२४ माघ, वीरगञ्ज । पर्सा जिल्लाका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी दश जना महिला उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
२०४८ सालयता सम्पन्न भएका निर्वाचनहरूमध्ये यसपटक प्रत्यक्ष रूपमा सबैभन्दा धेरै महिला उम्मेदवार मैदानमा उत्रिएका हुन् ।
पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा पुरुष मतदाताको संख्या तुलनात्मक रूपमा बढी रहेपनि यहाँबाट एकजना मात्र महिला उम्मेदवार चुनावी दौडमा रहेकी छन् ।
निर्वाचन कार्यालय पर्साका अनुसार आर्य शशीकला राउतले स्वतन्त्र उम्मेदवारको रूपमा उम्मेदवारी दर्ता गराएकी हुन् ।
महिला उम्मेदवारको हिसाबले सबैभन्दा बढी सक्रियता क्षेत्र नम्बर २ मा देखिएको छ । यस क्षेत्रबाट चारजना महिलाले उम्मेदवारी दर्ता गराएका छन्, जसमध्ये अधिकांश दलीय उम्मेदवार हुन् ।
रिमा कुमारी यादव नेकपा एमालेबाट उम्मेदवार बनेकी छन् । यो उनको पहिलो संसदीय निर्वाचन हो ।
बिना जयसवाल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बनेकी छन् । उनी २०७९ सालको निर्वाचनमा राप्रपाबाट समानुपातिक सांसद थिइन् ।
रञ्जु कुमारी साह प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट उम्मेदवार बनेकी छन् । यो पनि उनको पहिलो संसदीय निर्वाचन हो । यस्तै, किस्मती देवीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन् ।
पर्साका चारवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता रहेको क्षेत्र नम्बर ३ मा भने एकजना मात्र महिला उम्मेदवार चुनावी मैदानमा छन् । निर्वाचन कार्यालयको तथ्यांकअनुसार यहाँ ९६ हजार ५ सय ४२ मतदाता रहेका छन् ।
यस क्षेत्रबाट सिके राउत नेतृत्वको जनमत पार्टीकी मालती कुमार कुशवाहा उम्मेदवार बनेकी छन् । उनी पहिलो पटक प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सहभागी हुँदैछिन् ।
पर्सा निर्वाचन क्षेत्र नम्बर ४ मा पनि चारजना महिला उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।
सिमादेवी कलवार जनमत पार्टीबाट उम्मेदवार बनेकी छन् । उनी पनि पहिलो पटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्दैछिन् ।
बाँकी तीनजना स्वतन्त्र उम्मेदवारका रूपमा उमा देवी, कान्ति देवी कुर्मी र सुरजी देवी नुनियाले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रतिक्रिया 4