News Summary
Generated by OK AI. Editorially reviewed.- ड्रीम्स युनिभर्सल एलएलसीले ‘मिस नेपाल नर्थ अमेरिका २०२६’ का लागि आवेदन फेब्रुअरी ९ देखि खुला भएको जानकारी दिएको छ।
- प्रतियोगिताले सौन्दर्यभन्दा व्यक्तित्व, आत्मविश्वास, सामाजिक चेतना र नेतृत्व क्षमतामा जोड दिने बताइएको छ।
- प्रतियोगिताको आवेदन आधिकारिक वेबसाइटमार्फत दिन सकिने र फिनाले मिति तय हुन बाँकी छ।
न्यूयोर्क । ‘मिस नेपाल नर्थ अमेरिका २०२६’ का लागि आवेदन खुला भएको छ । आयोजक ड्रीम्स युनिभर्सल एलएलसीले विज्ञप्तिमार्फत आवेदन खुला भएको जानकारी दिएको छ । यस वर्ष प्रतियोगिताको नारा छ- ‘आकर्षणभन्दा पर, शालीनताको अँगालो : जहाँ हरेक अनुहारले एउटा कथा भन्छ ।’
प्रतियोगितामा सहभागी हुन चाहने युवतीले फेब्रुअरी ९, २०२६ देखि आवेदन दिन सक्नेछन् । उत्तर अमेरिकामा बसोबास गर्ने नेपाली समुदायका प्रतिभाशाली युवतीलाई लक्षित गर्दै आयोजना गरिने यो प्रतियोगिता केवल सौन्दर्य प्रदर्शनमा सीमित नरहेर व्यक्तित्व, आत्मविश्वास, सामाजिक चेतना र नेतृत्व क्षमताको मञ्च बन्ने विश्वास लिइएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘मिस नेपाल नर्थ अमेरिका एउटा यस्तो यात्रा हो जहाँ बाहिरी सुन्दरताभन्दा चरित्र, साहस र आत्मविश्वासलाई महत्व दिइन्छ । हरेक प्रतियोगीले आफ्ना सपना, संघर्ष र कथा मञ्चमा प्रस्तुत गर्ने अवसर पाउँछन् ।’
प्रतियोगिताले विविधतालाई सम्मान गर्दै महिलालाई आफ्ना अनुभव र विचार खुला रूपमा व्यक्त गर्ने अवसर दिने लक्ष्य राखेको छ । कार्यक्रमबारे जानकारी दिँदै आयोजकले भनेका छन्, “यो एउटा त्यस्तो मञ्च हो जहाँ आत्मविश्वास, उद्देश्य र मौलिकता सबैभन्दा ठूलो शक्ति मानिन्छ । यहाँ सहभागी भएर हरेक युवतीले आफ्नो वास्तविक पहिचान देखाउन सक्छन् र सौन्दर्यको परिभाषालाई नयाँ ढंगले प्रस्तुत गर्न सक्छन् ।’

‘मिस नेपाल नर्थ अमेरिका’ विगतका वर्षमा पनि नेपाली डायस्पोराका युवतीका लागि लोकप्रिय प्लेटफर्मका रूपमा स्थापित भइसकेको छ । प्रतियोगिताले सहभागीलाई सार्वजनिक बोलचाल, नेतृत्व विकास, सामाजिक सेवामा संलग्नता र सांस्कृतिक प्रतिनिधित्वजस्ता क्षेत्रमा सशक्त बनाउँदै आएको छ ।
प्रतियोगिताको आधिकारिक वेबसाइटमार्फत आवेदन दिन सकिनेछ । आवेदन प्रक्रियाबारेको विस्तृत विवरण र मापदण्डहरू पनि त्यहाँ उल्लेख गरिएको छ । प्रतियोगिताको फिनालेको मिति भने तय हुन बाँकी छ ।
प्रतिक्रिया 4