+
+
Shares

७ पूर्वसुरक्षाकर्मीको उम्मेदवारी दर्ता

आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि ७ पूर्वसुरक्षाकर्मीले उम्मेदवारी दर्ता गराएका छन् । पूर्वसईदेखि पूर्वआईजीसम्म चुनावी मैदानमा उत्रिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १९:०९

६ माघ, काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि ७ पूर्वसुरक्षाकर्मीले उम्मेदवारी दर्ता गराएका छन् ।  प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ मंगलबार उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन् ।

जसमा पूर्वसईदेखि पूर्वआईजीसम्म मैदानमा उत्रिएका छन् । अवकाश पाएको केही समयसम्म चुपचाम बसेका उनीहरु अहिले चुनाव जितेर संसद् छिर्ने उदेश्यमा छन् ।

धुवबहादुर प्रधान

पूर्वआईजी ध्रुवबहादुर प्रधानले राप्रपाको तर्फबाट नवलपरासी पश्चिम–२ बाट प्रतिनिधि सभाको उम्मेदवारी दर्ता गराएका छन् ।

अदालतको आदेशपछि आईजीपीबाट हटेपछि प्रधान प्रधानमन्त्रीको सुरक्षा सललाहकार बनेका थिए । सललाहकारबाट राजीनामा दिएर उनी २०५६ को आम निर्वाचनमै होमिए । नवलपरासी–४ बाट चुनाव लडेका उनले हार बेहोरे । २०६४ र २०७० पनि सोही ठाउँबाट चुनाव लडेका उनी विजयी हुन सकेनन् ।

२०७९ मा भने उनी निर्वाचित मात्रै भएनन् त्यसपछि मन्त्री समेत बनेका थिए । अहिले फेरि प्रधान उम्मेदवार भएका छन् ।

विश्वराज पोखरेल

पूर्वएआईजी पोखरेलले ओखलढुंगाबाट उम्मेदवारी दर्ता गराएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवारी दिएका हुन् ।

पार्टी प्रवेशलगत्तै चुनाव प्रचारप्रसारमा होमिएका पोखरेल तिनै व्यक्ति हुन् जो डेढ वर्ष सिनियर हुँदा पनि प्रहरीको सर्वोच्च कमान्डर (आईजीपी) बन्न पाएका थिएनन् । पोखरेलभन्दा १६ महिना जुनियर एआईजी धीरजप्रताप सिंह १८ वैशाख २०७९ मा आईजीपी बने ।

त्यसपछि पोखरेलले राजीनामा दिए । राजीनामापछि साढे तीन वर्ष गुमनाम बसेका पोखरेल अहिले चुनावी प्रचारप्रसारमा व्यवस्त छन्

सर्वेन्द्र खनाल

नेपाल प्रहरीका पूर्वआईजी सर्वेन्द्र खनाल पनि तेस्रो पटक उम्मेदवार बन्ने उदेश्यसहित उम्मेदवारी दर्ता गराएका छन् ।

बारा–४ बाट उम्मेदवारी दिएको खनालले अनलाइनखबरलाई जानकारी गराए । आफ्नै नेतृत्वमा समुन्नत पार्टी नेपाल खोलेका खनाल अहिले मधेश झरेका छन् ।

तराईमा आफ्नो जनमत राम्रो बताउँदै आएका खनालले उम्मेदवारी दिएका छन् । यसअघि पनि दुई पटकसम्म खनाल प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका थिए ।

२०७९ को निर्वाचनमा उनी काठमाडौं–६ बाट नेकपा एमालेबाट उम्मेदवार बनेका थिए । त्यतिबेला खनाललाई पराजित गर्दै रास्वपाका शिशिर खनाल विजयी भएका थिए । शिशिरले १४ हजार २२१ मत ल्याएर विजयी हुँदा सर्वेन्द्रले ८ हजार ९१७ मत ल्याएका थिए ।

उनै खनाल २०८० मा भएको उपनिर्वाचनमा तनहुँ–१ बाट एमालेबाटै उम्मेदवार बने । खनाललाई रास्वपाका स्वर्णिम वाग्लेले पराजित गरेका थिए । वाग्लेले ३४ हजार ९१९ मत ल्याएर विजयी हुँदा खनालले ८ हजार ४८८ मतसहित तेस्रो भएका थिए ।

शम्भु सुस्केरा

शम्भु सुस्केराको नामले परिचित शम्भुप्रसाद ढकाल नेपाल प्रहरीका अवकाशप्राप्त सई हुन् । सुस्केरा आगामी फागुनमा हुने प्रनितिधिसभा निर्वाचनमा झापा–४ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

उनी रास्वपा झापाका जिल्ला सचिवसमेत हुन् । उनी २०७९ मा सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा पनि रास्वपाबाट उम्मेदवार बनेका थिए । त्यतिबेला पनि उनले झापा–४ बाटै प्रतिस्पर्धा गरेका थिए ।

त्यतिबेला एमालेका लालप्रसाद साँवा लिम्बु (एलपी) विजयी भएका थिए । साँवाले २९ हजार ३१५ मत ल्याएर विजयी हुँदा १४ हजार ६९ मतसहित सुस्केरा तेस्रो भएका थिए ।

सईबाट अवकाश पाएका उनी साहित्यक क्षेत्रमा कलम चलाउँदै आएका छन् ।

राजु पाण्डे

राजु पाण्डे पनि रास्वपाबाटै काठमाडौं–३ बाट उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौं महानरपालिकाको नगर प्रहरी प्रमुखको रूपमा रहेका उनी निर्वाचन लड्ने उद्देश्यले राजीनामा दिएका थिए ।

मेयर बालन शाहले समेत राजीनामा दिएर रास्वपा प्रवेश गर्दै झापा–५ बाट उम्मेवार बन्ने भएपछि उनका विश्वासपात्र पाण्डे पनि राजीनामा दिएर निर्वाचनमा होमिएका हुन् ।

विक्रमसिंह थापा

थापा नेपाल प्रहरीका पूर्वएसएसपी हुन् । नेपाली कांग्रेसबाट उम्मेदवार सिफारिस भएका थापा अहिले भने रास्वपामा प्रवेश गरेर प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् ।

उनी कपिलवस्तु–२ बाट उम्मेदवारी दर्ता गराएका छन् । २०७९ को निर्वाचनमा उनी नेपाली कांग्रेसबाट लुम्बिनी प्रदेशसभामा उम्मेदवार बनेका थिए । त्यतिबेला थापा पराजित भएका थिए ।

गोविन्द पन्थी

रास्वपाबाट गुल्मी–२ को उम्मेदवार बनेका पन्थी नेपाल प्रहरीका पूर्वडीएसपी हुन् । ३० वर्ष लामो समय नेपाल प्रहरीमा सेवा गरेर उनी २०८१ सालमा अवकाश पाएका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा रहँदा वैदेशिक ठगीको पिलर प्रमुख हुँदा उनले राम्रो काम गरेको बताइन्छ ।

उनै पन्थी अहिले रास्वपाबाट उम्मेदवार बनेका छन् । उनी अधिवक्ता समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?