News Summary
Generated by OK AI. Editorially reviewed.- सिरहाको गोलबजार नगरपालिका–५ निपानेका ५० दलित परिवारले दैनिक पानीका लागि अपमान र तिरस्कार भोग्नुपरेको छ।
- गोलबजार नगरपालिकाले ६ महिनाअघि बोरिङ जडान गरेको भए पनि सफा पानी अहिलेसम्म आएको छैन ।
७ चैत, सिरहा । ६० वर्ष पुग्दा पनि गंगादेवी रामका पाइला अझै थकित छैनन् । यद्यपि, उनको मन भने गलीसकेको छ । मन गल्नुको कारण पानीका लागि भोग्नुपर्ने दिनहुँको अपमान हो ।
बिहान झिसमिसेमै गंगादेवी रित्तो गाग्री काखमा च्यापेर निस्किँदा पानीले प्यास मेट्ने खुसीभन्दा बढी अपमानको डरले डेरा जमाइहाल्छ । उनी सधैँ नजिकको एक इँटा भट्टामा पानी भर्न जान्छिन् । त्यही उनले अपमान सही राख्नुपर्छ ।
‘कहिले पानी भर्नै दिँदैनन् । कहिले पालो कुरिरहेका बेला लखेट्छन्,’ गंगादेवी अनलाइनखबर दुखेसो पोखिन, ‘ कहिल्यै रित्ता भाँडाकुँडा पर हत्याइदिन्छन् ।’
गंगादेवीले सुनाएको यो अनुभव सिरहाको गोलबजार नगरपालिका–५ निपानेका ५० दलित परिवारको यो साझा कथा हो । यहाँका यी ५० दलित घरधुरीले पानीका लागि हरेक दिन यसै गरी अपमान र सास्ती भोग्नुपर्छ ।
देशमा व्यवस्था फेरियो, गाउँमा सरकार आयो । तर निपानेका दलित महिलाले हरेक दिन तिर्खा मेट्न सबेरै यस्तै अपमान बेहोर्नुपर्ने कथा फेरिएको छैन ।
यही बस्तीमा जुगेश्वरीदेवी रामले झन्डै जुनी बिताइसकिन । कपालले रंग फेरेर सेताम्मे भइसके । तर, उनले वर्षौअघि पानीका लागि भोग्दै आएको अपमान उस्तै छ ।
‘पहिला खेतको बोरिङबाट पानी ल्याउँथ्यौँ, कैयौँ दिन त पानी नहुँदा बालबालिका भोकै काममा गएका छन्,’ जुगेश्वरीको अनुभव छ,‘यहाँ पानीका दुःख कहिल्यै गएनन् ।’

नेताहरूप्रति निपाने बस्तीसँग अहिले गुनासो, गुनासोमा सीमित छैन, आक्रोशमा बदलिइसकेको छ । बहुदल आएपछि भएका हरेक चुनावमा नेताहरूले ‘पानी ल्याइदिने’ वाचा गरेरै भोट मागेका छन् । तर, त्यो पानी निपानेमा कहिल्यै आएन ।
गाउँको बिचमा ६ महिनाअघि गोलबजार नगरपालिकाले एउटा बोरिङ भने जडान गरिदिएको छ । तर, त्यो बोरिङमा सफा पानी अहिलेसम्म झरेको छैन । ‘कहिल्यै त्यो बोरिङ नै चल्दैन । चलिहालेछ भने फोहोर पानी फाल्छ,’ स्थानीय रामकुमारी महरा भन्छिन् ।
बोरिङ निर्माणको जिम्मा पाएका ठेकेदार कपिल साहले आफूले योजनाअनुसार नै मेसिन जडान गरेको बताउँछन् । ‘हामीले त जडान गरेकै हौँ, तर गाउँमा पानीको निकास नभएकाले धमिलो पानी आएको हुनसक्छ,’ उनले भने, ‘मर्मतका लागि प्राविधिक टोली पठाउने तयारी गरिरहेका छौँ । पानी निकासको बाटो खुल्यो भने पानी सफा हुन थाल्छ ।’

गोलबजार-५ का वडाध्यक्ष बालकृष्ण गौतमले निपानेको समस्याबारे जानकार रहेको बताए । ‘त्यहाँ पानीको समस्या छ । त्यही भएकाले हामीले बोरिङ जडान गरेका हौँ । केही समस्या देखिएको छ । त्यसको समाधान हुन्छ,’ उनले भने ।
यस्ता आश्वासन निपाने बस्तीका लागि नौला नरहेको स्थानीयवासी बताउँछन् । ‘यस्ता आश्वासन सधैँ आए–गए । हाम्रा समस्या हामीसँगै रहिरहे,’ स्थानीय दलित महिला जुगेश्वरी भन्छिन्, ‘हामीले त जीवनभर यही दुःख भोग्यौँ । अब छोरा नातिका पालमा सहज एक गाग्री पानी होस् भन्ने चाहना छ ।’
भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पनि पानी दिने आश्वासन माग्दै भोट माग्ने नेताहरू आएको उनी बताउँछिन् । ‘यसपालि पनि धारा दिन्छौँ, पानी दिन्छौँ भनेर भोट मागेका छन् । हेरौँ के गर्दा रैछन्,’ उनले भनिन् ।
निपानेको दलित बस्तीलाई दिनहुँ इँटा भट्टामा रहेको बोरिङको पानी लिन जाँदा भोग्नुपर्ने अपमान र तिरस्कारले राज्यलाई गिज्याइरहेको छ । देश चलाउने नेताहरूले विकासका स्वर्णिम सपना बाँडे पनि निपानेका दलित बस्तीका लागि तत्काल ससम्मान एक अम्खोरा पानीमार्फत मेटिने प्यास ठुलो बनेको छ ।
प्रतिक्रिया 4