+
+
Shares
फर्केर हेर्दा :

निर्वाचन ०७४ : वाम गठबन्धनलाई भारी बहुमत, सम्हाल्न नसक्दा तीन वर्षमै छिन्नभिन्न

संविधान जारी भएपछि २०७४ सालमा पहिलोपटक प्रतिनिधि सभा र प्रदेश सभाको चुनावसँगै मुलुक औपचारिक रूपमा संघीय संरचनामा प्रवेश गरेको थियो ।

केशव सावद केशव सावद
२०८२ माघ २४ गते १५:३९

२२ माघ, काठमाडौं । सर्वोच्च अदालतका बहालवाला प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारको सरकारले सम्पन्न गरेको संविधान सभा सदस्य निर्वाचन–२०७० सम्पन्न भयो ।

संविधान सभा सदस्य निर्वाचन–२०७० सम्पन्न भएको दुई महिनापछि २०७० माघ ८ मा संविधान सभाको पहिलो बैठक बस्यो । २०७० मंसिर ४ मा संविधानसभा सदस्य निर्वाचन २०७० सम्पन्न भएको थियो ।

सजावटले रङ्गीचङ्गी पारिएको नयाँ बानेश्वरस्थित संविधान सभा भवनमा बसेको पहिलो बैठकमा प्रमुख राजनीतिक दलहरूका बीचमा एक वर्षभित्र मुलुकलाई नयाँ संविधान दिने सहमति जुट्यो ।

तर, दलहरू बीचको असमझदारीका कारण संविधान सभालाई नयाँ संविधान जारी गर्न दुई वर्ष लाग्यो । २०७२ असोज ३ मा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले हर्षोल्लाससहित भरिभराउ संविधान सभा बैठकमा नयाँ संविधान जारी गरे ।

संविधान जारी हुने दिन संविधान सभा भवनलाई दुलही झैं सिङ्गारेर झकिझकाउ बनाइएको थियो । संविधान सभा बैठकमा सहभागी हुन प्रथम राष्ट्रपति यादव बग्गी र रिसल्ला अघि–अघि लगाएर नयाँ बानेश्वर चोक हुँदै दक्षिणी गेटबाट भित्र पसेका थिए ।

‘अन्ततः ठूलो हर्षोल्लाससहित खचिखचाउ भरिएको बैठकमा संविधानको ठेलीलाई ढोगेर राष्ट्रपति यादवले २०७२ असोज ३ गते नेपालको राजनीतिक इतिहासमै संविधान सभाले बनाएको संविधान जारी भएको घोषणा गरे,’ पत्रकार रामकृष्ण भण्डारीले ‘सत्ता संघर्ष’ पुस्तकमा लेखेका छन् ।

संविधान जारी भएपछि २०७४ सालमा पहिलोपटक प्रतिनिधि सभा र प्रदेश सभाको चुनावसँगै मुलुक औपचारिक रूपमा संघीय संरचनामा प्रवेश गरेको थियो ।

२०७४ सालमा मंसिर १० र २१ मा गरी दुई चरणमा निर्वाचन सम्पन्न गरिएको थियो । हिमाली तथा उच्च पहाडी भेगका ३२ जिल्लामा मंसिर १० गते पहिलो चरणमा निर्वाचन भएको थियो ।

दोस्रो चरणमा बाँकी ४५ जिल्लामा मंसिर २१ गते प्रतिनिध सभा र प्रदेश सभा सदस्यको निर्वाचन सम्पन्न गरिएको थियो ।

वाम गठबन्धन : एमाले–माओवादीको ऐतिहासिक विजय

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७४ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले चुनावी गठबन्धन गरेर ऐतिहासिक विजय प्राप्त गरेका थिए ।

२०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनलाई ऐतिहासिक तथा भारी बहुमत प्राप्त गर्ने सफल गठबन्धनको रूपमा लिइन्छ ।

वाम गठबन्धन स्पष्ट बहुमत हासिल गर्दै राजनीतिक स्थिरता र विकासको अपेक्षा पूरा गर्ने प्रमुख शक्तिको रूपमा उदाएको नेपालको संघीय संरचनामा पहिलो निर्वाचन थियो ।

प्रतिनिधि सभाका २७५ सिटमध्ये वाम गठबन्धनले १७४ सिट जितेको थियो । जुन झण्डै दुईतिहाइ बहुमत थियो । प्रतिनिधि सभामा बहुमतका लागि १३८ सिट आवश्यक पर्थ्यो ।

वाम गठबन्धन गरेको एमालेले प्रत्यक्षतर्फ ८० र समानुपातिकतर्फ ४१ गरी १२१ सिट तथा माओवादी केन्द्रले प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ १७ गरी ५३ सिट जितेका थिए ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ गठनबन्धन एमालेले १०३ र माओवादी केन्द्रले ५९ क्षेत्रमा उम्मेदवारी दिएका थिए । उनीहरूले अन्य सिटमा अरू वाम पार्टीहरूलाई सघाएका थिए ।

यस्तै प्रदेश सभा निर्वाचनतर्फ वाम गठबन्धनले सात मध्ये छ प्रदेशमा बहुमत प्राप्त गर्‍यो । यो विजयलाई भारी बहुमतको विजयको रूपमा पनि वर्णन गरिन्छ ।

कम्युनिस्ट विचारधारा बोकेका एमाले–माओवादीले चुनावी गठबन्धन गरेका कारण लामो राजनीतिक विरासत बोकेको नेपाली कांग्रेसलाई ठूलो धक्का पुग्यो ।

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन–२०७४ लाई वाम गठबन्धनको भव्य सफलता मानिन्छ । यही सफलताले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएर नेपालमा वामपन्थी शक्तिको प्रभुत्व स्थापित गरेको थियो ।

व्यक्तिगत महत्वाकांक्षाले कलह

वाम गठबन्धनबाट झण्डै दुईतिहाइ बहुमत ल्याएपछि हौसिएका एमाले र माओवादी केन्द्रले पार्टी एकीकरण गरेर नेकपा नामक नयाँ दल गठन गरे । तर, उनीहरूको सहकार्य लामो समयसम्म टिक्न भने सकेन ।

पार्टी एकता भए पनि एमाले र माओवादी केन्द्रबीच लामो समयसम्म सहकार्य हुन नसक्नुका पछाडि सत्ता संघर्ष र आन्तरिक कलह मुख्य थिए । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्कपमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री पदको लडाइँ, कार्यकाल विवाद र व्यक्तिगत महत्वाकांक्षाले कलह बढेको थियो ।

पार्टी एकीकरण हुँदा ओलीले अढाई वर्ष प्रधानमन्त्री रहने र त्यसपछि प्रचण्डलाई सुम्पिने अनौपचारिक सहमति गरेका थिए । तर, ओलीले समयमै सत्ता हस्तान्तरण गर्न अस्वीकार गरेपछि प्रचण्ड पक्षले त्यसलाई धोकाका रूपमा लियो ।

नेकपाको विवाद सर्वोच्च अदालतसम्मै पुग्यो । अन्ततः २०७७ पुस ५ मा सर्वोच्चको फैसलाबाट एकता खारेज भयो, एमाले र माओवादी केन्द्र फेरि अस्तित्वमा फर्किनु पर्‍यो । स्थिरता र समृद्धिको अपेक्षासहित वाम गठबन्धनलाई मतदान गरेका मतदाताको सपना नेकपाको आन्तरिक कलहले चकनाचुर हुनपुग्यो ।

यही बेला प्रतिनिधि सभाको ठूलो दल एमालेले पार्टीको सांगठनिक जीवनमा दोस्रोपल्ट पार्टी विभाजनको पीडा पनि खेप्नु पर्‍यो ।

नेकपाकालमा तत्कालीन प्रधानमन्त्री ओलीसँग बढेको वैचारिक मतभेदका कारण पार्टीको नेतृत्व गरिसकेका माधवकुमार नेपाल एमालेबाट चोइटिए ।

उनले पूर्वप्रधानमन्त्री झलनाथ खनालसहितका नेताहरूको साथ–सहयोगमा नेकपा (एकीकृत समाजवादी) नामको नयाँ दल गठन गरे ।

पार्टीहरूको तुलनात्मक स्थिति

सरकारले २०७४ साल भदौ ५ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मंसिर १० गते एकै चरणमा सम्पन्न गर्ने गरी मिति तोकेको थियो । पछि भदौ १४ गते उक्त निर्वाचन मंसिर १० गते र २१ गते दुई चरणमा सम्पन्न गर्ने गरी पुनः मिति तय गरिएको थियो ।

निर्वाचन आयोगको भदौ १५ मा बसेको बैठकले हिमाली तथा उच्च पहाडी भेगका ३२ जिल्लामा मंसिर १० गते पहिलो चरणमा र बाँकी ४५ जिल्लामा मंसिर २१ गते दोस्रो चरणमा निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको थियो ।

आयोगले प्रकाशन गरेको ‘निर्वाचन परिणाम पुस्तक’ मा भदौ १५ गते आयोगलाई निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन र भदौ २२ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसँग सम्बन्धित ऐनहरू प्राप्त भएपछिमात्रै आयोगले निर्वाचनको तयारी तीव्र बनाउन सफल भएको उल्लेख छ ।

‘निर्वाचन सम्पन्न गर्न सामान्यतः १२० दिनको अवधि आवश्यक पर्नेमा आयोगलाई उपलब्ध ८४ दिनभित्रै निर्वाचन गराउन आयोग अहोरात्र खटेको हुँदा यो ऐतिहासिक निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ,’ पुस्तकमा लेखिएको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ मा एमालेले प्रत्यक्षतर्फ ८० र समानुपातिक ४१ सिट प्राप्त गरेको थियो । एमालेसँग गठबन्धन गरेको माओवादी केन्द्रले प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ १७ सिट जितेको थियो ।

दुई ठूला वामपन्थी दलहरूको चुनावी गठबन्धनका कारण कांग्रेस प्रत्यक्षततर्फ २३ सिटमा खुम्चिएको थियो । उसले समानुपातिक निर्वाचन प्रणालीतर्फ भने ४० सिट पाएको थियो ।

यस्तै संघीय समाजवादी फोरमले प्रत्यक्षतर्फ १० स्थानमा विजय हासिल गर्दा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले ११ निर्वाचन क्षेत्रमा जित निकालेको थियो । यी दुवै दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ समान ६–६ जना सांसद प्रतिनिधि सभामा पठाउने अवसर पाएका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति पार्टी र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ १–१ सिट जितेका थिए । निर्वाचनमा एक जना स्वतन्त्र उम्मेदवार पनि निर्वाचित भएका थिए ।

प्रतिनिधि सभा निर्वाचन २०७४ मा १५९ पुरूष उम्मेदवार प्रत्यक्षतर्फ र २६ उम्मेदवार समानुपातिकतर्फ निर्वाचित हुँदा छ जना महिला प्रत्यक्षतर्फ र ८४ जना समानुपातिकतर्फ निर्वाचित भएका आयोगको तथ्यांकमा उल्लेख छ ।

प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सिटका लागि भएको प्रतिनिधि सभा निर्वाचनका लागि ९५ वटा राजनीतिक दलहरूले निवेदन पेस गरेका थिए । जसमध्ये ९१ दललाई आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि चुनाव चिह्न वितरण गरेको थियो ।

निर्वाचनमा भाग लिन नाम दर्ता गराएकामध्ये निर्वाचनमा भने ५५ राजनीतिक दलले मात्र भाग लिएका थिए । प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीको निर्वाचनमा भाग लिने प्रयोजनमा विभिन्न ८८ दलले निर्वाचन आयोगमा दल दर्ता गराएका थिए । तर, ४९ राजनीतिक दलले मात्र उम्मेदवारको बन्दसूची पेस गरेका थिए ।

समानुपातिकतर्फको हिसाब–किताब

संविधान सभाबाट संविधान जारी भइसकेपछि सम्पन्न पहिलो निर्वाचनमा पहिलो राजनीतिक शक्तिका रुपमा उदाएको एमालेले समानुपातिकतर्फ ३१ लाख ७३ हजार ४४९ मत पाएको थियो । उक्त मतबाट एमालेबाट ४१ जना सांसदहरू समानुपातिक निर्वाचन प्रणालीतर्फ चुनिएका थिए ।

माओवादी केन्द्रले गठबन्धनका तर्फबाट ५९ स्थानमा उम्मेदवारी दिएको थियो । उसको पक्षमा समानुपातिकतर्फ १३ लाख तीन हजार ७२१ मत खसेको थियो । जसबाट माओवादी केन्द्रले १७ जना समानुुपातिक सांसदहरू निर्वाचित गरेको थियो ।

वाम गठबन्धनका कारण प्रत्यक्षततर्फ २३ सिटमा खुम्चिएको कांग्रेसले समानुपातिकतर्फ ३१ लाख २८ हजार ३८९ मत प्राप्त गरेको थियो । जसबाट कांग्रेसका बन्दसूचीमा नाम समावेश भएका ४० जना उम्मेदवारहरू समानुपातिकतर्फ निर्वाचित भएका थिए ।

मतदान केन्द्र

प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनका लागि १० हजार ६७१ स्थलमा १९ हजार ८०९ मतदान केन्द्र तोकिएको थियो । निर्वाचन आयोगका अनुसार पहिलो चरणमा निर्वाचन भएका ३२ जिल्लामा दुई हजार ९१९ स्थलमा चार हजार ४६५ मतदान केन्द्र थिए ।

यस्तै दोस्रो चरणमा निर्वाचन भएका ४५ जिल्लामा सात हजार ७५२ स्थलमा १५ हजार ३४४ मतदान केन्द्र स्थापना गरिएको आयोगद्वारा प्रकाशित पुस्तकमा उल्लेख छ ।

‘एउटा मतदात केन्द्रमा बढीमा सालाखाला १०६४ जना मतदाता रहने गरी व्यवस्थापन गरिएको भएता पनि भौगोलिक विकटता, जनसंख्याको घनत्व आदिका कारण मतदान केन्द्रमा मतदाताहरूको संख्या फरक फरक रहेको थियो,’ पुस्तकमा लेखिएको छ ।

मतदान प्रतिशत

आयोगका अनुसार पहिलो चरण (मंसिर १०) मा सम्पन्न मतदानमा २० लाख ६८ हजार ७८९ मतदाताले मताधिकार प्रयोग गरेका थिए । यस्तै दोस्रो चरण (मंसिर २१) मा ८५ लाख २५ हजार १७३ मतदाता निर्वाचनमा सहभागी भएका थिए ।

दुवै चरणमा गरी औसत मतदान ६८.६७ प्रतिशत भएको थियो । अर्थात एक करोड पाँच लाख ९३ हजार ९७१ मतदाता प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७४ मा सहभागी भएका थिए ।

मतदानको दिन मतदान केन्द्रमा उत्पन्न विवादका कारण पहिलो चरणमा रूकुम जिल्लामा दुईवटा मतदान केन्द्रमा र दोस्रो चरणमा अर्घाखाँचीका दुईवटा मतदान केन्द्रमा मतदान सुचारू हुन नसकेपछि ती केन्द्रमा अर्को दिन पुनः मतदान भएको थियो ।

निर्वाचनमा खटिएका कर्मचारीहरूमध्ये दुर्घटनावश २० जना घाइते र सात जनाले ज्यान गुमाएको आयोगको निर्वाचन परिणाम पुस्तकमा उल्लेख छ ।

निर्वाचन आयोगका अनुसार उक्त निर्वाचनमा एक करोड ५४ लाख २७ हजार ९३८ मतदाता थिए । जसमध्ये ७७ लाख ७६ हजार ६२८ पुरूष, ७६ लाख ५१ हजार १४३ महिला र १६७ तेस्रो लिंगी थिए ।

लेखक
केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?