News Summary
Generated by OK AI. Editorially reviewed.- २०औं एसियाली खेलकुदको प्रवर्धनका लागि शनिबार \'एसियन गेम्स फन रन\' आयोजना हुँदैछ ।
- फन रनको रुट ललितपुर हेरिटेज सिटी हुँदै पाटन दरबार स्क्वायरमा पुगेर तीन किलोमिटर दूरीमा हुनेछ र यसले नेपालका सम्पदाको जानकारी दिनेछ ।
- २०औं एसियाली खेलकुद आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म जापानको आइची नागोयामा हुँदैछ र नेपालबाट ३२ खेलमा सहभागिता दर्ता भइसकेको छ ।
२९ फागुन, काठमाडौं । ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) को कार्यक्रमअन्तर्गत नेपाल ओलम्पिक कमिटी (एनओसी) को आयोजना गर्ने २०औं एसियाली खेलकुद ‘फन रन’ को तयारी पूरा भएको छ ।
एनओसीले शुक्रबार सातदोबाटोस्थित एनओसी भवनमा पत्रकार सम्मेलन गर्दै फागुन ३० गते हुने फन रनको तयारी पूरा भएको जानकारी दिएको हो ।
२०औं एसियाली खेलकुद हुन लागेकोमा खुशीयाली मनाउन र एसियाली खेलको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’ हुन लागेको हो ।
एसियाको सर्वाधिक ठूलो खेल मेला २० औं एसियाली खेलकुद आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म जापानमा हुँदैछ ।
एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले एसियाली खेलकुदको प्रमोसनका लागि फन रन आयोजना हुँदै आएको बताए । ‘यसको मुख्य उदेश्य गेमको प्रमोसन नै हो । २०औं एसियाली खेलकुद जापानको आइची नागोयामा हुँदैछ । त्यसैको प्रचार प्रसारको लागि गर्न लागिएको हो,’ श्रेष्ठले भने, ‘यसलाई समुदायसम्म पुर्याउन, स्वस्थ नागरिक, शान्ति, एकता र फ्रेण्डसिपका कुराहरुलाई पनि लैजाउँ भन्ने हो ।’

फन रन शनिबार बिहान ७:३० बजे एनओसी भवनको प्राङगणमा एक कार्यक्रमबिच सुरु हुनेछ । त्यसपछि बिएनबी हस्पिटल गेट, ग्वार्को चोक, प्रभात स्कुल, लुसुसि, कनिबहा चोक, ओकुबहा, थैना, चक्रबहि, हौग हुँदै पाटन दरबार स्क्वायर डबली, मङगलबजारमा पुगेर फन रन समापन हुनेछ ।
करीब तीन किलोमिटरको यस फन रन रुटमा सहभागीहरुले पाटनका सम्पदा क्षेत्रको अवलोकन गर्ने अवसर पनि मिल्ने एनओसीले जनाएको छ । यसले नेपालको सम्पदाको बारे पनि जानकारी हुने अध्यक्ष श्रेष्ठले बताए । ‘फन रन हुने स्थान ललितपुर हेरिटेज सिटी पनि हो । केन्द्रमा पाटन दरबार स्क्वायरमा गर्देछौँ । हेरिटेज सन्देश पनि जाओस र नेपालको पनि सन्देश जाओस् भनेर त्यहाँ गर्न लागेको हो ।’
यस्तै श्रेष्ठले एसियाली खेलकुदको क्यालेन्डरअनुसार नै फन रन रहेकोले त्यसलाई नेपालमा पनि गर्न लागेको बताए ।
ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) डिरेक्टर विनोद तिवारीले २०२६ को एसियन गेम्सका लागि विभिन्न देशहरुमा फन रन आयोजना भइसकेको र यसअघि २०२६ फेब्रुअरीमा कतारको दोहामा फन रन भएको उनले जानकारी दिए ।
नेपाले यसअघिका एसियाली खेलकुदअघि पनि फन रन आयोजना गरिसकेको र यस पटक पनि राम्रोसँग आयोजना हुने उनले बताए ।

नेपाल ओलम्पिक कमिटीका सचिव रामकृष्ण श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय एसियन गेम फन रन आयोजक समितिको गठन भएको छ । फन रनमा खेलाडी, प्रशिक्षक, ओलम्पियन, खेल संघसंस्थाका पदाधकारी, कुटनीतिक व्यक्तित्व, सुरक्षा निकायका प्रतिनिधि, विद्यार्थी र सञ्चारकर्मी र विधार्थी गरी करीब एक हजारभन्दा बढीको सहभागिता रहने एनओसीको अपेक्षा छ ।
सो फन रनमा ओलम्पिक काउन्सिल अफ एसियाका डेपुटी डिरेक्टर विनोदकुमार तिवारी, आइची नागोया एसियन गेम्सको आयोजक कमिटीका मिडिया विभाग र पिआर निर्देशक फुमिहितो कानाइजुका तथा सोही विभागका म्यानेजर मानामी ओकुमुराको विशेष उपस्थिति रहनेछ । उनीहरु शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पनि उपस्थित थिए ।
२० औं एसियाली खेलकुदमा सहभागिताका लागि नेपालबाट एनओसीमार्फत् ३२ खेल दर्ता भइसकेको छ । २० औं एसियाली खेलकुदमा कूल ४३ खेलअन्तर्गत ६८ विधाका ४६१ इभेन्ट्समा पदकका लागि प्रतिस्पर्धा हुनेछ । आइची नागोया एसियाडमा कूल ५३ प्रतियोगिता स्थल रहेका छन् । यस एसियन गेम्समा प्याडल र टेकबल गरी दुई खेल थप गरिएको एनओसीले जनाएको छ ।
तस्बीर: विकास श्रेष्ठ
प्रतिक्रिया 4