+
+
Shares

स्ट्रेन्जर थिङ्स : यो सिरिजसँगै हुर्किए बालकलाकार, यसबाटै बनाए भविष्य

एक त उनीहरूले बनाउन लागेको यो शो विज्ञानसम्बन्धी कथामा आधारित थियो । अझ हरर विधाको । त्यसमाथि मुख्य भूमिकामा बाल कलाकार ।

सापेक्ष सापेक्ष
२०८२ पुष २४ गते १७:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेटफ्लिक्सको सर्वाधिक सफल सिरिज 'स्ट्रेन्जर थिङ्स'को पाँच सिजन र ४२ भागमा आधारित कथा ८० को दशकको हकिन्स शहरमा सेट गरिएको छ।
  • डफर ब्रदर्सले बाल कलाकारहरूको प्राकृतिक अभिनय र विज्ञान-हरर विषयवस्तुमा आधारित सिरिज बनाउन कास्टिङमा विशेष ध्यान दिएका थिए।
  • 'स्ट्रेन्जर थिङ्स'का मुख्य ६ बाल कलाकारहरू अहिले २० वर्षभन्दा माथिका भइसकेका छन् र उनीहरूको करियरमा ठूलो सफलता आएको छ।

नेटफ्लिक्समा प्रशारित एउटा सिरिज छ । नाम हो, स्ट्रेन्जर थिङ्स ।

यो नेटफ्लिक्सको सर्वाधिक सफल सिरिजमध्येको एक हो । सिरिजमा मानवीय साहस, अटुट मित्रता र विज्ञानले नसुल्झाएका रहस्यहरू देखाइएको छ ।

८० को दशकको कथामा आधारित यो सिरिज ‘हकिन्स’ नामक एउटा सानो शहरमा सेट गरिएको छ । त्यहाँ १२ वर्षीय विल बायर्स नामक एक बालक रहस्यमय ढंगले बेपत्ता हुन्छन् । हराएका ती बालकको खोजीमा उनका परिवार, प्रहरी र साथीहरू लाग्दा सिरिजको कथा अघि बढ्छ ।

हालै मात्र यसका निर्माताहरूले सिरिजको अन्तिम भाग रिलिज गरे । त्यसले इन्टरनेटमा एक प्रकारको तरङ्ग नै ल्याएको छ । तर, यहाँ तीबारे भन्दा पनि सिरिजले बाल कलाकाहरूको जीवनमा पारेको प्रभावबारे चर्चा गरिनेछ ।

000

स्ट्रेन्जर थिङ्स म्याट र रस डफरले बनाएका हुन्, जसलाई डफर ब्रदर्स भनेर बढी चिनिन्छ । यसमा निर्माता कम्पनी अरू पनि छन् । तर कथा लेख्ने, निर्देशन गर्ने र बनाउनु पर्छ भनेर अडान लिने डफर ब्रदर्स नै हुन् ।

सिरिजको अवधारणा तयार गर्दा उनीहरूले एउटा यस्तो कथा सोचेका थिए, जसमा बालबालिकाहरू मुख्य भूमिकामा हुन् । तर विषयवस्तु भने वयस्कहरूलाई पनि उत्तिकै रुचि लाग्ने र गम्भीर होस् । सुरुमा उनीहरूको उक्त प्रस्तावलाई धेरै निर्माता कम्पनीहरूले अस्विकार गरेका थिए । बाल कलाकारहरूले मात्र अभिनय गर्ने शो कि बालबालिकाकै लागि हुनुपर्छ कि त ती बच्चाहरूको भूमिकालाई सहायक बनाइनुपर्छ भन्ने ती निर्माता कम्पनीहरूको तर्क थियो ।

तर डफर ब्रदर्सले हार मानेनन् । आफैंले चाहेजस्तो नै बनाउने भनेर अडान लिइरहे । त्यसका लागि उनीहरूलाई त्यस्ता बाल कलाकारहरू चाहिएको थियो, जसले अत्यन्तै प्राकृतिक र जीवन्त अभिनय गर्न सकुन् । डफर ब्रदर्शले बुझेका थिए कि यदि एउटा कलाकार मात्र कमजोर भयो भने परियोजना प्रवाहित हुनेछ ।

एक त उनीहरूले बनाउन लागेको यो शो विज्ञानसम्बन्धी कथामा आधारित थियो । अझ हरर विधाको । त्यसमाथि मुख्य भूमिकामा बाल कलाकार । यसबाट बच्ने एउटा उपाय उत्कृष्ट कास्टिङ छान्नु थियो । त्यसैले सिरिज बनाउनुपूर्व उनीहरूले कास्टिङलाई सबैभन्दा महत्त्वपूर्ण ठाने । र, बढी भन्दा बढी समय खर्चे ।

000

स्ट्रेन्जर थिंग्सको मुख्य आकर्षण नै बाल कलाकारहरू बन्न पुगे । किनकि यो सिरिजमा कलाकाहरूको प्राकृतिक वृद्धिलाई देखाइएको छ । जसले गर्दा धेरै दर्शक उनीहरूसँग जोडिएको महसुस गर्न सक्छन् । जम्मा पाँच सिजन र ४२ भाग चलेको यो सिरिजमा मुख्य भूमिका निभाउने ६ जना बाल कलाकार थिए । यद्यपि, कथा अघि बढ्दै जाँदा अन्य केही महत्वपूर्ण बाल र किशोर कलाकारहरू पनि थपिएका छन् । भलै यी ६ बाल कलाकार नै प्रमुख हुन् ।

  • मिली बबी ब्राउन : इलेभेनको भूमिकामा
  • फिन वल्फहार्ड : माइक ह्विलरको भूमिकामा
  • गेटेन माटाराजो : डस्टिन हेन्डरसनको भूमिकामा
  • कालेब म्याकलफ्लिन : लुकास सिन्क्लेयरको भूमिकामा
  • नोआ स्न्याप : विल बायर्सको भूमिकामा
  • सेडी सिङ्क : म्याक्स मेफिल्डको भूमिकामा
‘स्ट्रेन्जर थिङ्ग्स’का मुख्य बाल कलाकारको उमेर तालिका ।

रोचक तथ्य के छ भने यो शृङ्खला सन् २०१६ मा सुरु हुँदा यी सबै बाल कलाकारहरू ११ देखि १३ वर्षका थिए । अहिले उनीहरू सबै २० वर्षभन्दा माथिका भइसकेका छन् । र हलिउडका चर्चित स्टार बनिसकेका छन्।

उनीहरू कतिपयले आफ्नै ब्रान्ड स्थापित गरेका छन् । कोही चर्चित ब्रान्डको दूत बनेका छन् । सामाजिक सञ्जालमा लाखौं फलोअर्स कमाएका छन् । उनीहरूमध्ये मिली बबी ब्राउनले त डफर ब्रदर्शलाई अभिभावक नै मान्ने एक अन्तर्वार्तामा बताएकी थिइन् । त्यस्तो सम्बन्ध विकास भएका उनीहरू सबैलाई डफर ब्रदर्शले भने लामो परीक्षण पश्चातमात्र परियोजनामा भित्र्याएका थिए । त्यो कामको जिम्मा भने चर्चित कास्टिङ निर्देशक कार्मेन कुबाले पाएका थिए ।

पात्रहरूमा फिट हुने बाल कलाकार खोज्न कार्मेनले विश्वव्यापी अभियान नै चलाएकी थिइन् । उनले परम्परागत हलिउड शैलीका क्युट वा तालिम प्राप्त बच्चाहरू भन्दा पनि यस्ता बालबालिकाहरू खोजेकी थिइन्, जो अलि फरक देखिउन् र जसमा प्राकृतिक जिज्ञासा होस् ।

त्यसका लागि अडिसनमा उनीहरूलाई ‘स्ट्रेन्जर थिङ्स’को संवाद नभई सन् १९८६ को प्रसिद्ध फिल्म ‘स्ट्यान्ड बाइ मी’को संवादहरू पढ्न लगाइएको थियो ।

‘स्ट्यान्ड बाइ मी’ फिल्म स्टिफन किङको उपन्यास ‘द बडी’ मा आधारित थियो । त्यस फिल्ममा पनि चार जना केटाहरू हराएको मृत शरीर खोज्न निस्कन्छन् । यो फिल्म बाल्यकालको मित्रताका लागि उत्कृष्ट उदाहरण मानिन्छ ।

डफर ब्रदर्सले यही फिल्मका संवादमार्फत अडिसनमा लिइरहेका बाल कलाकारहरूबीच तालमेलको मेल खोजेका थिए ।

यी बाल कलाकारहरू अहिले के गर्दै छन् त ?

१.मिलि बबी ब्राउन

बेलायतकी मिलि बबी ब्राउनका लागि ‘स्ट्रेन्जर थिङ्स’ जीवनको सबैभन्दा ठूलो र निर्णायक मोड साबित भयो । किनकि ११ वर्षको उमेर हुँदा उनी यो परियोजनामा छानिएकी थिइन् । अडिसन दिँदा उनले देखाएको अभिनय क्षमताका आधारमा डफर ब्रदर्शले छनौट गरेका थिए । उनले निभाएको इलेभेन पात्रसँग निकै कम संवादहरू छन् (सुरुका सिजनहरूमा) । उनले आफ्नो आँखा र अनुहारको हाउभाउबाट डराएको, शक्तिशाली र अलौकिक बालिकाको चित्रण गर्नुपर्ने हुन्थ्यो । अनि कपाल पनि खौरिनु पर्ने सर्त थियो । त्यसमा उनले बहुतै राम्रो गरिन् । अहिले उनी २१ वर्षकी भएकी छिन् । यस बीचमा उनले लोभलाग्दो सफलता पाइसकेकी छिन् । विवाह पनि गरिसकेकी छिन् । र एक बच्चालाई ‘एडप्ट’ गरेर हुर्काइरहेकी छिन् ।

२.गेटन माटाराजो

कहिलेकाहीँ रोगहरू शरीरका लागि बाधक भइदिए पनि कुनै कुराका लागि राम्रो हुन सक्छ । गेटन माटाराजोका लागि त्यस्तै भइदियो । उनलाई जन्मजात ‘क्लीडोक्रानियल डिस्प्लेसिया’ नामक एक दुर्लभ वंशानुगत समस्या थियो । त्यसले उनको शरीरका हड्डी र दाँतको विकासमा असर गरेको थियो । त्यस रोगबारे उनले अडिसनमा सविस्तार बताएका थिए । तर डफर ब्रदर्सलाई उनको त्यही वास्तविक जीवन मनपर्यो । र, त्यसलाई नै एउटा पात्रका रूपमा विकसित गर्ने सोचे । उनले निभाएको डस्टिन हेन्डरसन पात्र हँसिलो र निकै बौद्धिक हुन्छ । अहिले उनले त्यसरोग विरुद्ध लड्न ‘सीसीडी स्माइल’ नामक गैर-नाफामूलक संस्था खडा गरेका छन् । जसमार्फत यस रोगबाट पीडित अन्य व्यक्तिहरूको उपचारमा सहयोग पनि गरिरहेका छन् । सिजन १ मा सानो र दाँत नभएको बालकको रूपमा देखिएका गेटन अहिले २३ वर्षका भइसकेका छन् ।

३.फिन वल्फहार्ड

माइक ह्विलरको भूमिकामा देखिएका फिन वल्फहार्ड ८० को दशकका फिल्महरूप्रतिको ज्ञानका कारण छनोट भएका थिए । फिल्ममा उनी आफ्नो साथीहरूलाई नेतृत्व समेत गर्छन् । तर सुरुमा माइकको पात्र निकै नरम स्वभावको लेखिएको थियो । अहिले फिन अभिनयबाहेक संगीतको क्षेत्रमा पनि छन् । हालै मात्र उनले आफ्नो पहिलो एल्बम ‘ह्याप्पी बर्थडे’ सार्वजनिक गरिसकेका छन् ।

४.कालेब म्याकलफ्लिन

सिरिजका लागि छानिएका बाल कलाकारहरू मध्ये कालेब सबैभन्दा अनुभवी थिए । उनले सानै उमेरमा ‘द लायन किङ’ मा सिम्बाको भूमिका निर्वाह गरिसकेका थिए । तर, उनलाई पनि अडिसनपश्चात मात्र परियोजनामा छानिएको थियो । सिजन १ देखि ५ सम्म आइपुग्दा कालेबको शारीरिक रुपान्तरण धेरे देखिएको थियो ।

५.नोआ स्न्याप

अन्य बाल कलाकारहरूको तुलनामा नोआको यात्रा अलि फरक रह्यो । किनकि सिजन १ मा नै उनले निभाएको पात्र विल बायर्स हराउँछन् । तर त्यसपछिका सिजनहरूमा उनले बेजोड अभिनय गरेका छन् । यस सिजनमा उनले निभाएको पात्र समलिंगी हुन्छ । वास्तविक जीवनमा समेत नोआ समलिंगी नै हुन् । उनले केही वर्षअघि मात्र यो कुरा खुलाएका थिए ।

६.सेडी सिन्क

सिजन १ मा सेडी सिन्क देखिँदैनन् । उनी दोस्रो सिजनदेखि देखिन्छन् । उनले निभाएको म्याक्स पात्र इलाभेनको विपरित हुन्छ । यो पात्रका लागि उनीसँगै ५०० भन्दा बढी बालबालिकाहरूले अडिसन दिएका थिए । परियोजनामा संलग्न हुँदा उनी जम्मा १५ वर्षकी थिइन् ।

पर्दा पछाडिको मित्रता

यो सिरिजले यी बाल कलाकारहरूको करियर त बनायो, बनायो । सँगै उनीहरूबीच एउटा यस्तो सम्बन्ध पनि बनायो जुन जीवनभर रहने करिब निश्चित छ । किनकि सिजन १ को सुटिङदेखि नै उनीहरू एउटै होटलमा बस्थे र फुर्सदको समयमा सँगै खेल्थे । अब यो सिरिज सकिसकिएको छ । हाललाई अर्को सिजन नबन्ने डफर ब्रोदर्शले बताइसकेका छन् । तर यति हुँदा पनि यी बाल कलाकारहरू आजकल निकै मिल्ने साथी छन् । कतिपयले त सप्तान्तमा सँगै समय बिताउने पनि गर्छन् । अनि सिरिजले गर्दा उनीहरूलाई ठूलो अवसरको ढोका समेत खुलेको छ ।

खासमा ‘स्ट्रेन्जर थिङ्स’ले बाल कलाकारहरूको हकमा बेन्चमार्क स्थापित गर्‍यो भन्न सकिन्छ । किनकि यसका निर्माताहरूले बाल अभिनयलाई पनि उत्तिकै गम्भीरतापूर्वक लिए । कलिला कलाकारहरूलाई प्रसिद्धि दिए । त्यसभन्दा बढी अभिनयको क्षेत्रमा हुर्कने एउटा सुरक्षित वातावरण दिए । आफ्नो प्रतिभा तिखार्ने अवसर दिए ।

कास्टिङ निर्देशक कार्मेन कुबाले भनेझैँ ती बच्चाहरूमा भएको ‘जिज्ञासा र कल्पनाशीलता’ नै यो शोको मुटु थियो । अहिले विभिन्न अन्तर्राष्ट्रिय मिडियाहरूमा आएको मिलि, फिन, गेटन, कालेब, नोआ र सेडीका अन्तर्वार्ताहरू हेर्दा उनीहरूले ‘मार्ग निर्देशन’लाई निकै महत्त्वपूर्ण मान्छन् । यदि त्यसो नहुँदो त यहाँ कथा अर्कै हुन सक्थ्यो ।

अब बाल कलाकारहरूलाई दिएको ‘भ्यालू’ अन्य फिल्ममेकरहरूले बुझ्नु पर्ने अवस्था पक्कै आएको छ ।

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?