२१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मत परिणाम आउन सुरु भएको छ। मत गणनाको प्रारम्भिक रुझानले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भारी मतले विजयी हुने देखाएको छ। निर्वाचन परिणाम र आगामी राजनीतिबारे विश्लेषक सीके लालसँग अनलाइनखबरकर्मी सन्त गाहा मगरले गरेको संवादः
मत परिणामको प्रारम्भिक रुझानलाई कसरी हेर्नु भएको छ ?
यो परिणाम अप्रत्यासित जस्तो लाग्दैन। हावा कता चलेको छ भन्ने त मिडियाले देखाइरहेकै थिए।
जुन उद्देश्यका लागि यो सरकार गठन भएको थियो, त्यसले निर्वाचन गरायो र अपेक्षित परिणामतिर उन्मुख छ। यसमा केही अस्वाभाविक छैन।
रास्वपाप्रतिको आकर्षणका कारणहरू के–के हुन सक्छन् ?
यो आकर्षण होइन, स्थापित दलहरूप्रतिको विकर्षण हो। किनभने, सन् २०१५ देखि नै लगभग सबै दल एउटै भएर गइसकेका थिए। त्यसमा रास्वपा पनि मिसिएको थियो, खासगरी रवि लामिछाने उपप्रधानमन्त्री भएपछि । तर उनी निष्काशित भइसकेपछि दुइटा धार देखियो- एउटा स्थापित शक्ति र अर्को अलि फरक।
फरकतिर आकर्षण छैन भन्ने कुरा त कम मत खसेको तथ्याङ्कले नै देखायो। तर खसेको मतमा पुरानाहरूप्रति विकर्षण कति धेरै छ भन्ने कुरा पनि देखियो नि त ?
यहाँले पुराना दलहरू भन्नुभयो । तर नेपाली कांग्रेसमा गगन थापाको नेतृत्व आइसकेपछि एउटा परिवर्तन भएको र एक किसिमको गति लेला भन्ने उहाँहरूको दाबी थियो। भदौ २३ र २४ मा जे भयो, त्यसलाई नेपाली कांग्रेसका नेताहरूले सुरुमै ‘हामीबाट गल्ती भयो, हामी सुधारेर जान्छौँ’ भनेका थिए। त्यति हुँदाहुँदै पनि त्यसको खासै प्रभाव परेको देखिएन नि ?
घरमा आगो लागिसकेपछि मबाट गल्ती भएको थियो भनेर त्यो गल्तीले घर त फर्किंदैन नि ! कांग्रेस रातारात समाप्त भएको होइन। सन् २०१५ देखि नै कांग्रेसले जुन बाटो समातेको थियो, त्यो बाटोको ड्राइभर कहिले सुशील कोइराला त कहिले शेरबहादुर देउवा भए पनि त्यसको सहचालक र सहयोगीमा त गगन थापाहरू पनि थिए नि ! त्यसैले त्यो पार्टीप्रतिको विकर्षण हुनु स्वाभाविक थियो।
रास्वपा सभापतिको लोकप्रियता २०७९ को चुनावमा भन्दा खस्किँदो थियो। काठमाडौँ महानगरका पूर्वमेयर बालेन्द्र शाहको प्रवेशकै कारणले यो लहर आएको भन्न खोज्नुभएको हो ?
बालेन्द्र शाहले मात्रै लहर ल्याएको भनेर एउटा व्यक्तिलाई त्यति ठूलो सिंहासनमा अहिले नराखिहालौँ। मुख्य कुरा के हो भने, रास्वपाले जुन उम्मेदवारहरू उठाएको थियो, तीमध्ये केही बाहेक सबै नयाँ अनुहार थिए। पुरानाहरूलाई यत्रो वर्ष हेरियो, यिनलाई पनि एकचोटी हेरौँ न त भन्ने किसिमको भाव देखियो। जसरी एकपटक माओवादीलाई पनि हेरौँ भन्ने भएको थियो।
किनभने, कांग्रेस र एमालेसँग विकर्षण बढेको थियो, अहिले माओवादीप्रति पनि विकर्षण छ। मैले यो कुरा दोहोर्याउनुपर्छ- रास्वपाको यो जनमत बालेन वा रवि कसैप्रतिको आकर्षण होइन, स्थापित दलहरूप्रतिको विकर्षण हो।
आकर्षण नै भइदिएको भए त खसेको मतको सङ्ख्या ६० प्रतिशत मात्रै किन हुन्थ्यो ? ७४–७५ प्रतिशत हुन्थ्यो नि ! त्यसलाई पो ‘इलेक्टोरल सुनामी’ वा चुनावको लहर आएको भन्छन् त । यो कुनै आकर्षणको लहर होइन, विकर्षणको लहर हो।
हामीले अघि नेपाली कांग्रेसको कुरा गर्यौँ। अब नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी (जो हिजोको माओवादी पनि हो) र अर्को नेपाल मजदुर किसान पार्टी, जनमोर्चा, राप्रपा जस्ता दलहरूका लागि यो निर्वाचनको सन्देश के हो ?
दलहरूका लागि के सन्देश हो भने, यो देशमा सन् २०१५ देखि जुन किसिमको राजनीति सुरु भयो, त्यसले परिवर्तनको सपना तुहाइदियो। पहिलो संविधानसभाले नेपाली समाजमा एउटा ठूलो परिवर्तनको सपना देखाएको थियो। तर त्यो सपनाको निर्मम हत्या जुन दलहरूले गरे (कोही पक्षमा रहेर, कोही विपक्षमा रहेर), तिनलाई जनताले दण्ड दिएका हुन्।
नेपालको चाहनालाई ठम्याउने किसिमको सङ्गठनको नयाँ स्वरूप र नेतृत्वमा नयाँ अनुहार ल्याउनु जरुरी छ। ४०, ३० वा २५ वर्षदेखि नेतृत्वमा उस्ता उस्तै अनुहार देखेपछि नयाँप्रति अलिकति आकर्षण त हुन्छ नि । सामान्य मतदाताको पुस्ता फेरिसक्यो, तर भोट माग्ने नेतृत्वमा उही पुरानो पुस्ता छ। इतिहासको ब्याज मात्रै खाएर सधैँ पाइँदैन नि !
यो राजनीतिमा प्रकट भए पनि यससँग सामाजिक–सांस्कृतिक सबै कुराहरू जोडिन्छन्। त्यो कोणबाट हेर्दा रास्वपाको यो उदयलाई कसरी लिन सकिएला?
त्यसमा चाहिँ दुर्भाग्यवश कुनै खासै परिवर्तन हुने सम्भावना आजको मितिसम्म देखिँदैन। किनभने, चार वटा एमालेमध्ये तीन वटा एमाले तल गएका छन्, एउटा एमाले माथि आएको छ।
त्यो भनेको निर्जातीय बहुसंख्यकवाद, खस–आर्य निर्जातीय राष्ट्रवाद हो। त्यसको वर्चस्वलाई रास्वपाले चुनौती दिँदैन किनभने रास्वपा पनि त्यही प्रचलनका आधारमा निर्वाचनमा आएको हो।
यहाँले अघि परिवर्तनको चाहनाले नयाँ पार्टीले मत पाएको कुरा गर्नुभएको थियो । रास्वपा त २०७९ को निर्वाचनमै आइसकेको पार्टी हो। त्यसभन्दा पछाडि आएका उज्यालो नेपाल पार्टी लगायतका पार्टीप्रति त आकर्षण देखिएन नि ?
चाहनाले मात्र हुँदैन। मतदाताको चाहना र मतपेटिकासम्मको यात्रामा तपाईंले विचार गर्नुभयो भने अरू धेरै अवयवहरूले काम गर्छन्। कसको प्रचारमा कति धेरै स्रोत (पैसा) प्रयोग भएको छ ? कस्तो किसिमको माहोल ? ‘यो जित्दै छ’ भन्ने माहोल बनाउनमा तपाईंहरू जस्तो मिडियाले कत्तिको मिहिनेत गरेको छ ?
कुलमानजी वा हर्क साम्पाङको कुन चाहिँ फेसबुक, ट्विटर वा इन्स्टाग्राममा रास्वपाले जस्तो खर्च गरेको थियो ? देखिने गरी वा नदेखिने गरी अथवा यो मूलधार भनिने खस–आर्यवादी मिडियामा कता हेर्नुभयो उहाँहरूको अनुहार ? तपाईंहरूले नै उहाँहरूलाई ‘स्पेस’ दिनुभएन।
त्यो मतदाताको चाहना र मतपेटिकासम्मको दूरी तय गर्न जुन किसिमका यात्रुवाहकहरू चाहिन्छन्, त्यो न कुलमान घिसिङसँग थियो न हर्क साम्पाङसँग।
यो जित्दै गरेको दल र नेतृत्वलाई केही भन्न चाहनुहुन्छ, यो गणना भइरहेको बेलामा ?
उहाँहरूलाई अहिले के भन्ने ? उहाँहरूलाई त अहिले उन्माद छ, स्याम्पेनको बोतल खोल्नुहोला, नाच्नुहोला। सिंहदरबार जल्दा त नाच्नुभएको थियो, अहिले नाच्न दिनुस् ! अहिले केही सल्लाह दियो भने उल्टो असर पर्छ।
यो मतपरिणामले के भनिरहेको हो ? अब नेपाली राजनीति कता जाने सङ्केत हो ?
कस्तो भने, यो देशमा अस्थिरता त्यति सजिलैसँग जाँदैन। किनभने, स्थिरताका नाममा यहाँ यति धेरै अत्याचार भएको छ । कहिले पञ्चायतका नाममा, कहिले सबै पार्टी मिलेर ! ‘स्थिरता’ को नाममा तर्साएर नेपाली मतदाताको मनस्थितिलाई यति धेरै गिजोलिएको छ कि स्थिरता र अस्थिरताबीचको द्वन्द्व कायमै रहन्छ।
अनुहार फेरिएको छ। मैले अघि नै भनेँ- चारवटा एमालेमध्ये अर्को एउटा एमाले तलबाट माथि आएको छ। त्योभन्दा धेरै फरक राजनीति आजको मितिसम्म देखिँदैन। भोलि फरक होस्, त्यो हामी प्रार्थना गरौँ।
जित्नेहरूलाई शुभकामना दिऊँ। पछाडि परेकाहरूलाई- राजनीतिमा हार भनेको हुँदैन, अगाडि र पछाडि पर्ने मात्रै हुन्छ। त्यसैले पछाडि पर्नेहरूले आफ्नो आत्मालोचना गर्नुस्, आत्ममन्थन गर्नुस्, कहाँ चुक भयो विचार गर्नुस् र त्यहीअनुसार सुध्रिनुस्।
प्रतिक्रिया 4