३० फागुन, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपाललाई समृद्ध बनाउन नेपालीहरूसँग पर्याप्त क्षमता भएपनि दृढ संकल्पको अभाव रहेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित गैरआवासीय नेपाली संघको १२ औँ एकता महाधिवेशनमा उनले देश बनाउने संकल्प भएमा छोटो समयमै नेपाललाई आर्थिक रूपमा समृद्ध बनाउन सकिने बताएका हुन् ।
नेपालीहरू बौद्धिक, आर्थिक, शारीरीक तथा मानसिक रूपमा देशलाई समृद्ध बनाउन सक्षम रहेको समेत उनले उल्लेख गरे ।
‘हामी नेपाललाई किन समृद्ध बनाउन सक्दैनौं ? म गैरआवसीय नेपाली मित्रहरुलाई भन्न चाहन्छु, हामी सरकारसँग गुनासो मात्रै गर्छौं, सबै राम्रो भएको भए तपाई हाम्रो के आवश्यकता पर्ने थियो र ? जुन बेलामा देश अफ्ठ्यारोमा छ, नियम कानुनहरु अफ्ठ्यारा छन्, त्यस्ता बेला तपाई हामी आएर नेपाल बनाउने अभियान अगाडी बढाउनुपर्छ । आज नेपालीहरु विदेशी लगानीको कुरा गर्छौं,’ उनले भने, ‘जबसम्म गैरआवासीय नेपालीका लगानी आउँदैनन् । नेपालभित्रै रहेका लगानीकर्ताहरुको लगानी राम्ररी अगाडी बढ्दैनन्, अरु विदेशी लगानीकर्ताको लगानी त्यतिकै लाउँदैनन् ।’
आगामी १० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र सजिलै बनाउन सकिने उनको भनाइ छ । नेपालभित्र र बाहिर रहेका नेपालीहरूको आर्थिक गतिविधिलाई जोड्ने हो भने अर्थतन्त्र अहिले नै करिव १०० बिलियन डलर पुग्न लागिसकेको नले बताए ।
हाल ८० लाख नेपालीहरु बाहिर रहेको र वार्षिक करिब २० अर्ब डलर रेमिट्यान्स नेपाल भित्रिने गरेको पनि उनले उल्लेख गरे र
‘हामीबीचमा एउटै कुराको अभाव छ, संकल्पको । त्यो संकल्प गरेमा छोटो समयमा नेपाललाई समृद्ध बनाउन सकिन्छ । २००३ मा ३० लाख नेपालीहरू बाहिर थिए, आज ८० लाख नेपाली बाहिर छन् । त्यो बेलामा ५ बिलियनको रेमिट्यान्सका कुरा गर्दा आज २० बिलियनका रेमिट्यान्सका कुरा गरिरहेका छौँ । देशको जिडिपी नेपालभित्र जति छ, त्यत्तिकै नेपाल बाहिर भएको छ । १० वर्षमा १०० बिलियनको ईकोनोमी बनाउने कुरा गरिरहेका छोँ, आजै यदी नेपाल बाहिर र भित्रको जोड्ने हो भने झन्डै १०० बिलियन पुग्न लागेका छौँ,’ उनले भने ।
प्रतिक्रिया 4