News Summary
Generated by OK AI. Editorially reviewed.- पोखरामा २६ पुस होटल पोखरा ग्रान्डमा 'बुकहिल बुकान्जा' विशेष साहित्यिक उत्सव आयोजना हुने भएको छ।
- कार्यक्रममा चर्चित लेखक, कवि र विश्लेषकहरूका ७ वटा सत्र सञ्चालन हुने आयोजकले बताएका छन्।
- उत्सवमा उपन्यास 'याली' को लोकार्पण, बहस, संगीत प्रस्तुति र पुस्तक हस्ताक्षर कार्यक्रम समावेश छन्।
२५ पुस, काठमाडौं । पर्यटकीय नगरी पोखरामा शनिबार (२६ पुस) विशेष साहित्यिक उत्सव ‘बुकहिल बुकान्जा’ आयोजना हुने भएको छ ।
बुकहिल पब्लिकेशन र र्यान्डम रिडर्स सोसाइटी पोखराको सहकार्यमा पोखराको पार्दीस्थित होटल पोखरा ग्रान्डमा एकदिने साहित्यिक मेला हुन लागेको हो ।
‘पुस्तक र विचारको उत्सव’ नारासहित आयोजना हुन लागेको कार्यक्रममा चर्चित लेखक, कवि तथा विश्लेषकहरूको जमघट हुनेछ ।
कार्यक्रममा ‘असहमति–तन्त्र’, ‘पाइडल र पैताला’, ‘स्वको महायुग’, ‘निबन्धको उज्यालो’देखि सांगीतिक प्रस्तुतिसम्मका ७ वटा सत्र सञ्चालन हुने आयोजकले जनाएको छ ।
बुकहिलका अध्यक्ष भूपेन्द्र खड्काले लेखक र पाठकबीचको सम्बन्धलाई नजिक बनाउन र वैचारिक बहसलाई तीव्रता दिन कार्यक्रम आयोजना गरिएको बताए। ‘हामी पोखरामा पुस्तक र विचारको उत्सव मनाउन गइरहेका छौं,’ अध्यक्ष खड्काले भने, ‘यस किसिमको बहस र विमर्शले पठन संस्कृतिलाई थप उचाइमा पुर्याउने विश्वास लिएका छौं ।’
बिहान ११:३० बजे सुरु हुने कार्यक्रमको पहिलो सत्र ‘असहमति–तन्त्र’मा चर्चित विश्लेषक सौरभ र एकान्त शर्माबीच संवाद हुनेछ । लगत्तै ‘स्वको महायुग’ सत्रमा सरस्वती प्रतीक्षा र सीमा आभासले बहस गर्नेछन् ।
कार्यक्रममा निष्प्रभ सजीको उपन्यास ‘याली’को लोकार्पणसमेत गरिनेछ । पुस्तकको विमोचन वरिष्ठ साहित्यकार सरुभक्त र लेखक स्वयंले गर्दै उपन्यासबारे बहस गर्नेछन् । दिउँसो निबन्ध विधामा केन्द्रित ‘निबन्धको उज्यालो’ सत्रमा रोशन शेरचन र भूपिनबीच संवाद हुनेछ ।
यस्तै, ‘नदीशको लयमा हिँउद’ शीर्षकमा नदीशले एकल प्रस्तुति दिनेछन् । ‘पाइडल र पैताला’ सत्रमा विश्व साइकल यात्री पुष्कर शाह र गनेस पौडेलबीच रोचक कुराकानी हुने तालिका छ ।
कार्यक्रमको अन्तिम सत्रमा ‘बुकहिल ब्यालेड्स’ अन्तर्गत साङ्गीतिक प्रस्तुति रहनेछ । जसमा वरिष्ठ साहित्यकार सरुभक्त र तीर्थ श्रेष्ठका गीतहरूमा गायक विनोद बानियाँ र साङ्गीतिक समूहको प्रस्तुति रहनेछ । कार्यक्रमस्थलमा बुकस्टलका साथै लेखकहरुसँग संवाद र पुस्तक हस्ताक्षर पनि रहनेछ ।
बेलुका ६ बजेसम्म चल्ने उत्सवमा साहित्यप्रेमीका लागि प्रवेश निःशुल्क गरिएको आयोजक बुकहिलले जनाएको छ ।
प्रतिक्रिया 4