२४ पुस, चितवन । चितवनको पुरानो सदरमुकाम उपरदाङगढीमा पुन: चण्डी तोप र गोला लगिएको छ । गढीमा बनेको आर्कषक कोतघरको पिंढीमा चण्डी तोप र गोला राखिएका छन् भने भवन भित्र पुराना हातहतियार राखिएका छन् ।
गढीमा तोप, गोलाको सुरक्षा नभएको भन्दै भरतपुरमा रहेको नेपाली सेनाको ब्यारेकमा राखिएका यी सामग्री पुन: गढीमै फिर्ता गरिएको हो ।
चितवनको इच्छाकामना गाउँपालिका–७ मा पर्ने ऐतिहासिक यो गढी सेन वंशको पालामा निर्माण गरिएको थियो । इच्छाकामना गाउँपालिकाले पछिल्लो समयमा गढीलाई आर्कषक पर्यटकीय गन्तव्यका रूपमा विकास र संरक्षण गर्ने उद्देश्यले लगानी गर्दै आएको छ ।
गाउँपालिकाको आग्रहमा नेपाली सेनाको भरतपुरस्थित नयाँ सबुज गणमा राखिएका तोप र गोला गढीमा लगिएको हो । नेपाली सेना आफैंले सहजीकरण गरेर ती हातहतियार गढीमा पुर्याएर यसको महत्वलाई अझै बढाउन भूमिका खेलेको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए ।
बुधबार बिहान भरतपुरमा रहेको सेनाको ब्यारेकबाट ६ पाउन्ड तौल भएको तोप र त्यसमा लाग्ने ५० वटा गोला पूजापाठ गरेर निकालिएको थियो । पञ्चेबाजाका साथमा मंगलधुन बजाएर चण्डी तोप र गोलाहरू ब्यारेकबाट गाडीमा हालेर गढीको केही तलसम्म सवारी जान सक्ने ठाउँसम्म पुर्याइएको थियो । त्यसपछि नेपाली नेपाली सेना र स्थानीयको सहयोगमा तोप र गोला बोकेर गढीको कोतसम्म पुर्याएर पुन: तोप जोडिएको थियो ।
सेनाले तोप र गोलासहित भरुवा बन्दुक २ नाल, एउटा खुँडा, दुई वटा तरबार, १२ इन्चका दुई खुकुरी, १३ इन्चको दुई खुकुरी, १४ इन्चको दुई खुकुरी र युद्धका बेला सैनिकले आफ्नो सुरक्षाका लागि रोक्न प्रयोग गर्ने ढाल एउटा गढीमा दिएको जनाएको छ ।

नेपाली सेनाको मध्य पृतना हेडक्वार्टर सुपारेटार ब्यारेकका पृतनापति उपरथी विष्णुकुमार खड्काले यी सामग्री इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङलाई हस्तान्तरण गरेका थिए ।
गाउँपालिकाको विषेश पहलमा निर्माण गरिएको कोतघर संग्रहालयको रूपमा विकास एवं संरक्षण गर्न तथा ऐतिहासिक महत्वको जगेर्ना गर्न नेपाली सेनाले सजावटका लागि ऐतिहासिक सामग्रीहरू प्रदान गरेको पृतनापति खड्काको भनाइ छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले पुरातत्व विभागको समन्वय, स्वीकृत र प्रत्यक्ष निगरानीमा गाउँपालिकाको १ करोड ८३ लाखको लागतमा आर्कषक कोतघर निर्माण गरिएको बताए । भक्तपुरे कलात्मक शैली झल्कने गरी कोतघर बनाइएको छ ।
कोतघरको भुईं तलामा सिसाको फ्रेम भित्र बन्दुक, ढाल, खुकुरी लगायतका हातहतियार राखिएका छन् भने माथिल्लो तलामा इच्छाकामनाका विभिन्न जातजातिको संस्कृति झल्काउने तस्वीर तथा पाालिकाका पर्यटकीय गन्तव्य र चितवनमा पाइने दुर्लभ जनावरहरूको तस्वीर राखिएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले गढीको सुरक्षा र संरक्षण संवेदनशील भएकोले आवश्यक समन्वय गर्न गाउँपालिकालाई आग्रह गरे । पालिकाले उच्च प्राथमिकतामा उपरदाङगढीलाई राखेको भन्दै प्रजिअ अर्यालले खुसी व्यक्त गरे ।
‘हामीले देख्दा ऐतिहोसिक गढी सामान्य अवस्थामा थियो, कोतघर खण्डहर बनेको थियो । गढी भित्र नै २०५२ सम्म प्राथमिक तहको विद्यालय बनाएर चेपाङ बालबालिकालाई पढाउने गरिएको थियो । पछि संरक्षण हुन छाड्यो,’ पालिका अध्यक्ष गुरुङले भने, ‘हामी निर्वाचित भएर आएपछि गढीमा नयाँ कोतघर बनाउने, पुराना सामग्री खोजेर ल्याउनेतिर लाग्यौं र सफल पनि भयौं ।’

उनले गढी क्षेत्रमा नेपाली सेनाकै सहयोगमा खानेपानीको आर्कषक धारा, शौचालयहरू निर्माण गरिएको जानकारी दिए । पालिका अध्यक्ष गुरुङले गढीसम्म पुग्ने पेटीमा ढुंगा छाप्ने, आर्कषक पिकनिक स्पटका रूपमा विकास गर्दै हरियाली प्रवर्द्धन गर्न लालीगुराँसका बिरुवा हुर्काउने काम गरिने बताए ।
पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले विभागले २०६९ सालदेखि गढी क्षेत्रमा पुनर्निर्माण र उत्खननको काम गर्दै आएको बताइन् । उनले देशभर रहेका ३०० भन्दा बढी गढी तथा किल्लाहरूको अवस्था, संरक्षण र पुनर्निर्माणमा विभाग लागिपरेको बताइन् ।
गढी क्षेत्रको सुरक्षा तथा टिकटका लागि पालिका प्रहरीलाई जिम्मा दिइएको छ । दुई जना पालिका प्रहरीलाई खटाइएको छ । गढी प्रवेश गर्नेहरूसँग ५० रुपैयाँको टिकट लिने गरिएको छ । गढीमा औसत दैनिक ५० भन्दा बढी पर्यटक आउने गर्छन् ।
सदरमुकाम भरतपुरबाट पूर्व–उत्तर पदमपुर, शक्तिखोर हुँदै वा रत्ननगरबाट उत्तर जुटपानी–शक्तिखोर हुँदै करिब एक घण्टामा गढी जान सकिन्छ ।
आदिवासी चेपाङ, मगर र गुरुङ जातिको बसोबास रहेको गढी क्षेत्रमा पर्यटकको चहलपहल बढेसँगै होमस्टेहरू समेत खुल्ने क्रम सुरु भएको छ ।
प्रतिक्रिया 4