+
+
Shares

जेनजीको चिन्ता– नागरिक सरकारमा दलीय रङ देखिन थाल्यो

कौशल काफ्ले कौशल काफ्ले
२०८२ पुष २३ गते २०:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री सुशीला कार्कीले गैरदलीय नागरिक सरकारका मन्त्रीहरूलाई दलगत राजनीतिमा सक्रिय हुन नहुने भन्दै राजीनामा दिन सुझाव दिएकी छिन्।
  • ऊर्जा मन्त्री कुलमान घिसिङ, युवा मन्त्री बब्लु गुप्ता र सञ्चार मन्त्री जगदीश खरेल दलगत राजनीतिक गतिविधिमा सक्रिय भएको आरोपमा विवादमा परेका छन्।
  • जेनजी आन्दोलनका अगुवाहरूले दलगत सक्रियता देखाउने मन्त्रीहरूले सरकार छोड्नुपर्ने र चुनावमा सहभागी हुनुपर्ने बताएका छन्।

२३ पुस, विराटनगर । जेनजी आन्दोलनपछि बनेको नागरिक सरकारका मन्त्रीत्रय कुलमान घिसिङ, बब्लु गुप्ता र जगदीश खरेल पछिल्ला केही दिनयता प्रत्यक्ष-अप्रत्यक्ष  राजनीतिक गतिविधिमा देखिएपछि विवादमा परे । गैरदलीय नागरिक सरकारका मन्त्रीहरू दलीय राजनीतिमा सक्रिय बन्न नहुने भन्दै कतिपयले राजीनामा समेत मागे ।

सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले गैरदलीय सरकारलाई विवादमा पार्न नहुने भन्दै दलीय राजनीतिमा सक्रिय हुन चाहेका मन्त्रीहरूले मार्ग प्रशस्त गर्नु उपयुक्त हुने धारणा राखेको सार्वजनिक भएसँगै यो प्रस‌ंग झन् चर्कियो ।

‘हामी अहिले फरक परिस्थितिमा छौं । यस अवधिसम्म तपाईंहरूले सरकारमा बसेर राम्रो योगदान गर्नुभयो,’ एक मन्त्रीका अनुसार प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् बैठकमा भनेकी थिइन्, ‘तर अब हामी अर्को चरणमा प्रवेश गर्दैछौं । यस्तो अवस्थामा केही साथीहरू राजनीतिमा जान चाहेको, चुनाव लड्न चाहेको प्रस्ट देखिएको छ । उहाँहरूले राजनीतिमा जाने हो भने तत्काल मार्गप्रशस्त गर्दा राम्रो हुन्छ ।’

चुनाव नजिकिँदै जाँदा मन्त्रीहरू दलगत चुनावी अभियानमा सक्रिय हुन थालेको भन्दै प्रधानमन्त्री कार्कीले मन्त्री घिसिङ, गुप्ता र खरेलप्रति संकेत गरेकी थिइन् । यसले प्रधानमन्त्री कार्की जेनजी आन्दोलनको जगमा बनेको नागरिक सरकार दलगत प्रभावबाट टाढा रहोस् भन्नेमा स्पष्ट देखिन्छिन् ।

प्रधानमन्त्रीबाटै यस्तो अभिव्यक्ति आएपछि ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङ राजीनामाको तयारीमा छन् । बुधबार उनले राजीनामा दिँदैछन् ।

तर, यसअघि घिसिङले आफू कुनै दलमा आबद्ध नरहेको दाबी गरेका थिए । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा सहभागीले सोधेका प्रश्नमा उनले उनको त्यस्तो भनाइ थियो ।

‘तपाईं नागरिकको जगमा बनेको सरकारको मन्त्री हो कि रास्वपाको मन्त्री हो ?,’ सहभागीको प्रश्नमा कुलमानको जवाफ थियो, ‘म कुनै पनि पार्टीको सदस्य छैन ।’

यो अभिव्यक्तिपछि झन् विवादित बनेका कुलमान अन्तत: पछि हटेका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध छन् भन्न कुनै कठिनाइ छैन । यसअघि आफ्नै समर्थनमा गठित उज्यालो नेपाल पार्टीको घोषणासभामा नै प्रमुख अतिथि बनेर पुगेका उनले त्यसपछि पनि दलगत सक्रियता देखाएका छन् । उज्यालो नेपालका नाममा विभिन्न कार्यक्रममा गएका थिए ।

पार्टीले १४ पुसमा राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता गर्यो । उज्यालो नेपालका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरे पनि एकताको मुख्य वार्ताकार उनै थिए । पटकपटक वार्तामा बसेका उनले उज्यालो नेपाललाई रास्वपाका गाम्ने निर्णय लिए । निर्णायक एकता वार्ताको दिन पनि उनी बौद्धस्थित अन्तरा होटलमा उज्यालो नेपालको केन्द्रिय कमिटीमा छलफलमा थिए । त्यहीँबाट जेनजी अगुवा सुदन गुरुङ समूहले रास्वपासँग वार्ताको लागि लगेको कुरा पनि छताछुल्ल भइसकेको छ ।

त्यसो त घिसिङ र रास्वपाबीच भएको सातबुँदे सहमतिमा कुलमानलाई पहिलो वरीयताको उपसभापति बनाउने उल्लेख छ । यसको साक्षी बसे, काठमाडौं महानगरका मेयर बालेन शाह ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र उपसभापतिमा कुलमान घिसिङ, डिपी अर्याल र स्वर्णिम वाग्ले रहने,’ सहमतिको बुँदा नम्बर ४ मा उल्लेख छ ।

तर पनि कुलमान आफू कुनै दलमा आबद्ध रहेको स्वीकार्न तयार थिएनन् ।

दलीय गतिविधिमा लागेको आरोप लागेका अर्का मन्त्री हुन् – बब्लु गुप्ता ।

युवा तथा खेलकुद मन्त्री रहेका उनी पनि रास्वपा र उज्यालो नेपालको सो एकतामा प्रत्यक्ष सहभागी थिए । यसले उनमा पनि रास्वपाको छाँया देखिन्छ । गैरदलीय सरकारका मन्त्री दलको एकता र वार्ताका साक्षी बनेको भन्दै उनको पनि आलोचना भएको छ ।

मन्त्री गुप्ता स्वयंले रास्वपाका वरिष्ठ नेता बालेन शाहसँगको तस्बिर सार्वजनिक गरेका छन् । बालेनकै शैली पछ्याउँदै ‘म नेपाल हाँसेको हेर्न चाहन्छु’ भन्दै शाहसँगको फोटो सामाजिक सञ्जालमा राखेका छन् । त्यसपछि सोही दिन उनको अर्को पोस्ट छ, जसमा उज्यालो नेपाल र रास्वपाबीच भएको एकतामा खिचाइएको तस्बिर राखिएको छ । आफूसहित रास्वपा र उज्यालो नेपाल पार्टीका नेताहरूसँग खिचाइएको तस्बिर राख्दै क्याप्सन लेखेका छन् – नेपाल ।

त्यसपछि अर्को भिडियो पोस्ट गरेका छन् । उक्त भिडियोमा रवि लामिछाने र कुलमानको बीचमा आफू बसेको, बालेन शाहसँग छुट्टै खिचिएको र रास्वपा–उनेपा सहमतिपत्रमा हस्ताक्षर हुँदै गरेको भिडियोको ‘कोलाज’ छ । र, पृष्ठभूमिमा गीत छ – म नेपाल हाँसेको हेर्न चाहन्छु ।

यही विषयले सञ्चारमन्त्री जगदीश खरेल पनि आलोचित बनेका छन् । जगदीश खरेल पनि चुनावी तयारीमा जुटेको र सोहीअनुसार सक्रियता बढाएको भन्दै आलोचना भएको हो ।

रास्वपा, काठमाडौं महानगरका मेयर बालेन्द्र शाह र मन्त्री घिसिङबीच एकता हुने भएपछि मन्त्री खरेल पनि उत्साही देखिएका थिए । उनले अप्रत्यक्ष रुपमा स्वागत पनि गरेका थिए । गैरदलीय सरकारका मन्त्री खरेलले कुनै एक दलको निर्णयलाई स्वागत गरेपछि उनी पनि विवादमा तानिए ।

वैकल्पिक नेताका रुपमा हेरिएका तीन शक्ति एक ठाउँमा आउने भएपछि खरेलले सामाजिक सञ्जालमा लेखेका थिए, ‘नयाँ दिन, नयाँ सुरुवात । सुन्दर र समृद्ध नेपालको सपना । गन्तव्य तय हुँदैछ ।’

उक्त पोस्टले पनि खरेलको दलगत स्वतन्त्रतामाथि थप प्रश्न उठ्यो । यद्यपि, उनले आफू कुनै दलमा आबद्ध नभएको दाबी गरेका छन् । सार्वजनिक रुपमा यसबारे प्रश्न उठेपछि उनले दाबी गरेका छन्, ‘म कुनै दलमा आबद्ध छैन ।’

जेनजी भन्छन् – चुनाव लड्न मन हुनेले सरकार छोड्नुस्

गैरदलीय नागरिक सरकारका मन्त्रीले दलिय सक्रियता देखाउँदा जेनजी स्वयं सन्तुष्ट छैनन् । जसको आडमा यो सरकार बन्यो र मन्त्री बने, उनैले आन्दोलनको मर्मविपरीत मन्त्री पद ओगट्नु सोभनिय नभएको उनीहरूको तर्क छ ।

जेनजी अभियान्ता अर्नब चौधरी, चुनावमा सहभागी हुन चाहने मन्त्रीले सरकार छाड्नुपर्ने बताउँछन् । दलगत आबद्धता देखाउने र चुनाव लक्षित सक्रियता देखाउने हुँदा नागरिक सरकार ओगटेर नबस्न उनले अनुरोध गरे ।

‘यसले कन्फिल्क्ट अफ इन्ट्रेस्ट बढाउँछ । त्यसैले सरकार बाहिर नै रहेर चुनावमा लागिदिन मेरो अनुरोध छ,’ चौधरीले भने, ‘बरु झ्याप्प मत ल्याएर, जनताबाटै अनुमोदित भएर फेरि मन्त्री हुनुस् न । यसरी जुन आन्दोलनको जगमा मन्त्री बन्नुभयो, त्यही आन्दोलनको मर्मविपरीत नागरिक सरकारलाई दलगत रङ किन दिनुहुन्छ ?’

देश अनिश्चयकाबीच चुनावी माहोलमा केन्द्रित भएकाले यसलाई झन नबिथोल्न पनि उनले अनुरोध गरे । यसरी मन्त्रीहरूले ‘प्राविधिक आधार’ देखाएर आफूलाई स्वतन्त्र भनेपनि उनीहरूको सक्रियताले त्यस्तो नदेखाएको बताए । ‘अरु दललाई बिच्काउने काम नगरिदिनुस् । बल्लबल्ल चुनावी माहोल बन्दै छ, यसलाई किन बिच्काउने ? त्यसैले सबैको कुरा मानेर उहाँहरू चुनाव केन्द्रित अभियानमा सक्रिय हुँदा राम्रो हुन्छ,’ चौधरीले अनलाइनखबरसँग भने ।

जेनजी डिजिटल दस्तकका अगुवा आशुतोष झा पनि नागरिक सरकारमा दलगत रङ्ग देखिएकोमा चिन्तित छन् । जे कुराको विरोधमा आन्दोलन गरियो, त्यही आन्दोलनको जगमा बनेको सरकारका मन्त्रीले देखिदेखि झुट बोल्दै पद ओगटेकोमा उनी दुखी सुनिए ।

‘कि पार्टीगत कुरामा नलाग्नु, कि सरकारमा नबस्नु भनेर हामीले भनिरहेका छौँ,’ झाले भने, ‘काम गर्न आएको हो भने पुरा समय मन्त्रालयमा ध्यान जाओस् । राजनीतिक गतिविधि कम गर्नुपर्यो ।’

जेनजी आन्दोलनको मर्म सम्झँदै उनले थपे, ‘उहाँहरू नागरिक सरकारको मन्त्री कम, पार्टी नेता धेरै देखिन थाल्नुभयो । यो ठिक हैन । जेनजी शहीदप्रतिको सम्मान यसरी हुँदैन । यसैको लागि त यतिजना युवा किन मर्थे र ?’

जेनजी अगुवा कामना पौडेल पनि दलगत राजनीतिमा लागेको अवस्थामा मन्त्री पदमा रहनु नहुने बताउँछिन् । ‘कि त सरकारमा रहेर पूर्णरुपमा चुनावी महोल बनाउन सहयोग गर्नुपर्यो, कि त सरकार छाडेर चुनावमा होमिनुपर्‍यो,’ उनले भनिन्, ‘दलगत चुनावी अभियानमा पनि छैन भन्ने, अनि त्यस्ता कार्यक्रममा पनि देखिनुले थप अन्योल बन्यो । उहाँहरूले आफूहरूको योजना जे हो स्पष्ट बताएर त्यहीअनुसार लागिदिए राम्रो हुन्छ ।’

यसरी दुईथरि कुरा गर्दा ‘नयाँ पनि उस्तै हुन्’ भन्ने भाष्य बलियो बनाउने भन्दै उनले थप भनिन्, ‘यस्तो व्यवहारले जेनजी आन्दोलनको मर्म पनि मर्छ । त्यत्रो आन्दोलन छाँयामा पर्छ । त्यसैले कि त म दलमा छैन भनेर पुरै समय सरकारको काममा रहनुपर्‍यो, किन सरकार छोडेर आफ्नो अभियानमा हिँड्नुपर्‍यो । यस्तो अवसरवादी चरित्र नयाँ/पुराना कसैले देखाउनु ठिक हैन ।’

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?