+
+
Shares

गगन दाइ हावाले पात हल्लाउँछ, पहाड होइन

गीता पोखरेल गीता पोखरेल
२०८२ फागुन ९ गते १०:४७

आदरणीय गगन दाइ, हार्दिक अभिवादन ।

यो बहिनीको दोस्रो पत्र हो र पत्रको मूलमर्म कृतज्ञता मात्र हो। पहिलो पत्र यसो आत्मसात् गरी हेर्दा नेपाली समाज, कानुन र पितृसत्तामाथि केही दुखेसो पोखिएछ। तर म फिलहाललाई फरक प्रसङ्ग कोट्याउन गइराखेकी छु। केही राजनीतिक प्रसङ्ग छन् यसमा।

२०८२ साल भदौ २३–२४ मा भएको ‘जेनजी’ (Gen Z) आन्दोलन युवापुस्ताको नेतृत्वमा भ्रष्टाचार, राजनीतिक अस्थिरता, सामाजिक असमानता, रोजगारीको अभाव र अभिव्यक्ति स्वतन्त्रताका पक्षमा भएको ठूलो जनआन्दोलन हो। सामाजिक सञ्जाल प्रतिबन्धको विरोधबाट सुरु भएको त्यो आन्दोलन छिट्टै देशव्यापी बन्यो र युवाहरूको असन्तोष तथा परिवर्तनको चाहनालाई सशक्त रूपमा उजागर गर्‍यो।

युवाहरूमा राजनीतिक चेतना र सहभागिता अभिवृद्धि भयो । भ्रष्टाचार र प्रणालीगत सुधारबारे राष्ट्रिय बहसमा युवाको जबर्जस्त एवं सशक्त सहभागिता हुनथाल्यो । साथै, आन्दोलन समन्वय समितिबाट सुधारसम्बन्धी राष्ट्रिय निकास प्रस्ताव अगाडि बढ्यो ।

शहीद घोषणा र आन्दोलनले औपचारिक मान्यता पाउनुका साथै सरकारमाथि सुधारका लागि दबाब सिर्जना भयो । यी आन्दोलनका महत्वपूर्ण उपलब्धि भए ।

आन्दोलनमा अत्यधिक नोक्सानी/क्षति पनि भए । हिंसा र तोडफोडका कारण ठूलो आर्थिक क्षति, उद्योग, व्यापार र सञ्चार क्षेत्रमा व्यापक असर, रोजगारीमा जोखिम र सामाजिक अस्थिरता, जीवन र सम्पत्तिमा क्षति, घाइते तथा मृत्युका घटना आदि, आदि ।

विभिन्न तथ्यांक अनुसार, सञ्चार क्षेत्रलाई करिब रु. ७७ करोड बराबरको नोक्सानी भयो । उद्योग–व्यवसायमा करिब रु. ३८ अर्ब बराबरको प्रत्यक्ष क्षति पुग्यो । निजी सवारीसाधन, सरकारी तथा गैरसरकारी भवनमा तोडफोड र आगलागी गरिए । उद्योग बन्द/निष्क्रिय हुँदा १० हजारभन्दा बढी श्रमिकको रोजगारी जोखिममा परेकै छन् ।

यी सबैभन्दा अपूर्णीय क्षति त मानवीय क्षति भइहाल्यो । आन्दोलनका क्रममा ७८ व्यक्तिको मृत्यु (केही सहिद घोषणा) भयो । धेरै आन्दोलनकारी तथा सुरक्षाकर्मी घाइते भए । परिवार, समाज र मानवीय सुरक्षामा गम्भीर असर भयो ।

यिनै घटनाहरूलाई आत्मसात् गर्दै आफ्नै पार्टीभित्र तपाईं र विश्वप्रकाश दाइले गरेको विद्रोह सानो विद्रोह थिएन। मलाई थाहा छ, घरभित्र लड्नु सानो चुनौती होइन। तपाईंको तनाव र व्याकुलता अनुहारमै झल्किन्थ्यो। कहिलेकाहीँ तपाईं आशाहीन जस्तै देखिनुहुन्थ्यो। तर अन्ततः तपाईंले त्यो कठिन जङ्घार तरेरै छोड्नुभयो।

तपाईंलाई आज हाम्रो कानुन बनाउने मुकाममा पुग्न हाम्रै सहयोग आवश्यक छ। दृढ भएर अगाडि बढ्नुहोस्, राजनीति बुझ्ने जनता तपाईंको साथमा छन्। म जस्ता विभिन्न कारणले चुनावमा उपस्थित हुन नसक्नेहरूको नैतिक समर्थन त रहने नै छ।

तपाईंमा भएको सकारात्मकता र बढ्दै गएको परिपक्वताका कारण तपाईं सांसद बन्ने र देशको प्रधानमन्त्री नै हुने सम्भावनाले बाटो बिराउने छुट पाउने छैन।

हाम्रो अर्थतन्त्र कमजोर छ, उत्पादन आधार सङ्कुचित छ र राज्य संस्थाहरू अझै सुदृढ भइसकेका छैनन्। यस्तो अवस्थामा भावना बेच्ने अनुभवहीन ‘पपुलिस्ट’हरू उदाएका छन्। ती समाधान होइनन्। यो अवस्था त मेरो बुझाइमा हाम्रो लागि अर्को चुनौती हुन सक्छ। नेपाली समाजको चेतनास्तर र त्यसलाई सुदृढ बनाउने चुनौतीका साथै भावना बेच्ने पपुलिस्टहरूसँगको राजनीतिक फरक धार पनि स्पष्ट हुन आवश्यक छ। कांग्रेसलाई गुलिया नारा बेच्ने र निकट आगतको लागि मात्र सोच्ने छुट छैन।

एउटा सचेत नागरिकको हिसाबले व्यक्तिपूजा होइन, व्यक्तिको कर्म ठीक कि बेठीक भन्ने विषयमा बहस हुनुपर्छ।

के शक्ति प्राप्तिको उन्मादले नैतिकताको सीमारेखा मेटाउँछ ?

यो प्रश्न मेरो मनमा त्यतिबेला आयो, जब हामीले विद्वान्, पीएचडी गरेका छन् भनेर आशा गरिएका व्यक्तिहरू नै सत्ताप्राप्तिको लागि नैतिकता लत्याएर व्यक्तिपूजामा उत्रिएको देख्यौँ। पढालेखा व्यक्ति नैतिक रूपमा स्खलित भयो भने त्यो आम मान्छेभन्दा निकै नै स्तरहीन र अयोग्य हुनेछ।

गतिलो चेतना नभएको समाजमा मात्र त्यस्ताका लागि ठाउँ बाँकी रहन्छ। विद्वान् भनाउँदा स्वार्थी राजनीतिक तप्काले नै यस्तो व्यवहार देखाउँछन्। दुःखपूर्वक भन्नुपर्छ– विद्वान् बिक्री हुन थाल्यो भने बेपत्ता गिर्छ।

कसैको विद्वत्ता पछाडि हामीले आशा गरेको भनेको सबैलाई मन पर्ने कुरा बोलोस् भनेर होइन। हामीले समर्थन गरेको भनेको ऊ निर्भीक भएर सत्यको पक्षमा उभियोस्, एक्लै परे पनि अडिग रहोस् भन्ने हो। तिनका नाममा यति मात्र भनौँ, कि हावाले पहाड होइन, पात उडाउँछ। ती उडुन्, चिन्ता नगरौँ। अब तपाईं नेतृत्वको कांग्रेसले आफूसँग जे छ, त्यसैको भरमा र जहाँ छौँ त्यहीँबाट एउटा ओजपूर्ण यात्रा सुरु गर्नुपर्नेछ।

म तपाईंकी बहिनी, पूर्व कलेजकी जुनियर सहपाठी पनि भएको र थोरबहुत सङ्गत पाएको अनुभवका आधारमा केही ठूलो स्वरमा भन्न सक्छु कि तपाईं हावा जता बह्यो, उतै एकोहोरिने कम वजनको व्यक्ति होइन। तपाईंको निष्ठा डगमगाउँदैन भन्नेमा म अझै धेरै विश्वस्त छु। विश्वप्रकाश जस्तो खँदिलो बौद्धिक व्यक्तिको स्वार्थरहित साथ पाउनुभएको छ। तपाईंलाई लामो राजनीतिक बाटो तय गर्न यति सामल भए पुग्छ।

समाजमा स्वीकार्य हुन के आफ्नै पहिचान, मौलिकता र सत्य गुमाउनुपर्छ? पक्कै होइन। ज्ञान हुनु र विवेकी हुनु फरक कुरा रहेछ। कुनै एउटा विषयमा पोख्त हुनुको अर्थ विवेकी हुनु नै हो भन्ने पनि रहेन। देश आज राज्यशक्ति कमजोर भएको हालतमा छ। देश खरानी जस्तै बनेको छ। तर हामी उठ्नेछौँ, अगाडि बढ्नेछौँ, र देशले छिट्टै आफ्नो लय समात्नेछ भन्नेमा आशावादी छौँ।

तपाईं निर्भीक भएर अघि बढ्नुहोस्। जीवनमा जस्तै राजनीतिमा पनि सानोभन्दा सानो असल कर्मको पनि ठूलो महत्त्व हुन्छ। आशा छ, यो पत्रपछि तपाईंको जित होस्, सँगै देशको पनि जित होस्।

(हाल बेलायत)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?