News Summary
Generated by OK AI. Editorially reviewed.- आईसीसीले बंगलादेश क्रिकेट बोर्डलाई २०२६ को टी–२० विश्वकपमा भारतमा खेल्ने निर्णय जनवरी २१ भित्र लिनुपर्ने जानकारी दिएको छ।
- बंगलादेशले भारतमा खेल्दा सुरक्षाको चिन्ता व्यक्त गर्दै वैकल्पिक स्थलको माग गरेको छ तर आईसीसीले तालिका परिवर्तन नगर्ने स्पष्ट पारेको छ।
- यदि बंगलादेशले भारतमा खेल्न अस्वीकार गरेमा स्कटल्यान्डलाई विश्वकपमा सहभागी गराउन सकिने आईसीसीले जनाएको छ।
५ माघ, काठमाडौं । बंगलादेशले २०२६ को टी–२० विश्वकपमा सहभागिता जनाउनेबारे विशेषगरी भारत यात्रा गर्ने कि नगर्ने भन्ने विषयमा अन्तिम निर्णय जनवरी २१ सम्म लिनुपर्ने भएको छ। आईसीसीले यो समयसीमा बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) लाई ढाकामा भएको बैठकमा जानकारी गराएको हो।
बीसीबीले विश्वकप खेल्न चाहेको भए पनि भारत बाहिर खेल्नुपर्ने अडान दोहोर्याएको छ। उसले भारतमा खेल्दा सुरक्षाको चिन्ता रहेको बताएको छ। श्रीलंका सह–आयोजक भएकाले वैकल्पिक स्थल हुन सक्ने बीसीबीको भनाइ छ। तर आईसीसीले तालिका परिवर्तन नहुने स्पष्ट पारेको छ र बंगलादेशलाई समूह ‘सी’ मै राख्ने अडानमा छ।
बंगलादेशको पहिलो खेल फेब्रुअरी ७ मा कोलकातामा वेस्ट इन्डिजविरुद्ध तय छ। त्यसपछि उसका दुई खेल पनि कोलकातामै र अन्तिम समूह खेल मुम्बईमा हुने तालिका छ।
आईसीसीले बंगलादेशलाई भारतमा कुनै विशेष सुरक्षा खतरा नरहेको आश्वासन दिएको छ। स्वतन्त्र सुरक्षा एजेन्सीको रिपोर्टअनुसार भारतमा समग्र खतरा स्तर मध्यमदेखि उच्च भए पनि कुनै पनि टोलीमाथि प्रत्यक्ष खतरा देखिएको छैन।
यदि बीसीबीले भारत जान अस्वीकार गरेमा, आईसीसीले बंगलादेशको स्थानमा स्कटल्यान्डलाई विश्वकपमा सहभागी गराउन सक्ने बताइएको छ। स्कटल्यान्ड यूरोप छनोट पार गर्न नसक्दा विश्वकपमा छनोट भएको थिएन ।
बंगलादेश नखेले हाल विश्वकपमा खेल्नेबाहेक सबैभन्दा माथिल्लो वरियतामा रहेका आधारमा स्कटल्यान्डले खेल्ने मौका पाउनेछ ।
आईपीएल टोली कोलकाता नाइट राइडर्सले बंगलादेशी खेलाडी मुस्ताफिजुर रहमानलाई टोलीबाट हटाएपछि विवाद सुरु भएको थियो ।
त्यसपछि बंगलादेश सरकारले आईपीएल प्रसारणमा प्रतिबन्ध लगाएको थियो, र बीसीबीले भारतमा विश्वकप नखेल्ने पत्र आईसीसीलाई पठाएको थियो।
-क्रिकइन्फोबाट
प्रतिक्रिया 4