News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा इतिहासको ब्याज खाएर बस्न नहुने भन्दै नेताहरूप्रति कटाक्ष गरेका छन् ।
- उनले देशको जटिल अवस्थाबारे चिन्ता व्यक्त गर्दै कांग्रेस बलियो हुनुपर्ने बताएका छन् ।
- श्रेष्ठले नयाँ युवालाई अगाडि सारेर चुनाव जिताउन सबै लाग्नुपर्ने र पार्टीको हितका लागि त्याग गर्न तयार हुनुपर्ने उल्लेख गरे ।
२७ पुस, काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न पाउने अवस्था नहेको भन्दै नेताहरूप्रति कटाक्ष गरेका छन् । पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले देशको अवस्था जटिल रहेको भन्दै त्यसका लागि कांग्रेस बलियो हुनुपर्ने बताएका हुन् ।
‘भविष्यका तारा महामन्त्री गगनकुमार थापा, अर्का तारा महामन्त्री विश्वप्रकाश शर्माद्वयले ऐतिहासिक विशेष महाधिवेशनको आयोजना गर्नुभयो । यसको पूर्ण सफलताको कामना गर्न बिरामी हुँदाहुँदै पनि आएको छु,’ उनले भने, ‘पुराना साथीहरूको उपस्थिति देख्ना खुसी लागेको छ । यहाँ कसैले हठ गरिराख्न हुँदैन । यहाँ म कुनै पद माग्न उभिएको हैन । आज ७८ वर्षको व्यक्ति मैले ७० वर्ष कांग्रेसमा रगत र पसिना बगाएको छु ।’
उनले देशको अवस्था जटिल रहेको भन्दै थपे, ‘स्थिति अत्यन्त जटिल छ । भदौ २३ र २४ को आन्दोलनले पार्टीभन्दा माथि उठ्न भनेको छ । गुटको कुरै नगर्नस् । मुलुकको राष्ट्रियता खतरामा छ । साउथ एसियामा कालो बादल मडारिएको छ । देशै नरहे कोसँग शासन गर्ने ?’
उनले अहिले समय र शैली फेरिएको भन्दैल नयाँ युवाहरूलाई अगाडि सारेर चुनाव जिताउन सबै लाग्नुपर्ने पनि बताए ।
‘साथीहरू इतिहासको ब्याज खाएर अब चल्दैन । समय र शैली फेरिएको छ । नयाँ युवाहरूलाई अगाडि सारेर यो देशको हरेक ठाउँमा ल्याउनुपर्छ जिताउनुपर्छ । हामीलाई व्यक्तिगत रुपमा केही नपाए केही फरक पर्दैन कांग्रेस बलियो हुनुपर्छ । कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर हुन्छ पार्टीको हितका लागि जस्तोसुकै त्याग गर्न पनि तयार हुनुपर्छ। इतिहासका धेरै उथलपुथल देखेको छु’ उनले भने ।
प्रतिक्रिया 4