News Summary
Generated by OK AI. Editorially reviewed.- रणवीर सिंह अभिनित 'धुरन्धर : द रिभेन्ज' ले प्रदर्शनको १३औँ दिन भारतमा ८९९ करोड रुपैयाँ नेट कमाइ पुर्याएको छ।
- 'धुरन्धर २' ले विश्वव्यापी बक्स अफिसमा १४३५ करोड भारु ग्रस कमाइ गरेको छ, जुन चीन बजार बाहेक कुनै हिन्दी फिल्मका लागि पहिलो हो।
- फिल्मले दोस्रो सप्ताहन्तमा भारतमा १७० करोड रुपैयाँ नेट कमाइ गर्दै सबैभन्दा ठूलो दोस्रो सप्ताहन्त कमाइको रेकर्ड बनाएको छ।
मुम्बई । दोस्रो सातामा प्रवेश गरिसकेको भए पनि ‘धुरन्धर : द रिभेन्ज’ सँग अझै केही सरप्राइज बाँकी रहेको देखिन्छ । प्रदर्शनको १३औँ दिन मंगलबार फिल्मको घरेलु कमाइ पुनः उकालो लागेको छ ।
विदेशमा पनि फिल्मले स्थिर प्रदर्शन कायम राख्दै विश्वव्यापी बक्स अफिसमा १४०० करोड भारुको आँकडा पार गरेको छ, जुन चीन बजार बाहेक कुनै पनि बलिउड फिल्मका लागि पहिलो उपलब्धि हो ।
आदित्य धर निर्देशित स्पाइ-थ्रिलर फिल्मले प्रदर्शनको पहिलो साता नै विश्वभर १००० करोड भारुको आँकडा पार गरिसकेको थियो । पहिलो सप्ताहन्तमै फिल्मले सबै बक्स अफिस रेकर्ड तोड्दै सुरुआती तीन दिनमै १०० करोड भारुभन्दा बढी नेट कमाइ दर्ता गर्यो । यही लय दोस्रो सातासम्म पनि कायम छ ।
दोस्रो सप्ताहन्तमा मात्रै फिल्मले भारतमा १७० करोड रुपैयाँ नेट कमाइ गर्दै भारतीय सिनेमाको इतिहासमै सबैभन्दा ठूलो दोस्रो सप्ताहन्त कमाइको रेकर्ड बनाएको छ । मंगलबार फिल्मले २७ करोड रुपैयाँ नेट कमायो, जुन सोमबारको तुलनामा झण्डै १० प्रतिशतले बढी हो । यससँगै रणवीर सिंह अभिनित यो फिल्मले भारतमा ८९९ करोड रुपैयाँ नेट (१०८५ करोड रुपैयाँ ग्रस) कमाइ पुर्याएको छ । बुधबार बिहानका शोसँगै फिल्मले ९०० करोड रुपैयाँको आँकडा पार गरेको छ ।
विदेशी बजारमा पनि फिल्मको प्रभाव उत्तिकै ठूलो देखिएको छ । सुरुआतमा नै ७ मिलियन डलरको ओपनिङ लिँदै पहिलो सप्ताहन्तमा २२ मिलियन डलरभन्दा बढी कमाइ गरेको थियो । बीचका दिनमा केही गिरावट आए पनि दोस्रो सप्ताहन्तमा फेरि गति समातेको छ ।
मंगलबार मात्रै ‘धुरन्धर २’ले विदेशमा करिब १ मिलियन डलर थप्दै कुल अन्तर्राष्ट्रिय कमाइ ३८.४ मिलियन डलर पुर्याएको छ । अहिले यो फिल्म उत्तर अमेरिका लगायत धेरै विदेशी बजारमा सबैभन्दा धेरै कमाउने भारतीय फिल्म बनेको छ, जहाँ यसले ‘बाहुबली २’को ९ वर्ष पुरानो रेकर्ड तोडेको छ ।
‘धुरन्धर २’को विश्वव्यापी कमाइ अहिले १४३५ करोड भारु (ग्रस) पुगेको छ । चीनमा रिलिज नभई कुनै पनि हिन्दी फिल्मले अहिलेसम्म यस्तो उपलब्धि हासिल गर्न सकेको थिएन । यसअघि आमिर खानको ‘दंगल’ले सन् २०१७ मा यो आँकडा पार गरेको थियो, तर त्यसमा चीन बजारबाट मात्रै करिब २३५ मिलियन डलर (झण्डै १३०० करोड रुपैयाँ) कमाइको ठूलो योगदान थियो ।
रणवीर सिंहसँगै ‘धुरन्धर २’मा आर माधवन, अर्जुन रामपाल, संजय दत्त, सारा अर्जुन र राकेश बेदी पनि पुनः देखिएका छन् । आदित्य धर निर्देशित यो स्पाइ थ्रिलर मार्च १९ मा रिलिज भएको हो ।
यसअघि ‘धुरन्धर’को पहिलो भागले विश्वभर १३०० करोड भारु कमाइ गरेको थियो र डिसेम्बरमा रिलिज भएयता तीन महिनासम्म हलमा प्रदर्शन जारी नै छ । यसको सिक्वेल भने २००० करोड रुपैयाँ पार गर्ने लक्ष्यसहित अघि बढिरहेको छ ।
प्रतिक्रिया 4