News Summary
Generated by OK AI. Editorially reviewed.- राहुल विश्वकर्माले धरानमा भएको डीएन्डडी एमेच्योर गल्फ च्याम्पियनसिपको उपाधि २-अन्डर १ सय ३८ स्कोरसहित जितेका छन्।
- प्रतियोगितामा पहिलो पटक नेपाली एमेच्योर गल्फरले नगद पुरस्कार प्राप्त गरेका छन् र राहुलले ५० हजार रुपैयाँ पाए।
- प्रतियोगिता बेलायतमा रहेका गल्फर देउ कुमार राई र दीपेन्द्र राईको प्रायोजनमा ३६ होलमा ३८ खेलाडीको सहभागितामा सम्पन्न भएको थियो।
६ माघ, धरान । डीएन्डडी एमेच्योर गल्फ च्याम्पियनसिपको उपाधि राहुल विश्वकर्माले जितेका छन् । राहुलले दोस्रो तथा अन्तिम राउन्डमा ४-अन्डर ६६ को उत्कृष्ट कार्डकासाथ समग्रमा २-अन्डर १ सय ३८ स्कोर गरे ।
उनले प्रकृत तामाङ र सुन्दर राईलाई ९ स्ट्रोकको फराकिलो अन्तरले पछि पार्दै उपाधि जितेका हुन् । च्याम्पियन राहुलले नगद ५० हजार प्राप्त गरे । नेपाली एमेच्योर गल्फरले कुनैपनि प्रतियोगितामा नगद पुरस्कार प्राप्त गरेको पहिलो पटक हो ।
प्रकृत र सुन्दर राईले समग्रमा ७-ओभर १ सय ४७ को नतिजा निकाले । काउन्ट ब्याकमा प्रकृत दोस्रो भएका हुन् । प्रकृतले आज ३-अन्डर ६७ को स्कोर बनाए । उनले ३० हजार प्राप्त गरे । तेस्रो भएका सुन्दरले आज ४-ओभर ७४ को प्रदर्शन गरे । उनले २४ हजार प्राप्त गरे ।
राम तामाङले ३-ओभर ७३ खेलेर कुल ८-ओभर १४८ सहित चौथो स्थान हासिल गरे । उनले २० हजार रुपैयाँ प्राप्त गरे । राजेश राईले ४-ओभर ७४ खेलेर १४९ स्कोर सहित पाँचौँ स्थानमा रहे । उनले १६ हजार नगद पुरस्कार पाए ।
सुमन भुजेल (७३), गजेन्द्र लिम्बु (७७) र पदम हाङ लिम्बु (७५) ले समान १ सय ५१ स्कोर गरे । काउन्ट ब्याकमा सुमन छैटौं, गजेन्द्र सातौं र पदम आठौं भए । उनीहरूले क्रमश १४ हजार, १३ हजार र १२ हजार पाए ।
दीपेन्द्र राई (७४) र देउ कुमार राई (७६) ले समान १२-ओभर १ सय ५२ स्कोर गरेसँगै काउन्ट ब्याकमा नवौ र दशौं भए । उनीहरूले क्रमश: ११ हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे ।
पहिलो दिनका लिडर राहुलले फ्रन्ट नाइनमा ३-अन्डर ३३ खेले । उनले दोस्रो, तेस्रो, चौथो र छैटौँ होलमा बर्डीको सफलता प्राप्त गरे । पाँचौँ होलमा एक सट खेर फाले । ब्याक नाइनमा १-अन्डर ३३ खेल्ने क्रममा १४औं होलमा एक सट गुमाए पनि १५औं र १८औं होलमा बर्डी प्रहार गरे ।
दोस्रो भएका प्रकृतले फ्रन्ट नाइनमा प्रभावशाली ४-अन्डर ३२ को स्कोर निकाले । पहिलो होलमा बोगी खेपेपनि उत्कृष्ट कमब्याक गरे । दोस्रो, पाँचौँ, छैटौँ, आठौँ र नवौँ होलमा बर्डी प्रहार गरे । उनले १-ओभर ३५ मा ब्याक नाइन सकाए । १२औं होलमा एक सट बचाउँदा ११औं र १४औं होलमा बोगी खेले ।
सुन्दरले पॉँचौ होलमा डबल बोगी खेप्दा बाँकी होलमा पार जोगाउँदै फ्रन्ट नाइन २-ओभर ३८ खेले । ब्याक नाइन उनले २-ओभर ३६ खेले । जहाँ ११औं, १२औं, १५औं र १७औं होलमा बोगी खेपे। १०औं र १६औं होलमा बर्डी प्रहार गरे ।
बेलायतमा रहेका धरानका गल्फर देउ कुमार राई र दीपेन्द्र राईको प्रायोजनमा आयोजित ३६ होलको प्रतियोगितामा कुल ३८ खेलाडीले सहभागिता रहेको थियो ।
नेपालमै पहिलो पटक एमेच्योर गल्फमा नगद पुरस्कार प्रदान गरिएको यो प्रतियोगिताको कुल पुरस्कार राशि २ लाख रुपैयाँ रहेको थियो । जसले नेपाली गल्फ इतिहासमा ऐतिहासिक महत्व बोकेको छ ।
विजयी खेलाडीहरुलाई देउ कुमार राई र दीपेन्द्र राईले पुरस्कार वितरण गरे । सह-प्रायोजक देउ कुमार राईले कम्तीमा पाँच वर्षसम्म प्रतियोगिता निरन्तर गर्ने बताए । उनले आगामी संस्करणमा पुरस्कार राशि बढाइने र विजेताले कम्तीमा ८० हजार रुपैयाँ प्राप्त गर्ने जानकारी दिए ।
सह-प्रायोजक दीपेन्द्र राईले नेपाल गल्फ संघ र धरान गल्फ क्लबसहित सबै सरोकारवालाप्रति आभार व्यक्त गर्दै एमेच्योर गल्फरको हितका लागि प्रतियोगिता आयोजना गरिएको र यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।
प्रतिक्रिया 4