटिङ पाएको छ ।
पाल्पा सिमेन्ट इन्डस्ट्रिज
तानसेन ब्रान्डमा सिमेन्ट उत्पादन गर्दै आएको पाल्पा सिमेन्टले असोज २५ देखि पाल्पा तथा नवलपरासी पश्चिमका स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई सेयर निष्कासन गर्दैछ । कम्पनीले पहिलो चरणमा यो सेयर निष्कासन गरेलगत्तै सर्वसाधारणका लागि खुलाउने छ ।
कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् ७५ लाख कित्ता सेयर सर्वसाधारणमा निष्कासन गर्नेछ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३५.७४ रुपैयाँ छ ।
अंकित मूल्य १ सयकै दरमा कम्पनीले आईपीओ जारी गर्नेछ । पहिलो चरणमा सेयर निष्कासनपछि दोस्रो चरणमा सर्वसाधारणलाई निष्कासन हुनेछ । हाल बजारमा ४ वटा सिमेन्ट कम्पनी सूचीकृत छन् ।
सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक कम्पनी
यस कम्पनीले आयोजना प्रभावित स्थानीयबासी तथा वैदेशिक रोजगारीमा रहेकालाई आईपीओ निष्कासन गरिसकेको छ । त्यसपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि जारी गर्नेछ । कम्पनीले जारी पूँजी ६८ करोड ९६ लाख रुपैयाँको २० प्रतिशत अर्थात् १३ लाख ७९ हजार ३५० कित्ता सर्वसाधारण समूहमा निष्कासन गर्नेछ ।
नुवाकोटमा माथिल्लो तादी खोला जलविद्युत् आयोजना बनाएर प्राधिकरणलाई बिक्री गरिरहेको छ । जसको प्रतिमेगावाट लागत २१ करोड ५३ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ ९४.७७ रुपैयाँ छ भने प्रतिसेयर आम्दानी ०.३१ रुपैयाँ ऋणात्मक छ । केयर रेटिङबाट यसले बीबी माइनस रेटिङ पाएको छ ।
भुजुङ हाइड्रोपावर कम्पनी
यो कम्पनीले जारी पूँजी १ अर्बको २० प्रतिशत अर्थात् २० करोड रुपैयाँको सेयर सर्वसाधारणमा निष्कासन गर्दैछ । वैदेशिक रोजगारमा रहेका र आयोजना प्रभावितलाई सेयर बिक्री भइसकेको छ । लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिकामा कम्पनीले ७.५ मेगावाटको माथिल्लो मिदिम जलविद्युत् आयोजना बनाएको छ ।
यसको प्रतिमेगावाट लागत २४ करोड ९० लाख रुपैयाँ छ । साधारण लगानी फिर्ता हुने अवधि ९.६५ वर्ष रहेको छ । इक्रा नेपालले बी प्लस रेटिङ पाएको छ । अंकित मूल्य १ सयका दरमा आईपीओ जारी हुनेछ ।
होटल फरेस्ट इन
होटल फरेस्ट इनले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनका लागि स्वीकृति पाइसकेको छ । कम्पनीले जारी पूँजी २ अर्ब रुपैयाँ बराबरको २० प्रतिशत अर्थात् ४० लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो । ८० प्रतिशत अर्थात् १ करोड ६० लाख कित्ता सेयर संस्थापक समूहको हुनेछ ।
शिवपुरी वनमा अवस्थित होटल फरेस्ट इनले आफ्नो विवरणपत्र सार्वजनिक गरिसकेको छैन । हाल होटल तथा पर्यटन समूहका ७ कम्पनी बजारमा सूचीकृत छन् । बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ । अंकित मूल्य १ सयका दरमा आईपीओ निष्कासन हुनेछ ।
शिखर पावर डेभलपमेन्ट कम्पनी
कम्पनीले जारी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात् ३२ लाख कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो । जलविद्युत् समूहको यो कम्पनीले ६७.३५ प्रतिशत सेयर संस्थापक समूहको रहनेछ । बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।
कम्पनीले ४.९६ मेगावाटको भीमखोला स्मल हाइड्रोपावर आयोजना बनाएर सञ्चालनमा ल्याएको छ । सो आयोजनाको प्रतिमेगावाट लागत २४ करोड १८ लाख छ ।
आर्थिक वर्ष २०८१/८२ को अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ ९१ रुपैयाँ १३ पैसा छ । प्रतिसेयर आम्दानी ३.६९ रुपैयाँ ऋणात्मक छ । इक्रा नेपालले कम्पनीलाई बीबी रेटिङ प्रदान गरेको छ ।
रिजलाइन इनर्जी
कम्पनीले १ अर्ब १८ करोड ५० लाख रुपैयाँ जारी पूँजीको २० प्रतिशत अर्थात् १३ लाख ७९ हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्ने भएको छ । ८० प्रतिशत सेयर संस्थापक समूहको रहनेछ । कम्पनीले गोरखा जिल्लामा ९ मेगावाट क्षमताको सुपर चेपे जलविद्युत् आयोजना बनाएको छ ।
प्रतिक्रिया 4