+
+
Shares
स्पष्टीकरण :

जेफ्री एप्सटिन र नोम चोम्स्कीका बाहिरिएका इमेलहरू बारे विजय प्रसाद

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २१ गते १२:२४

म निकै मर्माहत भएको छु ।

सानो छँदा मैले भयानक यौन हिंसा भोगेको थिएँ जसको बारेमा मैले पहिले पनि लेखिसकेको छु र त्यसको चोटले मलाई दशकौँ पछिसम्म पनि पिरोलिरहेको छ।

यसको अर्थ म बालबालिकालाई नैतिक रूपमामात्र होइन, शारीरिक रूपमा शोषण गर्नेहरूप्रति असहिष्णु छु। बालबालिकालाई हानि पुऱ्याउने जो-कोहीप्रति म घृणा गर्छु र कसैले बच्चालाई अनुशासनमा राख्न खोज्दा पनि म झस्किन्छु। मेरा दुई छोराछोरी वयस्क भइसकेका छन् भने दुई जना अझै साना छन्; ती प्रत्येकको कोमलता र भविष्यका बारेमा म गम्भीर चासो राख्दछु। मेरो विचारमा कुनै पनि बच्चामाथि हिंसा गर्ने व्यक्तिका लागि सुध्रने दोस्रो मौका हुनै सक्दैन।

मैले जेफ्री एपस्टीनको मुद्दाका बारेमा पढेँ । बालबालिका र युवाहरूमाथि हुने यस्ता खतरनाक हिंसाका बारेमा पढ्दा मलाई ठुलो चोट पुग्छ।

तर अवश्य पनि, मेरा साथी र सहकर्मी नोम चोम्स्की र एपस्टीनबिच आदानप्रदान भएका इमेलहरूलाई उपेक्षा गर्न असम्भव थियो। मैले भेटेसम्मका कुराहरू पढेको छु । मैले जे देख्नुपर्ने थियो त्यो देखिसकेको छु। नोम मेरो लागि एक महान् मार्गदर्शक रहँदै आउनुभएको छ र हामीले मिलेर दुईवटा पुस्तकहरू तयार गरेका छौँ (जसमा पछिल्लो पुस्तक, उहाँको अन्तिम कृति हो)।

यी दुवै पुस्तकहरू उहाँले एपस्टीनसँग पत्राचार गरिरहेकै समयको आसपासमा लेखिएका थिए। तर हाम्रा धेरै छलफलहरूमा न त ती पत्राचारका कुनै विषयहरू उठे न त उहाँले एपस्टीनलाई भेटिरहनुभएको तथ्य नै कहिल्यै अगाडि आयो। नोम र मैले अमेरिकी साम्राज्यवाद र यसका अपराधहरू अनि क्युबाको बारेमा कुरा गर्‍यौँ। यी राजनीतिक विषयहरू बाहेक हामीले कुरा गरेको एक मात्र व्यक्तिगत कुरा भनेको कुकुरहरूप्रतिको हाम्रो प्रेम र अरबी भाषाको बारेमा मात्र थियो।

नोमले अहिले बोल्न वा लेख्न र एपस्टीनसँगको आफ्नो सम्बन्धबारे स्पष्ट पार्न नसक्ने भएकाले यो विषय निकै जटिल बनेको छ। उहाँको तर्फबाट भन्नुपर्ने केही बाँकी छैन। जब ती तस्बिर र इमेलहरू सार्वजनिक भए, म एपस्टीनको बाल-यौन दुर्व्यवहार (पेडोफिलिया) र नोमसँगको उसको मित्रता देखेर तुरुन्तै घृणित भएँ। मेरो विचारमा यस घटनाको कुनै प्रतिरक्षा हुन सक्दैन । यस्तो आक्रोशपूर्ण कार्यलाई न्यायोचित ठहऱ्याउन सक्ने कुनै सन्दर्भ छैन।

मैंने काउन्टरपञ्चका सम्पादक जेफ्री सेन्ट क्लेयरलाई सोधेको थिएँ- हामी दुवैका साथी अलेक्जेन्डर ककबर्नले यी खुलासाहरूलाई कसरी लिन्थे होलान्।

जेफ्रीले लेखे, ‘मलाई लाग्छ चोम्स्कीको एक कट्टर जायोनीस्ट र सम्भावित इजरायली एजेन्टसँग यति घनिष्ट सम्बन्ध भएको देखेर एलेक्स चिन्तित हुने थिए… सामान्यतया यति सोचविचार र तर्कपूर्ण निर्णय लिने व्यक्तिबाट भएको यो गम्भीर रूपमा गलत निर्णय हो।’

एपस्टीन सुदूर दक्षिणपन्थी र एक जायोनी व्यक्ति थिए, शक्ति र प्रभाव भएका व्यक्तिहरूलाई बटुलेर संसारलाई आफ्नो स्वर्ग र हाम्रो लागि नर्क बनाउन चाहने पात्र थिए ।

उसले नोमलाई एहुद बराकसँग चिनाएको थियो, जो सन् २००० को सुरुवाती समयमा भ्रष्टाचारको आरोप खेपेका र इजरायली प्रधानमन्त्रीको रूपमा आफ्नो कार्यकालमा युद्ध अपराध गरेका व्यक्ति थिए। सन् २००९ मा बराकले गाजाका प्यालेस्टिनीहरू विरुद्ध एक डरलाग्दो युद्ध गरे जसमा करिब १५०० प्यालेस्टिनीहरूको निर्मम हत्या गरिएको थियो। रिचर्ड गोल्डस्टोनको अध्यक्षतामा रहेको संयुक्त राष्ट्रसंघको छानबिन समितिले आफ्नो प्रतिवेदनमा बाराकको नेतृत्वमा रहेको इजरायली सरकारले युद्ध अपराध गरेको ठहर गरेको थियो।

जब सोही वर्ष बराकले संयुक्त अधिराज्य (यूके) को भ्रमण गरे, वकिलहरूले ‘क्रिमिनल जस्टिस एक्ट १९८८’ अन्तर्गत पक्राउ पुर्जी जारी गर्न वेस्टमिन्स्टर शहरको अदालतमा मुद्दा दायर गरे जसले युद्ध अपराधका मामिलाहरूमा सार्वभौमिक क्षेत्राधिकारको व्यवस्था गर्दछ।

त्यस्तो कुनै पक्राउ पुर्जी जारी भएन। यी घटनाहरूको छ वर्षपछि सन् २०१५ मा नोमले किन एक युद्ध अपराधीलाई भेटे होलान्? जब मैले सन् २०२१ मा हाम्रो पहिलो पुस्तक ‘द विड्रअल’ का लागि नोमलाई सोधेको थिएँ, ‘के तपाईं हेनरी किसिन्जरलाई भेट्न जानुहुन्थ्यो?’ उनले हाँस्दै नगएको कुरा बताएका थिए । तैपनि उनले त्यसअघि नै मलाई थाहै नदिई एक युद्ध अपराधीसँग भेट गरिसकेका रहेछन्।

त्यस्तो स्वभाव भएको व्यक्तिसँग किन यति सहजै सङ्गत गर्ने? एक बाल-यौन दुर्व्यवहारीलाई उसको अपराधका लागि किन सान्त्वना र सल्लाह दिने?

मेरो तर्फबाट भन्नुपर्दा, म अत्यन्तै भयाक्रान्त र स्तब्ध छु।

विजय प्रसाद

सान्टियागो, चिली

विजय प्रसादको सबैभन्दा पछिल्लो पुस्तक (नोम चोम्स्कीसँगको सहकार्यमा) ‘द विड्रअल: इराक, लिबिया, अफगानिस्तान एण्ड द फ्र्याजिलिटी अफ युएस पावर’ हो, जुन न्यु प्रेसद्वारा अगस्ट २०२२ मा प्रकाशित भएको थियो। यो सामग्री हामीले काउन्टर पञ्चबाट लिएका हौं ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?