+
+
Shares

स्याङ्जाका एमाले उम्मेदवारले सार्वजनिक गरे प्रतिबद्धता

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ९ गते ९:१०

९ फागुन, स्याङ्जा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट स्याङ्जा प्रतिनिधिसभाका दुवै क्षेत्रमा उम्मेदवारी दिएका नेताहरूले आ-आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका छन् । क्षेत्र नम्बर १ मा मिनप्रसाद गुरुङ र क्षेत्र नम्बर २ मा खिमबहादुर थापाले आगामी पाँच वर्षका लागि विकासका प्राथमिकता अघि सारेका हुन् ।

स्याङ्जा निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार मिनप्रसाद गुरुङले ‘समृद्ध स्याङ्जा, जनताको हित’ भन्ने मूल नारासहित ३३ बुँदे सङ्कल्प पत्र सार्वजनिक गरेका छन् । उनले पूर्वाधार विकास, सामाजिक क्षेत्र सुधार, उद्यमशीलता प्रवर्द्धन र कृषि आधुनिकीकरणलाई मुख्य आधार बनाएका छन् ।

पाँच वर्षभित्र सबै स्थानीय तहका केन्द्रलाई कालोपत्रे सडक सञ्जालले जोड्ने, वडा केन्द्रसम्म सडक विस्तार गर्ने तथा सिद्धार्थ राजमार्ग स्तरोन्नति गरी स्याङ्जा-पाल्पा-रुपन्देही जोड्ने आर्थिक करिडोरको रूपमा विकास गर्ने योजना उनको प्राथमिकतामा छ । साथै, ज्याग्दी र आँधीखोला करिडोर सुधार, वैकल्पिक लोकमार्ग निर्माण, ‘एक घर-एक धारा’ अभियानमार्फत खानेपानी विस्तार र आवश्यक स्थानमा पक्की तथा झोलुङ्गे पुल निर्माण गर्ने प्रतिबद्धता गरिएको छ ।

सदरमुकामस्थित मालेबगर खेलमैदानलाई सुविधासम्पन्न बनाउने र प्रत्येक पालिकामा कम्तीमा एक खेलमैदान निर्माण गर्ने योजना पनि उनले अघि सारेका छन् । सामाजिक क्षेत्रमा निरपेक्ष गरिबी आधाले घटाउने, अति विपन्न परिवारलाई उद्यमशील कार्यक्रममा आबद्ध गर्ने र बेरोजगारी दर घटाउने लक्ष्य राखिएको छ । स्वास्थ्य बिमामा शतप्रतिशत सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता पनि गरिएको छ .

स्वास्थ्यतर्फ स्याङ्जा सदरमुकामको प्रदेश अस्पताललाई ५० शय्यामा पूर्ण क्षमतासहित सञ्चालन गर्ने तथा स्थानीय तहका अस्पतालको पूर्वाधार सुदृढ गर्ने योजना छ । शिक्षातर्फ विद्यालय तहदेखि नै उद्यमशीलता शिक्षा लागू गर्ने, सामुदायिक विद्यालय सुधारका लागि संघीय शिक्षा ऐन संशोधन पहल गर्ने र दलित समुदायका परम्परागत सिपलाई आयआर्जनसँग जोड्ने उल्लेख गरिएको छ ।

युवालाई सीपमूलक तालिममार्फत स्वदेशमै रोजगारी सिर्जना गर्ने, होमस्टे स्तरोन्नति गरी अन्तर्राष्ट्रिय सिकाइ केन्द्रका रूपमा विकास गर्ने र सुन्तला तथा जडीबुटीजन्य उद्योग स्थापना गर्ने लक्ष्य पनि राखिएको छ । कृषि क्षेत्रमा सुन्तला, कफी र मसलाबाली विस्तार, गाईभैंसी जोन विकास तथा दुई सय आधुनिक कृषि तथा पशुपन्छी फर्म स्थापना गर्ने योजना समेटिएको छ ।

पूर्व प्रदेशसभा सदस्यसमेत रहेका गुरुङले यो सङ्कल्प पत्र पार्टीको घोषणापत्र नभई आफ्नो व्यक्तिगत कार्यदिशा भएको स्पष्ट पार्दै कार्यान्वयनका लागि मतदातासँग समर्थन मागेका छन् ।

यस्तै, स्याङ्जा निर्वाचन क्षेत्र नम्बर-२ का उम्मेदवार खिमबहादुर थापाले सुशासन, पूर्वाधार र कृषिलाई केन्द्रमा राख्दै प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

विद्यार्थी जीवनदेखि राजनीति र सामाजिक क्षेत्रमा सक्रिय रहेको उल्लेख गर्दै उनले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने, सरकारी निकायमा हुने ढिलासुस्ती अन्त्य गर्ने र सेवा प्रवाह प्रभावकारी बनाउने प्रतिवद्धता जनाएका छन् ।

कृषि तथा पशुपालनमार्फत स्वरोजगार सिर्जना गर्ने योजना अन्तर्गत कालीगण्डकी र आँधीखोलासहित विभिन्न खोला आसपासका उर्वर फाँट र टार क्षेत्रको सदुपयोग गर्दै कृषकलाई व्यावसायिक बनाउने लक्ष्य राखिएको छ । सहुलियत ऋण, प्राविधिक सहयोग र बजार व्यवस्थापनमार्फत कृषकको आम्दानी बढाउने योजना अघि सारिएको छ ।

पूर्वाधारतर्फ प्रत्येक पालिकामा व्यावसायिक शिक्षालाई प्रबर्द्धन, सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने, ‘एक निर्वाचन क्षेत्र-एक सुविधा सम्पन्न अस्पताल’ स्थापना गर्ने र ‘एक पालिका-एक उद्योग’ अवधारणा कार्यान्वयन गर्ने प्रतिबद्धता गरिएको छ । ग्रामीण सडक स्तरोन्नति, करिडोर विस्तार र सिद्धार्थ राजमार्गको थप सुधारलाई पनि प्राथमिकतामा राखिएको छ ।

धार्मिक तथा सांस्कृतिक पर्यटन प्रबर्द्धनका लागि राम्दी–देवघाट क्षेत्रमा जल यातायात सम्भाव्यता अध्ययन गर्ने उल्लेख गरिएको छ । साथै, बहुजातीय तथा बहुसांस्कृतिक पहिचान संरक्षणमा राष्ट्रिय स्तरमा समन्वय गर्ने योजना पनि सार्वजनिक गरिएको छ ।

दुग्ध विकास संस्थाका पूर्वकार्यकारी तथा कालीगण्डकी गाउँपालिकाका पूर्वअध्यक्षसमेत रहेका थापाले आफूलाई इमान्दार र जनमुखी प्रतिनिधिका रूपमा प्रस्तुत गर्दै विकास र सुशासनलाई व्यवहारमा उतार्ने दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?