News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा नदी बेसिनस्तरको जलविज्ञान पूर्वानुमान तथा प्रारम्भिक चेतावनी सेवा सञ्चालनमा आएको छ।
- फ्रान्सेली संस्था ब्लु वाटर इन्टिलिजेन्सले हाइड्रो नेपाल परियोजना अन्तर्गत सेवा सुरु गरेको छ।
- सेवाले जलविद्युत् योजना, विपद् पूर्वतयारी र जलस्रोत व्यवस्थापनमा सहयोग गर्ने उद्देश्य राखेको छ।
१८ माघ, काठमाडौं । नेपालभरिका नदी बेसिनस्तरको जलविज्ञान (हाइड्रोलोजिकल) पूर्वानुमान तथा प्रारम्भिक चेतावनी सेवा सञ्चालनमा आएको छ ।
फ्रान्सेली संस्था ब्लु वाटर इन्टिलिजेन्स (बीडब्लूआई) ले नेपालमा नदी प्रवाह पूर्वानुमान सेवा सञ्चालनमा ल्याएको हो ।
हाइड्रो नेपाल परियोजना अन्तर्गत सञ्चालनमा आएको यो सेवा जलविद्युत् योजना, सञ्चालन, विपद् पूर्वतयारी तथा जलस्रोत व्यवस्थापन प्रभावकारी बनाउने उद्देश्यले सुरु गरिएको हो ।
परियोजना फ्रान्सको अर्थतन्त्र, वित्त, उद्योग तथा डिजिटल सार्वभौमिकता मन्त्रालयको सहयोग र एफएएसईपीको वित्तीय समर्थनमा सञ्चालन भइरहेको छ । यसमा नेपाल विद्युत् प्राधिकरण परियोजना साझेदार तथा लाभग्राही छ ।
काठमाडौंमा आयोजित सुरुवात कार्यक्रममा नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्तेभाल, नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्य, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. दीपक आर्याल लगायत जल, ऊर्जा र अनुसन्धान क्षेत्रका विज्ञ सहभागी थिए ।
परियोजना अन्तर्गत पृथ्वी अवलोकन, कृत्रिम बुद्धिमत्ता (एआई) तथा हाइड्रोलोजिकल मोडलिङ प्रविधि प्रयोग गरी अपर कर्णाली, मर्स्याङ्दी, त्रिशूली र दूधकोशी नदी बेसिनमा नदी प्रवाह पूर्वानुमान र प्रारम्भिक चेतावनी प्रणाली सञ्चालनमा ल्याइएको हो ।
विकास चरण सफलतापूर्वक सम्पन्न भएसँगै निजी क्षेत्रका लागि समेत सेवा उपलब्ध गराउने तयारी गरिएको ब्लु वाटर इन्टिलिजेन्सले जनाएको छ ।
कार्यक्रममा बोल्दै फ्रान्सेली राजदूत कोर्तेभालले फ्रान्सको हाइड्रोलोजिकल विशेषज्ञता र नेपालको नदी प्रणालीबीचको सहकार्यले आर्थिक विकास र विपद् व्यवस्थापनमा महत्त्वपूर्ण योगदान दिने बताइन् ।
बिडब्लूआईका जलविज्ञ डा. अनिल खनालले अन्तर्राष्ट्रिय सहकार्य र डिजिटल नवप्रवर्तनले नेपालको जल तथा ऊर्जा सुरक्षालाई सुदृढ बनाउने बताए । यसले आगामी दिनमा थप नदी बेसिनमा सेवा विस्तार गर्ने तयारी रहेको बताए ।
कार्यक्रममा जल, ऊर्जा र जलवायु सहनशीलता सम्बन्धी प्यानल छलफल समेत गरिएको थियो । जसमा सरकारी निकाय, निजी क्षेत्र र अनुसन्धानकर्ताहरूले नेपालका प्रमुख जलसम्बन्धी चुनौती समाधानमा प्रविधि उपयोगबारे छलफल गरेका थिए ।
प्रतिक्रिया 4