+

एन्फासँग क्लबहरुको ७ बुँदे माग

२०८२ चैत  २ गते १३:१२ २०८२ चैत २ गते १३:१२
एन्फासँग क्लबहरुको ७ बुँदे माग

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शहीद स्मारक डिभिजन क्लबहरूले अखिल नेपाल फुटबल संघसँग ७ बुँदे माग राखेका छन् ।
  • क्लबहरूले विदेशी खेलाडीको वर्क परमिट प्रक्रियामा ‘वन डोर सिस्टम’ लागू गर्न र १४ क्लबको सहभागिता सुनिश्चित गर्न एन्फालाई अनुरोध गरेका छन् ।
  • क्लबहरूले एन्फाले लिग मिति एकतर्फी तोक्न नहुने र सहभागी क्लबहरूसँग सहमति गरेर मात्र निर्णय गर्नुपर्ने माग गर्दै धर्ना बसेका छन् ।

२ चैत, काठमाडौं । शहीद स्मारक डिभिजन क्लबहरुले अखिल नेपाल फुटबल संघ (एन्फा)सँग ७ बुँदे माग राखेका छन् ।

क्लबहरुले सोमबार बिहान पत्रकार सम्मेलन गर्दै विभिन्न ७ बुँदे माग गरेका हुन् ।

क्लबहरुले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा लिग सञ्चालन, ट्रान्सफर विन्डो, विदेशी खेलाडीको वर्क परमिट तथा सहभागी क्लबको संख्या लगायत विभिन्न ७ बुँदे माग अघि सारिएको हो ।

‘नेपाली फुटबल दिनानुदिन खस्कँदो अवस्थामा छ । दैनिक जसो एक न एक कमी कमजोरीका  कामहरू बाहिर आइरहेका छन् । यसले गर्दा संघ चलाउनेहरु असक्षम छन् भन्ने स्पष्ट पारेको छ, विज्ञप्तीमा उल्लेख छ, ‘आज एउटा निर्णय गर्ने, सम्झौता गर्ने भोलि कार्यान्वयन नगर्ने, आफ्नो खुशीले एकलौटी निर्णय गर्ने प्रवृतिप्रति हामी सरोकारवाला आजित भै सकेका छौँ ।’

क्लबहरूले गत कात्तिक १७ गते भएको सहमति कार्यान्वयन गर्न एन्फासँग माग गरेका छन् । यस्तै राष्ट्रिय लिग चलिरहेको अवस्थामा ट्रान्सफर विन्डो खुला नगरी खेलाडीलाई अर्काे क्लबमा सम्झौता गर्न नमिल्ने भन्दै सम्झौताअनुसार गर्न क्लबको माग छ ।

विदेशी खेलाडी अनुबन्ध गर्दा आवश्यक पर्ने वर्क परमिट प्रक्रियालाई सहज बनाउन ‘वन डोर सिस्टम’ लागू गर्न पनि क्लबहरूले आग्रह गरेका छन् । प्र्रतियोगिता नियमावली अनुसार सहिद स्मारक ए डिभिजन लिगमा १४ क्लबको सहभागिता सुनिश्चित गर्नुपर्ने पनि क्लबहरुको संयुक्त विज्ञप्तीमा उल्लेख छ । एन्फाले एकतर्फी रूपमा लिगको मिति तोक्न नहुने र सहभागी क्लबहरूसँग सहमति गरेर मात्रै निर्णय गर्नुपर्ने बताएका छन् । मागहरू तत्काल कार्यान्वयनको माग गर्दै क्लबहरु एन्फा मुख्यालयमा धर्ना बसेका छन् ।

यस्तो छ क्लबहरुले राखेको मागहरु

१, एन्फा  र ए डिभिजन क्लब  बिच लिगको सम्बन्ध मा मिति २०८२|०७|१७ गते भएको कार्य तालिका सहितको सहमति कार्यान्वयन गर्नु पर्ने ।

२, राष्ट्रिय लिग चालु रहि रहेको अबस्थामा TRANSFER WINDOW  खुल्ला नगरि कसरी अर्को क्लबमा खेलाडी सम्झौता गर्न सकिन्छ ? तसर्थ क्लब को सम्झौता अनुसार  कार्य गर्नु पर्ने ।

३, क्लबहरुले बिदेशी खेलाडी आबद्ध  गर्दा WORK PERMIT  लिनलाई  पर्याप्त समय आबश्यक पर्ने हुन्छ। राष्ट्रिय लिगमै पनि एन्फाले WORK PERMIT को लागि गर्ने सहजिकरण नगरेकोले अन्योलता सृजना भएकोले बिदेशी खेलाडीहरूको हकमा WINDOW OPEN गरि  एक द्वार  प्रणालीबाट WORK PERMIT लिने व्यवस्था अबिलम्ब गर्नु पर्ने ।

४, प्रतियोगिता नियमावली अनुसार सहिद स्मारक ए डिभिजन लिगको लागि १४ क्लबको सहभागी हुने भन्ने उल्लेख गरिएकोले लिगको बैधताको तथा कानुनी अड्चन आउन नदिन एन्फाले समयमै निर्णय गरि १४ वटा क्लबको सहभागिता सुनिश्चितता गर्नु पर्ने ।

५, मिति २०८२|११|२६ गते क्लबहरुले एन्फालाई बुझाएको ध्यानाकर्षण पत्र विपरीत एकलौटी तबरले सहभागी क्लबहरु संग  छलफल नै नगरि मनोमानि  तबरले लिग नगर्ने उद्देश्यका साथ लिगको मिति तय गरेकोमा उक्त निर्णय अबिलम्ब सच्चाइ  क्लबहरु सहमति अनुसार निर्णय गर्न  अनुरोध गर्दछौ ।

६, क्लबहरू  सगंको सहमति बमोजिम राष्ट्रिय लिग समाप्त भएको ३० दिन पश्यात ‘ ए’ डिभिजन लिगका लागि प्रारम्भिक छलफल सुरु गरि लिगको बारेमा निर्णय गर्ने सहमतिलाई कार्यान्वयन गर्नु पर्नेमा बिना  छलफल सहमति बेगर  राष्ट्रिय लिग चलिरहेको अबस्थामा लिगको मिति  तय भएकोमा गम्भीर  असहमति जनाउदै सहभागी क्लब तथा सम्झौता बमोजिम कार्य तालिका प्रकाशित गर्न अनुरोध गर्दछौ ।

७, लिग सम्बन्धि प्राविधिक तथा आर्थिक पक्ष सबै सुनिस्चीतता गरि क्लब सगं को सहमतिमा मात्र लिगको मिति तय गर्नु पर्ने ।

नेपाली फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय