९ माघ, काठमाडौं । २१ फागुनका लागि समानुपातिकतर्फ दुई करोड बढी मतपत्र छापिँदैछ । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, देशभरको मतदाताको संख्या एक करोड ८९ लाख रहेको छ ।
जम्मा मतदाताको संख्या भन्दा सात प्रतिशत बढी मतपत्र छाप्न लागिएको उनले जानकारी दिए ।
‘हामीले दुई करोड केही बढी मतपत्र छाप्नुपर्ने छ । त्यसमध्ये समानुपातिक तर्फको एक करोड ५० लाख मतपत्र छपाइ भइसकेको छ । बाँकी ५० लाख मतपत्र केही दिनमा छपाइ सम्पन्न हुनेछ,’ शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता भट्टराईले भने ।
अब प्रत्यक्षतर्फको मतपत्र छपाइको काम अगाडि बढाइनेछ । शुक्रबार नै उम्मेदवारलाई निर्वाच्न चिह्न प्रदान गर्ने कार्यक्रम छ । निर्वाचन चिन्ह प्रदान गरेसँगै आयोगले प्रत्यक्ष तर्फको मतपत्र छपाइको काम सुरु गर्ने प्रवक्ता भट्टराईले जानकारी दिए ।
उनका अनुसार मतदाता परिचयपत्र छपाइको काम समेत भइराखेको छ । आयोगको परिसरभित्रै मतदाता परिचयपत्र छपाइ जारी छ ।
प्रतिक्रिया 4