+
+
Shares

मोटरसाइकलको ट्यांकी बोकेर पेट्रोल भर्न आएपछि…

यो दृश्य अहिले सामाजिक सञ्जालमा हाँसो र जिज्ञासाको विषय बनेको छ । तर यसले एउटा गम्भीर सन्देश पनि दिइरहेको छ- हल्लाले कहिलेकाहीँ वास्तविक अभावभन्दा ठुलो असर पार्न सक्छ ।

प्रेमनारायण आचार्य प्रेमनारायण आचार्य
२०८२ चैत २ गते १७:१६

२ चैत, सन्धिखर्क । सामान्यतया पेट्रोल पम्पमा मोटरसाइकल वा गाडी लाइनमा उभिएर तेल हाल्ने गरिन्छ । तर अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा सोमबार एक युवक आफ्नो मोटरसाइकलको ट्यांकी नै हातमा बोकेर पेट्रोल भर्न आए । झट्ट हेर्दा नौलो र असामान्य जस्तो लाग्ने यो दृश्यको फोटो सामाजिक सञ्जालमा पुगेपछि भाइरल नै बन्यो ।

घटना सन्धिखर्क–१ शान्ति बगैँचा नजिक रहेको भुसाल पेट्रोल पम्पको हो । त्यहाँ एक युवकले बाइक होइन, बाइकको ट्यांकी मात्र लिएर पेट्रोल हाल्न आएका थिए । पम्पका कर्मचारीले त्यही ट्यांकीमा तेल हालिदिए । उपस्थित मानिसहरूका लागि यो दृश्य अनौठो थियो । कसैले जिज्ञासापूर्वक हेरे त, कसैले तस्वीर  खिचे ।

त्यसै क्रममा पेट्रोल पम्प पुगेका रुद्रमणि भुसालले त्यो क्षण क्यामेरामा कैद गरे । उनले फेसबुकमा फोटो राखेपछि केही घण्टामै उक्त तस्वीर सामाजिक सञ्जालमा व्यापक रूपमा फैलियो । कसैले हाँसोको विषय बनाए । कसैले यसलाई हल्ला र अभावको डरले मानिसहरूले देखाएको हतारको उदाहरणका रूपमा टिप्पणी गरे ।

पछिल्ला केही दिनदेखि मध्यपूर्वमा चर्किएको तनावका कारण अर्घाखाँचीमा पनि पेट्रोलियम पदार्थको अभाव हुनसक्ने हल्ला फैलिएको थियो । यही हल्लाका कारण धेरै मानिसले जर्किन, बोतल र विभिन्न भाँडामा तेल भरेर घरमा स्टक राख्न थालेका थिए ।

एक युवकले बाइक होइन, बाइकको ट्यांकी मात्र लिएर पेट्रोल हाल्न आएका थिए । पम्पका कर्मचारीले त्यही ट्यांकीमा तेल हालिदिए । उपस्थित मानिसहरूका लागि यो दृश्य अनौठो थियो ।

तर यस्तो अवस्था बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले हस्तक्षेप गर्‍यो । प्रशासनले पेट्रोल पम्पहरूलाई सवारी साधनबाहेक अन्य भाँडामा तेल नदिन निर्देशन जारी गर्‍यो । प्रशासनले घरमा जर्किन वा बोतलमा पेट्रोलियम पदार्थ भण्डारण गरेर राख्दा आगलागीको जोखिम बढ्ने मात्र नभई बजारमा अभाव सिर्जना पनि हुनसक्ने भन्दै त्यस्तो निर्देशन जारी गरेको थियो ।

प्रशासनको यो निर्देशनपछि सन्धिखर्कका पेट्रोल पम्पहरूले अन्य भाँडामा तेल भर्न रोक लगाए । त्यसैले पम्पमा तेल भर्न आएका ती युवाले पनि वैकल्पिक उपाय खोजे– बाइकको ट्यांकी नै निकालेर तेल भर्न जाने ।

ती युवा को हुन्, कहाँका हुन् भन्ने परिचय खुलिसकेको छैन ।

तर स्थानीयका अनुसार उनको मोटरसाइकल नजिकैको ग्यारेजमा मर्मत भइरहेको थियो । त्यही समयमा तेल हाल्न पाए सजिलो हुने र पछि तेल नपाउने हल्ला पनि सुनेपछि उनले ट्यांकी निकालेर पेट्रोल पम्पसम्म बोकेर ल्याएका थिए ।

पेट्रोल पम्पका कर्मचारीहरूका लागि भने यो घटना पूर्ण रूपमा नयाँ भने थिएन । उनीहरूका अनुसार केही दिनअघि पनि यस्तै गरी ट्यांकी बोकेर पेट्रोल भर्न आएका मानिस भेटिएका थिए । ‘यस्तो दृश्य पहिले पनि देखिएको हो तर आज भाइरल भयो,’ पम्पका एक कर्मचारीले भने ।

उता हल्ला बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले सोमबार पेट्रोल पम्प तथा ग्यास बिक्रेता पसलहरूमा अनुगमन पनि गरेको छ । अनुगमन टोलीले बजारमा पेट्रोलियम पदार्थ र ग्यासको वास्तविक अभाव नभएको पाएको जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईका अनुसार बजारमा अभावभन्दा बढी हल्लाले समस्या सिर्जना गरेको देखिएको छ । उनका अनुसार अनावश्यक रूपमा भण्डारण नगर्न र नियमित रूपमा मात्र इन्धन प्रयोग गर्न प्रशासनले सबैलाई आग्रह गरेको छ ।

सन्धिखर्कको पेट्रोल पम्पमा देखिएको यो दृश्य अहिले सामाजिक सञ्जालमा हाँसो र जिज्ञासाको विषय बनेको छ । तर यसले एउटा गम्भीर सन्देश पनि दिइरहेको छ- हल्लाले कहिलेकाहीँ वास्तविक अभावभन्दा ठुलो असर पार्न सक्छ ।

हल्ला फैलिनु, मानिसहरू डराएर भण्डारण गर्न थाल्नु, अनि त्यसकै कारण बजारमा असहजता देखिनु यो चक्र नयाँ होइन । सन्धिखर्कमा बाइकको ट्यांकी बोकेर पेट्रोल भर्न पुगेका ती युवक त्यसै चक्रको एउटा सानो तर प्रतीकात्मक कथा बनेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?