News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा देव खनाललाई अम्पायरको निर्णयमा असन्तुष्टि जनाएको कारण एक खेलको प्रतिबन्ध लागेको छ।
- मधेश प्रदेशविरुद्धको खेलमा देवले आउट निर्णयको विरोध गर्दै मैदान छाड्दा क्यानले उनलाई २ डिमेरिट अंक दिएको छ।
- डिमेरिट अंक ४ पुग्दा निलम्बन हुने नियमअनुसार देवलाई प्रतिबन्ध लगाइएको र उनी सुदूरपश्चिम प्रदेशविरुद्धको खेल गुमाएका छन्।
१६ चैत, काठमाडौं । प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेटमा देव खनाललाई एक खेलको प्रतिबन्ध लागेको छ ।
अम्पायरको निर्णयमा असन्तुष्टि जनाएका देवलाई एक खेलको प्रतिबन्ध लागेको हो । पीएम कपअन्तर्गत शुक्रबार भएको मधेश प्रदेशविरुद्धको खेलमा देवले अम्पायरको निर्णयलाई असन्तुष्टि जनाउँदै विवाद गरेका थिए ।
आठौं ओभरको अन्तिम बलमा रुपेश सिंहको बलमा अपर कटको प्रयास गरेका देवलाई विकेटकिपरको क्याचपछि आउट दिइएको थियो । अम्पायरले आउट दिएपछि आपत्ति जनाएका देव केहीबेर मैदानमै रहे ।
बलले ब्याटमा नलागेको भन्दै उनले अम्पायरसमक्ष अपिल गर्दै केही मिनेटसम्म मैदानमै रहे । केहीबेरपछि मैदान छाड्ने क्रममा पनि उनले जवाफ फर्काइरहेका थिए ।

सोही विषयमा क्यानको आचारसंहिता उल्लंघन गरेको भन्दै देवलाई २ डिमेरिट अंक दिइएको हो । आचारसंहितामा डिमेरिट अंक ४ वा सोभन्दा बढी पुगेका निलम्बन हुने व्यवस्था छ ।
यसअघिको पनि डिमेरिट अंक रहेका कारण देवलाई एक खेलको प्रतिबन्ध लगाइएको स्रोतले जनाएको छ ।
प्रतिबन्धपछि उनले आज भइरहेको सुदूरपश्चिम प्रदेशविरुद्धको खेल गुमाएका छन् । आजको खेलमा लुम्बिनीको कप्तानी आकाश त्रिपाठीले गरिरहेका छन् ।
पीएम कपमा अम्पायरको निर्णयसम्बन्धी विषय सधैं चर्चामा रहँदै आएको छ ।
प्रतिक्रिया 4