१३ माघ, महोत्तरी । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै महोत्तरी–२ को राजनीतिक सरगर्मी बढ्दै गएको छ । यो क्षेत्रमा पटकपटक सत्ता र संसद्को यात्रा गरिसकेका शरतसिंह भण्डारी पुन: चुनावी मैदानमा छन् । यसपटक उनको प्रतिस्पर्धा केही पुरानै अनुहार र नयाँ उम्मेदवारहरूबीच हुँदैछ ।
जनता समाजवादी पार्टी नेपालका तर्फबाट उम्मेदवार बनेका भण्डारीका लागि यो निर्वाचन जित–हारको प्रश्न मात्र नभई लामो समयदेखि कायम रहेको राजनीतिक वर्चस्व जोगाउने चुनौती पनि हो ।
१९ पटक मन्त्री भइसकेका भण्डारी मधेश केन्द्रित राजनीतिमा अनुभवी र प्रभावशाली नेताका रूपमा चिनिन्छन् । तर पटकपटक एउटै अनुहार चुनावी मैदानमा दोहोरिनु आफैंमा मतदातामाझ प्रश्न र अपेक्षा दुवै बढाउने कारण बनेको छ ।
यस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले किरण यादव र नेकपा एमालेले कासिम नदाफलाई अघि सारेका छन् । यादव र नदाफ दुवै भण्डारीका पुराना प्रतिस्पर्धी हुन् । यसले महोत्तरी–२ को निर्वाचनलाई ‘पुरानै त्रिकोणात्मक प्रतिस्पर्धा’ तर्फ धकेलेको देखिन्छ ।
२०७४ सालको निर्वाचन परिणाम हेर्दा भण्डारीको पकड बलियो देखिएको थियो । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) का तर्फबाट उम्मेदवार बनेका उनले कांग्रेसकी किरण यादवलाई १६ हजार ७४८ मतको फराकिलो अन्तरले पराजित गरेका थिए ।
त्यस निर्वाचनमा भण्डारीले ३० हजार ७२२ मत ल्याउँदा यादव १३ हजार ९७४ मतमा सीमित भएकी थिइन् । यो परिणामले भण्डारीको व्यक्तिगत प्रभाव र पार्टी संगठन दुवै सबल रहेको संकेत दिएको थियो ।
त्यही निर्वाचनमा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनेका कासिम नदाफले ३ हजार मत प्राप्त गरेका थिए । यद्यपि, त्यतिबेला कमजोर देखिएको नदाफको मत आधारलाई यसपटक नेकपा एमालेको बलियो संगठन र राष्ट्रिय राजनीतिमा देखिएको ध्रुवीकरणले कति प्रभाव पार्छ भन्ने चासोको विषय बनेको छ ।
एमालेले नदाफलाई उम्मेदवार बनाएर मैदानमा उतार्नु भनेको मधेशमा आफ्नो आधार विस्तार गर्ने रणनीतिक प्रयासका रूपमा पनि हेरिएको छ ।
२०७९ सालको निर्वाचनमा भने परिस्थिति केही फरक थियो । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट उम्मेदवार बनेका भण्डारीले कांग्रेस, माओवादी केन्द्रसहितको तत्कालीन पाँचदलीय गठबन्धनको समर्थन पाएर पुन: जित निकाले ।
उनले २५ हजार १९० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी तराई मधेश लोकतान्त्रिक पार्टीका विजयकुमार सिंह ११ हजार १२० मतमा सीमित भएका थिए ।
एमालेका उम्मेदवार रामपरीक्षण यादवले १० हजार २५८ मत ल्याएका थिए । यसले गठबन्धनको समर्थन भण्डारीको जितमा निर्णायक रहेको स्पष्ट संकेत गरेको थियो ।
यसपटकको निर्वाचनमा भने गठबन्धनको समीकरण फेरिएको छ । २०७९ मा भण्डारीको मुख्य प्रतिस्पर्धी रहेको तराई मधेश लोकतान्त्रिक पार्टी अहिले भण्डारी आबद्ध जनता समाजवादी पार्टी नेपालमै समाहित भइसकेको छ । यसले भण्डारीको मत आधार थप सुदृढ हुनसक्ने अनुमान गरिए पनि गठबन्धन नहुँदा स्वतन्त्र मतदाताको झुकाव कतातिर जान्छ भन्ने प्रश्न अझै छ ।
यसैबीच, मुख्य दलका उम्मेदवारसँगै नयाँ दल तथा स्वतन्त्र प्रवृत्तिका उम्मेदवारहरूको उपस्थितिले प्रतिस्पर्धालाई थप जटिल बनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपककुमार साह, नेपाली कम्युनिस्ट पार्टीका लक्ष्मणकुमार यादव र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका रामलखन साह कानुलगायत उम्मेदवारहरूले परम्परागत दलहरूको मत आधारमा ‘कट’ लगाउने सम्भावना रहेको स्थानीय राजनीतिक जानकारहरू बताउँछन् ।
विशेषगरी मधेशमा पछिल्लो समय देखिएको काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को ‘क्रेज’ र वैकल्पिक राजनीतिक शक्तिप्रतिको आकर्षणले यस क्षेत्रको चुनावी नतिजामा अप्रत्यासित उलटफेर ल्याउन सक्ने उनीहरूको आकलन छ ।
प्रतिक्रिया 4