+
+
Shares
स्थलगत :

उल्लासमय मनोनयन

अघिल्ला चुनावमा भिड र उम्मेदवारको व्यवस्थापन गर्न हम्मेहम्मे हुन्थ्यो । यसपटक कर्मचारीहरूले सहज महसुस गरेको पाइयो ।

दिनेश गौतम कौशल काफ्ले दिनेश गौतम, कौशल काफ्ले
२०८२ माघ ६ गते २२:५७

६ माघ, काठमाडौं । ‘यसपटक भिड भएन नि,’ काठमाडौं क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालयमा एक कर्मचारी भनिरहेका थिए । उनले यसो भन्नुको कारण हो, ठूला भनिएका नेता आएनन् ।

अघिल्ला चुनावहरूमा तामझामका साथ उम्मेदवारहरू मनोनयनका लागि आउने गरेका थिए । ‘यसपटक भिड पनि बसाइँ सर्‍यो,’ हाँस्दै ती कर्मचारीले भने, ‘हेर्नु भयो नि काठमाडौं बाहिर उम्मेदवारी दिन गएका उम्मेदवारहरूको दृश्य ।’

शीर्ष र चर्चामा रहिरहने नेताहरू यसपटक काठमाडौं बाहिर गएपछि भिड पनि उतै सरेको निष्कर्ष उनको थियो । अघिल्ला चुनावमा भिड र उम्मेदवारको व्यवस्थापन गर्न हम्मेहम्मे हुन्थ्यो । यसपटक कर्मचारीहरूले सहज महसुस गरेको पाइयो ।

यो दृश्य काठमाडौं क्षेत्र नम्बर १ मात्र होइन, क्षेत्र नम्बर ४ र ५ मा पुग्दा पनि त्यस्तै देखियो । तर क्षेत्र नम्बर ५ को दृश्य भने अलि फरक थियो । यो क्षेत्रमा एमालेका पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र कांग्रेस महामन्त्री प्रदीप पौडेल लगायतको नेताहरूले उम्मेदवारी दिएका छन् ।

रास्वपाबाट सस्मित पोखरेलले दर्ता गराए । कांग्रेस महामन्त्री पौडेल उम्मेदवारी दिन आउँदा नाराजुलुस सहित आएका थिए ।

कतिपय उम्मेदवारी दिन आएका उम्मेदवार यस्ता पनि भेटिए, फारम भर्न नजान्ने । उम्मेदवारको फारम कर्मचारीले भरिरहेका थिए । ‘नयाँमा यस्तै हो । पुरानो भएपछि थाहा हुन्छ,’ कर्मचारीले व्यंग्य गरिरहेका थिए ।

निर्वाचन आचार संहिता अनुसार २५ जनाभन्दा बढी लैजान पाइने थिएन । तर कार्यालयभन्दा बाहिर जुलुस भएपनि भित्र ५ जना भन्दा बढीलाई प्रवेश दिइएको थिएन । भीड नभएपछि कर्मचारीलाई मनोनयनको काम गर्न सहज र छिटो भएको देखियो ।

२ बजेसम्म निर्वाचन अधिकृतको कार्यलहरूमा कमैले उम्मेदवारी दर्ता गराएका थिए । कर्मचारीहरू उम्मेदवारलाई पर्खिरहेका थिए । कांग्रेस लगायतका पार्टीले उम्मेदवारी टुंगो लगाउन ढिलाइ गरेपछि अन्तिम सयमा दर्ता गराउनेको संख्या धेरै भयो ।

यद्यपि, निर्वाचन अधिकृतको कार्यालयका अनुसार काठमाडौंको १० वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्णरुपमा मनोनयन भएको छ ।

‘उत्साहजनकरुपमा मनोनयन भयो । काठमाडौंको १० वटै क्षेत्रमा राम्रोसँग मनोनयनको काम सकियो,’ जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले भने ।

जेष्ठदेखि युवासम्म

काठमाडौं क्षेत्र नम्बर ४ मा ८७ वर्षीय मानवदेव आचार्यले स्वतन्त्र उम्मेदवारी गराए । युवादेखि ज्येष्ठ नागरिकसम्मले उम्मेदवारी दर्ता गराएपछि निर्वाचनको माहोल उत्साहित बनेको देखियो । जुनसकै पार्टीको उम्मेदवार भए पनि तिक्तता देखिएन । कांग्रेस एमालेका उम्मेदवारले नयाँ दलका उम्मेदवारलाई स्वागत नै गरे ।

‘लोकतन्त्रमा परिणामालाई स्वीकार गर्नुपर्छ । प्रतिस्पर्धामा विश्वास गर्छौं,’ क्षेत्र नम्बर ५ मा उम्मेदवार दिएपछि एमाले उम्मेदार ईश्वर पोखरेलले भने, ‘नयाँ नयाँ दल आउनु स्वागत योग्य कुरा हो । जनुसकै पुस्ता साथी प्रतिस्पर्धामा आउनुलाई स्वागत गर्नुपर्छ ।’

काठमाडौं–५ ले पहिलोपटक सांसदको रुपमा चिनाएकोले यो क्षेत्रसँग अत्यन्त प्रेम रहेको बताउँदै थिए, प्रदीप पौडेल ।

उम्मेदवारी दर्ता गरेपछि उम्मेदवारहरूले आ–आफ्नो चुनावी एजेन्डा पनि सुनाइ रहेका थिए । अधिकांश उम्मेदारको एकै मत थियो, ‘सुशासन कायम र भ्रष्टाचार अन्त्य गर्ने ।’

तर राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्रले क्षेत्र नम्बर १ मा उम्मेदवारी दर्ता गरेपछि देश बनाउन सुशासन र भ्रष्ट्राचारमूक्त बनाउने नाराले मात्र नपुग्ने बताए ।

‘युक्रेनमा अहिले गएर सुशासन र भ्रष्टाचारविरुद्धको मुद्धा लिएर देश बन्छ ? सिरिया, लिबिया लगायतका देश बन्छ ? बन्दैन,’ मिश्रले भने, ‘अहिले हाम्रो देश त्यसैगरी अस्तित्वमै प्रश्न उठिरहेको बेला त्यो मुद्दाले मात्र देश बन्दैन ।’

क्षेत्र नम्बर १ कै एमालेका उम्मेदवार महोनराज रेग्मीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण जलेको सिंहदरबार सम्झिए । जलेको सिंहदरबार बनाउनको लागि नै आफ्नो उम्मेदवारी रहेको दाबी गरे ।

यही क्षेत्रमा रास्वपाकी रञ्जु दर्शना उम्मेदवार बनेकी छन् । यसअघि समानुपातिक सूचिमै परेपनि उनले सल्लाहमै आफ्नो नाम झिकाएकी थिइन् । त्यस्तै नेपाली कांग्रेसबाट प्रबल थापा यो क्षेत्रमा उम्मेदवार छन् ।

धरानका पूर्वमेयर हर्क सम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले पनि काठमाडौंमा उम्मेदवारी दियो । श्रम संस्कृति पार्टीबाट समीर तामाङले उम्मेदवारी दर्ता गराए । ‘हामी पाँच जना मात्र भित्र छिर्छौँ,’ केही कार्यकर्तालाई गेटबाहिरै छाडेका तामाङले प्रहरीसँग भन्दै भित्र छिरे ।

काठमाडौं क्षेत्र नम्बर ४ मा भने दिउँसो अबेरसम्म पनि काग्रेसको उम्मेदवारी दिन को आउने होला भन्ने चासो देखिन्थो । यसअघि उक्त क्षेत्रमा कांग्रेस सभापति गगन थापा निर्वाचित भएका थिए । उनी नआउने चर्चाले निर्वाचन क्षेत्र तातेको थियो ।

एमालेको पनि उम्मेदवार यो क्षेत्रमा टुंगो लागेको थिएन । एमाले नेता राजन भट्टाईले होल्ड गरेर राखेका थिए । अन्तिममा गगन थापा नआउने भएपछि मात्र उनले उम्मेदवारी दर्ता गराए । कांग्रेसले युवा नेता सचिन तिमिल्सिनालाई टिकट दियो । ढिलोगरी निर्वाचन अधिकृतको कार्यालयमा उनी पुगे ।

‘हामी समयसुहाउँदो नेपाली कांग्रेस बनाउने अभियानमा छौँ । अब नेपाली कांग्रेसका सभापति गगन थापालाई देशको प्रधानमन्त्री बनाउने नै हो,’ उम्मेदवारी दर्तापछि सचिनले भने, ‘अब गगन थापा देशको प्रधानमन्त्री निश्चित रुपमा हो ।’

क्षेत्र नम्बर १ मा टिकट नपाएपछि रास्वपाका नेता पुकार बमले पनि क्षेत्र नम्बर ४ मा उम्मेदवारी दिए । अघिल्लो चुनावमा काठमाडौं–१ बाट उम्मेदवार बनेका थिए । उनले निर्वाचन क्षेत्र परिवर्तन गर्नुपर्‍यो ।

‘अहिले पार्टीले एकल बहुमतको सरकार बनाउने योजना बनाएको छ, त्यो समना पूरा गर्न मैले उम्मेदवारी दर्ता गरेको हुँ । अनि क्षेत्र फेरेको विषयमा भन्नुपर्दा, यस्तो क्षेत्रमा नयाँ उम्मेदवारलाई भन्दा अलि अनुभवी र संगठन बुझेका उम्मेदवारलाई पठाउने पार्टीकै योजनाअनुसार म यहाँ आएको हुँ,’ उनले भने । यसरी काठमडौंको १० वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्णरुपमा मनोनयन भयो ।

काठमाडौंमा २५४ जनाको उम्मेदवारी

काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमा २५४ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार सबैभन्दा धेरै क्षेत्र नम्बर १ मा उम्मेदवारी दर्ता भएको छ । क्षेत्र १ मा मात्रै ३० जनाको उम्मेदवारी गरेका हुन् ।

काठमाडौंको कुन निर्वाचन क्षेत्रमा कति उम्मेदवार ?

काठमाडौं १ –३०
काठमाडौं २– २२
काठमाडौं ३–२४
काठमाडौं ४–२८
काठमाडौं ५–२६
काठमाडौं ६–२२
काठमाडौं ७–२८
काठमाडौं ८–२२
काठमाडौं ९–२६
काठमाडौं १०–२६

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?