+
+
Shares

सल्यानमा पुराना र नयाँबीच रोचक प्रतिस्पर्धा

सल्यानमा पुराना अनुहार संगठनात्मक बलसहित मैदानमा छन् भने नयाँ उम्मेदवार परिवर्तन र नयाँ अभ्यासको एजेन्डा लिएर मतदातामाझ पुगेका छन् ।

अमृतबाबु बुढाथोकी अमृतबाबु बुढाथोकी
२०८२ माघ ९ गते १३:०७

९ माघ, सल्यान । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सल्यानमा पुराना दलका अनुभवी र नयाँ पुस्ताका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । लामो राजनीतिक अनुभव बोकेका पुराना नेता र पहिलो पटक टिकट पाएका उम्मेदवारबीचको भिडन्त रोचक हुने देखिएको छ ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा साविक नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसँगको गठबन्धनका कारण नेपाली कांग्रेसले सल्यानमा आफ्नो उम्मेदवार उठाउन पाएको थिएन । केन्द्रीय गठबन्धनको निर्णयविपरीत कांग्रेस सल्यानका प्रभावशाली नेता राजेन्द्रबहादुर शाहले स्वतन्त्र (बागी) उम्मेदवारी दर्ता गराएका थिए ।

गठबन्धनका आधिकारिक उम्मेदवारको सामना गर्दै चुनावी प्रतिस्पर्धामा उत्रिएका शाहले १९ हजार ७९२ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेका थिए ।

केशबहादुर विष्ट

यसपटक भने कांग्रेसले केशबहादुर विष्टलाई उम्मेदवार बनाएको छ । कांग्रेस सल्यानका जिल्ला सभापति विष्टले यसअघि जिल्ला समन्वय समिति सल्यानको प्रमुखको जिम्मेवारी सम्हालेका थिए ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा छत्रेश्वरी गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवार बनेका विष्ट पराजित भए पनि यसपटक प्रतिनिधिसभामा पुग्ने लक्ष्यसहित प्रतिस्पर्धामा छन् ।

अघिल्लो निर्वाचनमा समानुपातिक मतको आधारमा जिल्लामा पहिलो दल बनेको (नेकपा एमाले)ले भने प्रत्यक्षतर्फ कमजोर परिणाम ल्याएको थियो । एमालेले राजेन्द्रवीर रायलाई उम्मेदवार बनाएको थियो । राय १३ हजार ३९ मत प्राप्त गर्दै तेस्रो स्थानमा सीमित भएका थिए ।

गुलाबजंग शाह

यसपटक एमालेले कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाहलाई प्रतिनिधिसभा उम्मेदवार बनाएको छ । विद्यार्थी आन्दोलनबाट राजनीति सुरु गरेका शाह कर्णाली प्रदेशसभा सदस्य हुँदै हाल पार्टीको प्रदेश अध्यक्षको जिम्मेवारीमा छन् ।

अघिल्लो प्रदेशसभा निर्वाचनमा प्रदेशसभा (ख)बाट उम्मेदवार बनेका उनी पराजित भएका थिए । यसअघि प्रतिनिधिसभामा नपुगेका शाह यसपटक संघीय संसद् प्रवेशको प्रयासमा छन् ।

२०७९ को निर्वाचनमा कांग्रेस, साविक माओवादी केन्द्र र एकीकृत समाजवादीबीचको गठबन्धनबाट साविक एकीकृत समाजवादी (हाल नेपाली कम्युनिस्ट पार्टी)का नेता प्रकाश ज्वाला उम्मेदवार बनेका थिए । ३५ हजार ७०७ मत प्राप्त गर्दै उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

त्यसबेला ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत बनेका थिए । जिल्लाका नागरिकले उनीबाट धेरै अपेक्षा गरेका थिए । तर अस्थिर सरकारका कारण अपेक्षाकृत काम गर्न नसकेको ज्वाला स्वीकार्छन् ।

रमेशकुमार मल्ल

ज्वाला यसपटक पुन: उम्मेदवार बन्ने तयारीमा थिए । माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता भई नेपाली कम्युनिस्ट पार्टी बनेपछि तल्लो तहका कार्यकर्ताले जिल्लामा नयाँलाई अवसर दिनुपर्ने नारा अघि सारेपछि पुस्तान्तरण र युवा मागलाई प्राथमिकता दिँद रमेशकुमार मल्ललाई उम्मेदवार बनाएको छ ।   नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रमेशकुमार मल्ल तीन दशकभन्दा लामो राजनीतिक यात्राका अनुभवी नेता हुन् । विद्यार्थी आन्दोलन, माओवादी जनयुद्धदेखि शान्ति प्रक्रियापछिको पुनर्संरचनासम्म सक्रिय भूमिका निर्वाह गरेका मल्ल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिवसमेत रहिसकेका छन् । संगठन र नीति निर्माणमा अनुभव भए पनि प्रतिनिधिसभा निर्वाचनमा उनी पहिलो पटक प्रतिस्पर्धामा छन्।

चन्द्रबहादुर खड्का

२०७९ को स्थानीय तह निर्वाचन बाहेक अन्य चुनावमा सहभागी नभएको साविक नेपाल कम्युनिस्ट पार्टी (हाल नेकपा माओवादी) यसपटकको संघीय निर्वाचनमा पहिलोपटक सहभागी हुँदैछ । पार्टीले सल्यानबाट चन्द्रबहादुर खड्का (असल क्षेत्री)लाई उम्मेदवार बनाएको छ । भूमिगत संघर्ष र जनयुद्धका अनुभवी खड्का संसदीय राजनीतिमा भने नयाँ अनुहारका रूपमा देखिन्छन् ।

छोटो समयमै चौथो दलका रूपमा स्थापित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोस्रो पटक संघीय निर्वाचनमा सहभागी हुँदैछ । अघिल्लो निर्वाचनमा सल्यानबाट पार्टीका उम्मेदवार पवनराज देवकोटाले ३ हजार ६९५ मत प्राप्त गरेका थिए । यसपटक रास्वपाले नयाँ अनुहारका रूपमा ललितकुमार चन्दलाई उम्मेदवार बनाएको छ ।

चन्दले सिभिल इन्जिनियरिङमा डिप्लोमा, ग्रामीण विकास र समाजशास्त्रमा स्नातक तथा समाजशास्त्रमा स्नातकोत्तर अध्ययन पूरा गरेका छन् । करिब १८ वर्षदेखि विकास क्षेत्रमा सक्रिय रहेका उनले विभिन्न गैरसरकारी संस्थामार्फत विकास योजना, समुदाय सशक्तीकरण र सुशासनका क्षेत्रमा अनुभव हासिल गरेका छन् । हाल उनी रास्वपा कर्णाली प्रदेशका महामन्त्री हुन् ।

२०७९ सालको निर्वाचनताका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आन्तरिक विभाजनको अवस्थामा थियो । विभाजनकै बीच सल्यानमा नेत्रलाल श्रेष्ठ उम्मेदवार बनेका थिए र उनले २ हजार २९३ मत प्राप्त गरेका थिए । राप्रपा अहिले एकीकृत अवस्थामा फर्किएको छ ।

अनिषा नेपाली

यसपटक राप्रपाले दलित समुदायबाट महिला नेतृ अनिषा नेपालीलाई उम्मेदवार बनाएको छ । यसअघि संसद्मा समानुपातिक प्रतिनिधित्व गरिसकेकी अनुभवी सांसद नेपाली यसपटक प्रत्यक्ष निर्वाचनमार्फत प्रतिनिधिसभा पुग्ने प्रयासमा छिन् ।

सल्यानमा दलीय उम्मेदवारसँगै स्वतन्त्र उम्मेदवारप्रतिको आकर्षण पनि बढ्दो देखिन्छ । स्वतन्त्र उम्मेदवारमध्ये ध्रुवराज वली बलिया दाबेदारका रूपमा देखिएका छन् ।

ध्रुवराज वली

स्थानीय विकास, शिक्षा र युवा केन्द्रित अभियानमार्फत परिचित वलीले वाणिज्यशास्त्रमा स्नातकोत्तर तथा कानुनमा स्नातक अध्ययन पूरा गरेका छन् । ‘समृद्ध सल्यान निर्माण अभियान’मार्फत युवालाई एकजुट गर्दै आएका उनी शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र समग्र विकासलाई एजेन्डा बनाउँदै चुनावी मैदानमा छन् ।

सल्यानको चुनावी प्रतिस्पर्धा यसपटक अनुभव र नयाँ अपेक्षाबीचको द्वन्द्व जस्तै देखिएको छ । पुराना राजनीतिक अनुहार संगठनात्मक बलसहित मैदानमा छन् भने नयाँ उम्मेदवार परिवर्तन र नयाँ अभ्यासको एजेन्डा लिएर मतदातामाझ पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?