+
+
Shares

दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम केओन हीलाई २० महिना जेल   

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १४ गते १४:३६

दक्षिण कोरियाको अदालतले देशकी पूर्व प्रथम महिला किम केओन हीलाई भ्रष्टाचारको आरोपमा २० महिनाको जेल सजाय सुनाएको छ ।

बुधबार सियोल केन्द्रीय जिल्ला अदालतले उनलाई घुस लिएको अभियोगमा दोषी ठहर गरे पनि स्टक हेरफेर र चुनावी वित्तसम्बन्धी कानून उल्लंघनका आरोपबाट भने मुक्त गरेको छ ।

५३ वर्षीया किम लामो समयदेखि विवादमा तानिँदै आएकी थिइन् । भ्रष्टाचार, प्रभावको दुरुपयोग र शैक्षिक अभिलेखमा अनियमितताका आरोपले उनका पति पूर्वराष्ट्रपति युन सुक योलको कार्यकालभरि दक्षिण कोरियाको राजनीति प्रभावित भएको थियो । किम र युन दुवै डिसेम्बर २०२४ मा मार्सल ल घोषणा र त्यसपछि उत्पन्न राजनीतिक अराजकतासँग सम्बन्धित घटनाका कारण हिरासतमा छन् ।

अदालतका अनुसार किमले व्यवसायी तथा राजनीतिज्ञहरूबाट दुई लाख अमेरिकी डलरभन्दा बढी मूल्यका उपहार र नगद लिएको थियो । तीमध्ये एक धार्मिक समूहका नेताबाट प्राप्त दुईवटा ब्रान्डेड ह्यान्डब्याग र गहनासमेत रहेका थिए । यद्यपि अभियोजन पक्षले लगाएको स्टक हेरफेर र चुनावी कोष दुरुपयोगको आरोप प्रमाणित हुन सकेन ।

कालो पोशाक, मास्क र चश्मा लगाएर सजाय सुनुवाइका क्रममा किम अदालतमा उपस्थित भएकी थिइन् । अभियोजकहरूले उनी आफूलाई कानुनभन्दा माथि ठान्ने र राज्य तथा धर्मबीचको संवैधानिक विभाजन कमजोर पार्ने कार्यमा संलग्न भएको दाबी गरेका थिए । उनका कार्यले देशका संस्थाहरूलाई गम्भीर रूपमा कमजोर पारेको अभियोजनको तर्क थियो ।

किमले भने अन्तिम बयानमा आरोपहरू अन्यायपूर्ण भएको बताउँदै अस्वीकार गरेकी थिइन् । तर आफ्नो भूमिकाका कारण समस्या उत्पन्न भएको स्वीकार गर्दै माफी मागेकी थिइन् । ‘मलाई सुम्पिएको जिम्मेवारीबारे सोच्दा धेरै गल्ती गरेको स्पष्ट हुन्छ,’ उनले भनेकी थिइन् ।

किममाथिका घोटालाहरूले पूर्वराष्ट्रपति युनको राजनीतिक एजेन्डालाई बारम्बार छायाँमा पारेको थियो । सन् २०२३ मा सार्वजनिक भएको एक भिडियोमा उनले महँगो लक्जरी ह्यान्डब्याग स्वीकार गरेको देखिएपछि ‘डायर ब्याग कान्ड’ ले देशव्यापी आलोचना जन्माएको थियो । यसले सन् २०२४ को संसदीय चुनावमा युनको दलको हारमा पनि भूमिका खेलेको विश्लेषकहरू बताउँछन् ।

यस प्रकरणसँगै धार्मिक समूह युनिफिकेसन चर्चका नेता र केही शीर्ष नेताहरूमाथि पनि अनुसन्धान र सजायको प्रक्रिया अघि बढेको छ । अदालतका निर्णयहरूले पछिल्ला वर्षहरूमा दक्षिण कोरियाको राजनीतिक संकटलाई अझ गहिरो बनाएको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?