११ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अगाडि बढाएको भावी प्रधानमन्त्रीका उम्मेदवारहरूबीचको बहस प्रस्तावलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले अस्वीकार गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै ओलीले बहसका निम्ति आफू तयार रहेको सन्देश दिएका थिए । तर ओलीसँग मञ्च शेयर गर्न आफू तयार नरहेको बालेनले प्रतिक्रिया दिए । ओलीकै स्टाटसमा प्रतिक्रिया लेखेर प्रस्ताव अस्वीकार गर्ने क्रममा बालेनले गम्भीर आरोप नै दोहोर्याए, ‘आफूलाई आतंकवादी चाहिँ कहिले स्वीकार्ने हो ? त्यसपछि अरू कुरा गरौला !’
जेनजी विद्रोहका क्रममा ७६ बालबालिका हत्याको आरोप लगाउँदै बालेनले ओलीलाई ‘हत्यारा’ भनेका छन् । ‘७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ,’ बालेनले लेखेका छन् ।
जवाफमा बालेनले प्रयोग गरेको भाषाले चुनावी बातावरण तिक्ततातिर धकेलिन सक्ने जोखिम बढाएको मात्र छैन, राजनीतिमा घृणाको अभिव्यक्तिले प्रश्रय पाउने उत्तिकै सम्भावना छ ।
तर जेनजी विद्रोहका घटनाबारे निष्कर्ष निकाल्न जाँचबुझ आयोगले काम गरिरहँदा परिस्थितिलाई उत्तेजनातिर धकेल्नेगरी बालेनलाई बोल्न बाध्य पार्न भने ओलीकै अभिव्यक्तिहरूले बल पुगेको देखिन्छ ।
प्रधानमन्त्रीका उम्मेदवारहरूबीच बहस प्रस्ताव राख्दा नै ओलीले ‘देश जलाउने र देश बनाउने’ भनेर कित्ताकाँट मात्र गरेका छैनन्, २४ भदौको विध्वंशको कित्तामा बालेनलाई उभ्याउने प्रयत्न गरेका छन् । ‘नयाँ-पुराना सबै दलहरू अहिले चुनावमा होमिएका छन् । देश जलाउने र देश बनाउने पक्षबीच हुने यो प्रतिस्पर्धामा हाम्रो पार्टी नेकपा एमाले देश बनाउने तर्फबाट मैदानमा छ,’ ओलीले लेखेका छन् ।
बालेनको नाम नलेखे पनि ओलीको आशय बुझ्न गाह्रो पर्दैन । झापा–५ मा आफूसँग चुनावी प्रतिस्पर्धा गर्न आएका बालेनविरूद्ध ओलीले चर्को आक्रोश पोखिरहेका छन् ।
गत ६ माघमा उम्मेदवारी दर्ता गराउन झापा पुगेका ओलीले कान्तिपुरसँगको अन्तार्वार्तामा त केही आपत्तिजनक शब्द नै प्रयोग गरेका थिए । काठमाडौंका पूर्वमेयर बालेनको व्यक्तिगत सामथ्र्य र निष्ठामाथि प्रश्न उठाउँदा ओलीले क्षेत्र विशेष र समुदायको भावनामा चोट पुग्नेगरी टिप्पणी गरे ।
‘दमक सफा नगरहरू मध्ये पर्छ । व्यवस्थित नगरहरू मध्ये पर्छ । यो महोत्तरी धनुषा जस्तो अवस्थामा होइन, त्यो भन्दा धेरै एड्भान्स छ,’ ओलीले भनेका छन्, ‘अब उहाँ (बालेन) त्यो कल्चरबाट आएको मान्छे, यस कल्चरमा अब उहाँले यहाँ गुइँठा बाल्न सिकाउनु हुन्छ कि के गर्नु हुन्छ मलाई थाहा छैन ।’

ओलीको यस्तो अभिव्यक्तिप्रति चर्को आलोचना भइरहेको छ । विशेषगरी मधेश प्रदेशका एमाले नेताहरूलाई ओली अभिव्यक्तिको प्रतिरक्षा गर्न गाह्रो परिरहेको देखिन्छ । ‘चारपटक प्रधानमन्त्री भइसकेका व्यक्तिले कुनै जिल्ला र समुदायलाई अपमानित गर्नेगरी बोल्नु हुन्थेन,’ मधेश एमालेका एक नेता भन्छन्, ‘चुनावकै बेला यस्तो बोलिदिनु भयो, अप्ठ्यारो परिरहेको छ ।’
मधेशी समुदायलाई आक्रोशित पार्नेगरी ओलीले टिप्पणी गर्नुको पृष्ठभूमिमा भने बालेन नै छन् । जेनजी आन्दोलन अघिबाटै बालेनसँग ओलीको सम्बन्ध राम्रो छैन ।
जेनजी आन्दोलनका क्रममा नृशंस राज्य दमन भएपछि त तत्कालीन प्रधानमन्त्री ओलीलाई बालेनले ‘आतंकवादी’कै संज्ञा दिएर स्टाटस लेखे । २४ भदौको विध्वंश हुनुमा बालेनको स्टाटसले उक्साउने भूमिका खेलेको नेताहरूले तर्क गर्दै आएका छन् । एमाले आरोपहरूमा बालेनले चाहिँ कुनै सार्वजनिक जवाफ दिएका थिएनन् ।
बरू मेयरबाट राजीनामा दिएर रास्वपा प्रवेश गर्ने, झापा–५ मै गएर ओलीलाई हराएर प्रधानमन्त्री बन्ने जस्ता तयारी गरिरहेका थिए । ५ माघमा जनकपुरमा आयोजित सभाबाट उनले देशको प्रधानमन्त्री बन्ने घोषणा गरेका छन् ।
जनकपुर सभाबाट बालेनले ‘मधेशको छौंरा’ (मधेशको छोरा) देशको प्रधानमन्त्री बन्न लागेको भनेर मत मागेका छन् । बालेनलाई ‘लुसिफर’ को संज्ञा दिदै आएका एमाले नेता महेश बस्नेतले त्यसदिनको अभिव्यक्तिलाई गलत अर्थमै प्रयोग गरे ।
‘हम् मधेशका बेटा हे भनेको भए अर्कै कुरा हुन्थ्यो, छाउरा भनेपछि तपाइँहरू आफै बुझ्नुस् । छाउराको अर्थ के हुन्छ ? मेरै मुखबाट के भनौ,’ एमाले सचिव बस्नेतले सार्वजनिक कार्यक्रममै भनेका छन् ।
बस्नेतले यस्तो बोलेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । भाइरल भिडियोमा दर्शकदीर्घाबाट एक महिलाले बस्नेतलार्ई रोक्न खोजेको सुनिन्छ ।
तर महेश रोकिंदैनन् । ‘के को बच्चालाई छाउरा भनिन्छ ?,’ भीडलाई महेश उक्साउँछन्, ‘के को बच्चा भन्नु न ।’
अनि भीडबाट एकसाथ आवाज आउँछ– कुकूरको ।
लगत्तै नारा लाग्छः नेकपा एमाले– जिन्दावाद !
ओली निकट नेता बस्नेतको अभिव्यक्तिप्रति मधेशका एमाले नेताहरूले नै चर्को आपत्ति जनाए । धनुषा–३ बाट उम्मेदवार रहेकी जुलीकुमारी महतोले सार्वजनिक आपत्ति नजाउँदै बस्नेतलई मधेशी जनतासँग माफी माग्न आग्रह गरिन् । ‘मधेशी जनता र हाम्रो मन दुखाएकोमा माफी माग्नुस्,’ महतोले भनिन् ।
पार्टीभित्रै चर्को विरोध भएपछि बस्नेतले माफी मागेर स्टाटस लेखे । ‘.. मैले नबोलेको विषयलाई गलत व्याख्या नगरिदिन अनुरोध गर्दछु । कसैले गलत अर्थ लगाएर फैलाएको प्रचारप्रति भ्रममा नपर्न सबैमा आग्रह गर्दछु,’ बस्नेतले लेखेका छन्, ‘यस क्रममा कसैलाई अनजानमा चोट पुगेको भए क्षमायाचना गर्दछु ।’ बस्नेतले स्टाटस लेखेपछि मधेश इन्चार्ज रहेका एमाले सचिव रघुबीर महासेठले आफूले माफी माग्न लगाएको सार्वजनिक भाषण गरे ।
‘छौंरा’ शब्दलाई ‘छाउरा’को रूपमा अथ्र्याएर व्यंग्य गर्न खोज्दा बस्नेतविरुद्ध मधेशमा प्रदर्शन नै भएको थियो भने उनको पुत्ला जलाइयो । ‘तस्वीर जलाउने, प्रदर्शन गर्ने मात्र नभएर अहिले भाषणको मुख्य एजेण्डा नै यही बनेको छ,’ मधेश एमालेका एक नेता भन्छन्, ‘एमालेका उम्मेदवारहरुले चाहिँ हामी मधेशी जनताको मन दुखाउने पक्षमा छैनौं भनिरहनु परेको छ ।’
भोजपुरी र मैथैली भाषीहरुले प्रेमपूर्वक आफ्ना छोराछोरीलाई बोलाउने शब्द ‘छौंरा–छौरी (छौंडा–छौंडी पनि भनिन्छ)’ लाई कुकूरको बच्चासँग तुलना गरिएपछि विरोध देखिनुलाई स्वभाविक रुपमा लिनुपर्ने एमाले नेता पुरुषोत्तम पौडेल बताउँछन् ।
‘मैथैली र भोजपुरी दुवै समुदायमा खुब प्रचलनमा रहेको झर्रो शब्द हो– छौंरौछौंरी,’ उनी भन्छन्, ‘एमाले जस्तो जिम्मेवार पार्टीका नेताहरुले भाषाको ज्ञान नराखी बोल्न हुन्न । शब्द प्रयोग गर्दा आदरार्थी र विनम्र हुनुपर्छ ।’
बस्नेतले गरेको गल्ती सच्याउनुको साटो ‘गुइँठा संस्कृतिका मानिस’ भनेर बालेनप्रति टिप्पणी गरिनुले राजनीतिक परिस्थिति ओली आफै उत्तेजित बनाउन चाहन्छन् भन्ने अनुमान लगाउन सकिन्छ ।
२१ फागुनमा हुन लागेको चुनावी कोर्शमा ओलीले भिन्न मत राख्दै आएकाले पनि यस्तो शंका गर्न सकिने सुविधा छ । जेनजी विद्रोहबाट आफ्नो सत्ता पलट भएर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम चुनावी सरकारलाई गैरसंवैधानिक भन्दै आएका ओली प्रतिनिधि सभा पुनस्र्थापनाको पक्षमा छन् ।
प्रतिनिधि सभा पुनस्र्थापनाको अडानमा नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवालाई समेत ओलीले सहमत गराइसकेका थिए । तर विशेष महाधिवेशन मार्फत् कांग्रेसले आफ्नो नयाँ सभापतिमा गगन थापालाई चयन गरेपछि मुलुक सम्पूर्ण रूपले चुनावमा होमिएको छ । (ओली भने अझैपनि सर्वोच्च अदालतले देउवालाई कांग्रेस सभापतिको मान्यता दिन्छन् कि भन्ने आशमा छन् ।)
अर्थात् साथ दिने शक्ति नभएपछि चुनावमा होमिन बाध्य ओलीले मनमौजी ‘गैरजिम्मेवार’ टिप्पणी गर्न नछोड्नुलाई उनको पुरानै स्वभाव मात्र भन्न सकिने स्थिति छैन । सुरक्षा व्यवस्थाप्रति निरन्तर अविश्वास गर्नेे, प्रतिस्पर्धीबीच घृणाको भाव सिर्जना गर्ने, चुनाव हुनेमा शंकाको बातावरण बढाउने जस्ता कार्यले पनि ओलीमाथि प्रश्न उठ्छ ।
राजनीतिक विश्लेषक झलक सुवेदी भने ओलीले आफ्नो सान्दर्भिकता कायम राख्न चर्को अभिव्यक्ति मार्फत राजनीतिलाई धुब्रिकरणको प्रयास गरेको हुन सक्ने बताउँछन् । ‘चर्को बोलेर जनतामा भय सिर्जना गर्दै धुबीकरण बढाउनु दक्षिणपन्थी राजनीतिको सिद्धान्त हो,’ सुवेदी भन्छन्, ‘परिस्थितिलाई उत्तेजित बनाउँदा कार्यकर्ता परिचालन हुन्छ भन्ने पनि होला ।’
तर मुलुकलाई सम्हाल्नेगरी हुन लागेको चुनावी कोर्सलाई बिथोलिन नदिने बातावरण बनाउनु जिम्मेवार नेताहरुको दायित्व भएको उनी बताउँछन् । ‘जिम्मेवार नेताहरुले भूमिका खेल्नु पर्यो, नागरिक समाज र मिडिया पनि बातावरण सम्हाल्न लाग्नुपर्यो,’ विश्लेषक सुवेदी भन्छन्, ‘निर्वाचन आयोगले नेताहरुको भाषाप्रति खबरदारी गर्नुपर्छ ।’
प्रतिक्रिया 4