News Summary
Generated by OK AI. Editorially reviewed.- अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको तथ्यांक अनुसार हवाई यात्रा प्रति १० लाख उडानमा १ भन्दा कम दुर्घटना हुने सबैभन्दा सुरक्षित यातायात माध्यम हो।
- फौजदारी अनुसन्धानले दुर्घटनामा जानाजानी गरिएको गल्ती, सुरक्षा नियम उल्लंघन र भ्रष्टाचार खोजी गरी कानुनी प्रक्रिया अघि बढाउँछ र दोषीलाई सजाय दिन्छ।
- आइकाओको निर्देशन अनुसार हवाई दुर्घटना अनुसन्धान स्वतन्त्र, गैरदण्डात्मक र दोषारोपणमुक्त हुनुपर्छ, फौजदारी प्रक्रिया मात्र स्पष्ट आपराधिक संकेतमा अघि बढाइनुपर्छ।
आजको आधुनिक युगमा हवाई यात्रा विश्वकै सबैभन्दा सुरक्षित यातायात माध्यमका रूपमा स्थापित भइसकेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को तथ्यांक अनुसार हरेक वर्ष करिब ४ अर्बभन्दा धेरै यात्रु हवाई यात्रामा सहभागी हुन्छन्, र तीमध्ये गम्भीर दुर्घटनाको दर अत्यन्त न्यून– प्रति १० लाख उडानमा १ भन्दा कम छ । प्रविधिको तीव्र विकास, कडा सुरक्षा मापदण्ड, चालक दलको निरन्तर प्रशिक्षण र अन्तर्राष्ट्रिय निगरानी प्रणालीका कारण हवाई यात्रा आज सुरक्षित बनेको हो ।
तर, यति उच्च सुरक्षा मापदण्ड हुँदाहुँदै जब कहिलेकाहीँ हवाई दुर्घटना हुन्छ, त्यसको प्रभाव केवल तथ्यांकमा सीमित हुँदैन । एकै क्षणमा सयौँ जीवन समाप्त हुन्छन्, परिवारहरू आजीवन पीडामा बाँधिन्छन् र राष्ट्रको उड्डयन प्रणालीमाथि गम्भीर प्रश्न उठ्छन् ।
नेपालमा पोखरामा भएको यति एयरलाइन्स दुर्घटना, काठमाडौंमा भएको सौर्य एयरलाइन्स दुर्घटना, भारत अहमदाबादमा भएको बोइङ दुर्घटना वा हालसालै अमेरिकी वायुसेनाले एक सिभिल उडानसँग भएको घटनाले यही पीडादायी यथार्थ पुन: उजागर गरेका छन् ।
यी दुर्घटनापछि बारम्बार उठ्ने एउटा संवेदनशील प्रश्न होअनलाइन किनमेल सेवा– के यो दुर्घटना मात्र दुर्भाग्य थियो ? कि यसमा कसैको गम्भीर लापरबाही ? नियामक कमजोरी वा जानाजानी गरिएको गल्ती संलग्न थियो ? यही प्रश्नसँग जोडिएर हवाई दुर्घटनामा फौजदारी अनुसन्धानको आवश्यकता र उपयुक्ततामाथि बहस चर्किंदै गएको छ ।
हवाई दुर्घटना भन्नाले यात्रुवाहक वा कार्गो जहाज, हेलिकप्टर जस्ता उड्डयन यन्त्रहरूको उडान, अवतरण वा सञ्चालन क्रममा हुने आकस्मिक वा नियन्त्रित असफलताबाट मानव जीवनको क्षति, सम्पत्तिको नोक्सानी वा वातावरणीय जोखिम उत्पन्न हुने घटना बुझिन्छ । यस्ता दुर्घटनापछि गरिने अनुसन्धानका मुख्य दुई उद्देश्य हुन्छन् ।
पहिलो, दुर्घटनाको वास्तविक, प्राविधिक र प्रणालीगत कारण पत्ता लगाएर भविष्यमा यस्ता घटना दोहोरिन नदिनु । दोस्रो, यदि दुर्घटनामा कसैको आपराधिक लापरबाही वा जानीबुझी गरिएको गल्ती देखिन्छ भने कानुनी रूपमा जवाफदेही बनाउनु । यिनै दुई उद्देश्यबीच सन्तुलन कायम गर्नु नै सबैभन्दा कठिन विषय हो ।
फौजदारी अनुसन्धान भन्नाले दुर्घटनामा जानाजान गरिएको गल्ती, सुरक्षा नियम उल्लंघन, भ्रष्टाचार, प्रमाण नष्ट गर्ने प्रयास वा गम्भीर लापरबाही खोजी गर्दै कानुनी प्रक्रिया अघि बढाउनु हो । यसले दोष निर्धारण, अभियोजन र सजायसम्मको प्रक्रिया समेट्छ । केही अवस्थामा फौजदारी अनुसन्धान अपरिहार्य हुन्छ ।
अन्तर्राष्ट्रिय अनुभव हेर्दा, यदि दुर्घटनामा ‘विलफुल मिसकन्डक्ट’ जस्तै मर्मत प्रक्रियामा जानाजानी छेडछाड, उडानयोग्यता प्रमाणपत्रमा हेरफेर, चालकदलले जानाजान सुरक्षा प्रोटोकल उल्लंघन गरेको प्रमाण वा ब्ल्याकबक्स डाटामा छेडछाड देखिन्छ भने फौजदारी अनुसन्धान नगर्नु अन्याय हुनेछ । यस्ता अवस्थामा कानुनी कारबाहीले दोषीलाई सजाय दिनुका साथै भविष्यमा यस्ता कार्य रोक्ने निवारक प्रभाव पनि पार्छ ।
अमेरिकामा सन् १९९६ मा भएको भ्यालुजेट फ्लाइट ५९२ दुर्घटनापछि मर्मत कम्पनीमाथि फौजदारी अभियोग लागेको थियो, जसले खतरनाक सामग्रीको गलत ह्यान्डलिङ गरेको प्रमाणित गरेको थियो । यस्ता उदाहरणले देखाउँछन् कि स्पष्ट आपराधिक गतिविधि देखिँदा फौजदारी अनुसन्धानले न्याय र उत्तरदायित्व सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्छ ।
फौजदारी अनुसन्धानले पीडित परिवारलाई क्षतिपूर्ति र कानुनी राहतको बाटो पनि खोल्छ । अन्तर्राष्ट्रिय उड्डयन कानुन अनुसार, दुर्घटनामा मृत्यु वा गम्भीर चोट परे पीडित परिवारले क्षतिपूर्ति पाउने अधिकार राख्छन् । दोषी पक्षमाथि कानुनी कारबाही हुँदा यो प्रक्रिया अझ प्रभावकारी र न्यायोचित हुन्छ ।
तर, हवाई दुर्घटनाको वास्तविकता प्राय: यति सरल हुँदैन । आइकाओ र अमेरिकी जहाज निर्माता कम्पनी बोइङको वार्षिक सुरक्षा प्रतिवेदन अनुसार विश्वभरिका हवाई दुर्घटनामध्ये करिब ७० प्रतिशतभन्दा बढी दुर्घटनामा मानवीय त्रुटि कुनै न कुनै रूपमा संलग्न हुन्छ, तर ती त्रुटि प्राय: प्रणालीगत कमजोरी, अपर्याप्त प्रशिक्षण, थकान वा नियामक असफलतासँग गाँसिएका हुन्छन् ।
यसको अर्थ, अधिकांश दुर्घटना एउटै व्यक्तिको अपराध होइन, सम्पूर्ण प्रणालीको असफलता हुन्छ । हवाई दुर्घटना अनुसन्धान अत्यन्तै वैज्ञानिक र प्राविधिक प्रक्रिया हो । ब्ल्याकबक्स विश्लेषण, उडान डेटा रेकर्डर, ककपिट भ्वाइस रेकर्डर, मलबा परीक्षण, मौसम विश्लेषण र मानव कारक अध्ययन जस्ता प्रक्रिया समय, स्वतन्त्रता र निष्पक्षता माग्छन् ।
यदि अनुसन्धान सुरुदेखि नै फौजदारी दबाबमा पर्यो भने सत्य पत्ता लगाउने प्रक्रिया प्रभावित हुन्छ । अभियोजन डरले चालक दल, इन्जिनियर वा एयरलाइन्स कर्मचारीले खुला रूपमा बयान दिन हिचकिचाउन सक्छन् । यसले दुर्घटनाको वास्तविक कारण लुक्ने खतरा बढाउँछ ।
यही कारण आइकाओले एनेक्स १३ मार्फत स्पष्ट निर्देशन दिएको छ । यस अनुसार हवाई दुर्घटनापछि गरिने सुरक्षा अनुसन्धान दोषारोपण भन्दा मुक्त, स्वतन्त्र र गैरदण्डात्मक हुनुपर्छ । यसको उद्देश्य दोषी खोज्नु होइन, कारण पत्ता लगाउनु र भविष्यका लागि सुधारात्मक सिफारिस दिनु हो । फौजदारी प्रक्रिया भने केवल स्पष्ट आपराधिक संकेत देखिएमात्र अघि बढाइनुपर्छ ।
अमेरिकामा राष्ट्रिय यातायात सुरक्षा बोर्डले हवाई दुर्घटनाको सुरक्षा अनुसन्धान गर्छ । राष्ट्रिय यातायात सुरक्षा बोर्डको अधिकार क्षेत्र पूर्णरूपमा सुरक्षा सुधारमा केन्द्रित हुन्छ । यदि अनुसन्धान क्रममा आपराधिक गतिविधि संकेत देखिन्छ भने संघीय अनुसन्धान ब्युरो वा न्याय विभागले छुट्टै फौजदारी अनुसन्धान अघि बढाउँछ । यसरी सुरक्षा अनुसन्धान र फौजदारी अनुसन्धान संस्थागत रूपमा अलग राखिएको छ ।
युरोपेली संघका देशहरूमा पनि यही अभ्यास लागु छ । युरोपेली संघ उड्डयन सुरक्षा एजेन्सी र राष्ट्रिय दुर्घटना अनुसन्धान बोर्डहरूले स्वतन्त्र सुरक्षा अनुसन्धान गर्छन् । फौजदारी प्रक्रिया आवश्यक परेमात्र न्यायिक निकाय मार्फत अघि बढाइन्छ ।
नेपाल, भारत, श्रीलंकाजस्ता देशले पनि औपचारिक रूपमा आइकाओका यी मापदण्ड अपनाएका छन् । तर व्यवहारमा, विशेषगरी विकासशील देशहरूमा, दुर्घटनापछि भावनात्मक दबाब, राजनीतिक हस्तक्षेप र सार्वजनिक आक्रोशका कारण तुरुन्तै दोष खोज्ने प्रवृत्ति देखिन्छ । यसले दीर्घकालीन रूपमा सुरक्षा सुधारभन्दा डर, दोषारोपण र सूचना लुकाउने संस्कृति विकास गर्ने खतरा हुन्छ ।
फौजदारी अनुसन्धान तबमात्र उपयुक्त हुन्छ जब आपराधिक संकेतहरू स्पष्ट, ठोस र प्रमाणित हुन्छन् । नियामक निकायको गम्भीर लापरबाही, प्रमाणित भ्रष्टाचार, जानाजानी गरिएको सुरक्षा उल्लंघन वा प्रमाण नष्ट गर्ने प्रयास देखिए कानुनी कारबाही अनिवार्य हुन्छ । तर, हरेक दुर्घटनालाई अपराधको चस्माबाट हेर्ने प्रवृत्तिले न त सुरक्षा सुधार गर्छ, न त न्याय नै सुनिश्चित गर्छ ।
नेपालजस्तो भौगोलिक रूपमा चुनौतीपूर्ण देशमा, जहाँ छोटा धावनमार्ग, जटिल मौसम र पहाडी भूगोलले उड्डयन जोखिम बढाउँछ, दुर्घटना अनुसन्धान अझ बढी वैज्ञानिक, पारदर्शी र स्वतन्त्र हुनुपर्छ । भावनाले होइन, तथ्य, प्रमाण र अन्तर्राष्ट्रिय अभ्यासले निर्णय हुनुपर्छ । सुरक्षा अनुसन्धानलाई प्राथमिकता दिँदै, फौजदारी अनुसन्धानलाई आवश्यक अवस्थामा मात्र सीमित र व्यवस्थित रूपमा अघि बढाउनु नै सन्तुलित दृष्टिकोण हो ।
हवाई दुर्घटनामा फौजदारी अनुसन्धानको उपयुक्तता परिस्थिति, प्रमाण र नियतमा निर्भर गर्छ । सबै दुर्घटना अपराध होइनन्, तर सबै अपराधलाई दुर्घटनाका नाममा ढाकछोप पनि गर्न मिल्दैन । सुरक्षा र न्यायबीचको सन्तुलन नै दीर्घकालीन समाधान हो । यही सन्तुलनले भविष्यमा दुर्घटनाको जोखिम घटाउँछ, दोषीलाई जवाफदेही बनाउँछ र उड्डयन प्रणालीप्रति जनताको विश्वास कायम राख्छ ।
(लेखक नेपाल नागरिक उड्डयन प्राधिकरणमा कार्यरत छन्, यो उनको व्यक्तिगत विचार हो– सं.)
प्रतिक्रिया 4