News Summary
Generated by OK AI. Editorially reviewed.- इरानी सिनेमा 'राहा'ले इरानी समाजको गरिबी, चोरी र आर्थिक सङ्कटलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ।
- सन् २०२५ मा प्रदर्शन भएको 'राहा' फिल्मले इरानमा बढ्दो चोरी, आर्थिक मन्दी र सामाजिक असन्तोषलाई देखाएको छ।
- 'राहा' फिल्म नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल २०२६ को उद्घाटन सत्रमा प्रदर्शन हुँदैछ।
इस्लामिक गणतन्त्रमा जानु अलि अगाडि इरानी समाज एउटा गतिशील समाज थियो। सन् १९५३ मा निर्वाचित सरकारलाई अमेरिका र बेलायती गुप्तचर एजेन्सीहरूले सैन्य ‘कु’ गराएर हटाए। रेजा पहेल्वीको शाही शासन सुरु भयो। खनिज तेलमाथि अमेरिकी नियन्त्रण भयो।
इरानको डेमोक्रेटिक स्पेस पनि कमजोर बन्यो न आर्थिक गतिशीलता बढ्यो। यो असन्तोषलाई प्रयोग गरेर कट्टरपन्थीहरूले जनविद्रोहमार्फत सत्ता कब्जा गरे। धर्मगुरुहरूको शासन सुरु भयो। सन् १९७९ देखि नै इरानमाथि युरो-अमेरिकी नाकाबन्दी जारी छ। इजरायलीहरूको उक्साहटमा अनेकखाले युद्ध पनि थोपरिएको छ।
पश्चिम एशियामा नियन्त्रणका लागि इरान, इजरायल र टर्कीका बीच पुर्ख्यौली सङ्घर्ष पनि जारी छ। नाकाबन्दीका कारण आर्थिक वृद्धि रोकिएको छ। भएको स्रोत युद्धकै तयारीमा खर्च हुन्छ। यस्तो अवस्थामा इरानी समाजको ३५ प्रतिशतभन्दा बढी जनसङ्ख्या गरिबीको रेखामुनि धकेलिएको छ र अर्को ठूलो हिस्सा निम्न मध्यमवर्ग।
गरिबीले लखतरान परेपछि एउटा परिवारले के–के व्यहोर्छ? कलेज पढ्ने छोरीको आवश्यकता पूरा गर्न नसक्ने बाउको मनोदशा कस्तो हुन्छ? परिवारका सदस्यहरू साना–साना खुसी सम्हालेर हाँस्न र विशाल दुःख झेल्न कसरी सक्षम हुन्छन्? चोरी, ठगी आदि गर्न समाजले कसरी बाध्य पार्छ? देशको अर्थतन्त्र कमजोर हुँदै गएर डलरको तुलनामा आफ्नो पैसाको भाउ घटेका बेला एउटा सामान्य विद्यार्थीलाई कसरी असर पार्छ?
एउटा ल्यापटप जोहो गर्ने क्रममा परिवार कसरी तहसनहस हुन्छ भन्ने कथा हो, इरानी सिनेमा ‘राहा’ (मेरी छोरीको कपाल)। ‘मेरी छोरीको कपाल’ कथालाई आधार बनाएर हसम फराहमन्दले निर्देशन गरेको सन् २०२५ मा प्रदर्शनमा आएको इरानी सिनेमा राहा अनेकौँ फेस्टिभलमा छनोट हुँदै नेपालसम्म आइपुगेको छ।
इरानी सिनेमा आफ्नो शैली र सन्देशका लागि विश्वप्रसिद्ध छन्। सरकारको कडा सेन्सरसिपका बीच इरानी सिनेकर्मीहरूको एउटा हिस्सा निरन्तर विश्वलाई अर्थपूर्ण सिनेमाहरू दिइरहेको छ। तिनका दुःख, सङ्घर्ष र उपलब्धिका कथाबारे यसै साता यज्ञशले शिलापत्रमा लामो समीक्षा लेखेका छन्। त्यस्तैमध्येका एक जना निर्देशक हुन् सएद हसम फराहमन्द र उनको राहा फिल्म।
सिनेमा एउटा निम्नमध्यम वर्गीय परिवारको सानो अपार्टमेन्टमा सुरु हुन्छ। कुनै समय रेलको चालक रहेको बाउ आफ्नै छोरीसरहकी युवतीले आफैँले चलाइरहेको रेलको चक्कामुनि घुसेर आत्महत्या गरेको दृश्यले आघात परेपछि मानसिक रूपमा कमजोर बन्छ र जागिर छाड्छ। अरू कुनै पेसामा अडिएर काम गर्न सक्दैन। ऊ पुराना विद्युतीय सामान रिपेयर गरेर काम चलाउन सिक्छ तर त्यसमा खासै सफलता हासिल गर्दैन। छोरो बेरोजगार छ। छोरी पढ्दै छे। इरानमा चोरी यति बढेको छ कि पार्कतिर कतै बसेको बेला या सहरमा यसै हिँडेको बेला तपाईँको सामान कसैले चोरिदिन सक्छ।
मुद्रास्फीतिको दर उच्च छ र मानिसहरूलाई साना–साना सामान पनि ओरिजिनल पसलबाट किन्न मुस्किल छ। छोरी राहाको ल्यापटप पनि यस्तै समयमा चोरी हुन्छ। उसलाई कलेजको प्रोजेक्ट वर्क गर्नु छ। ल्यापटप नभई भएको छैन। चोरीको खबर पुलिसकहाँ पुग्छ। एक दिन बाबु–छोरी पुलिसकहाँ आफ्नो हराएको ल्यापटप आइपुगेको छ कि भनेर जान्छन्। त्यहाँ पचासौँ त्यस्ता ल्यापटप छन् तर राहाको चाहिँ भेटिन्न।
‘एउटा लिएर हिँड कसैले केही भन्दैन, तेरो ल्यापटप पनि कसैले लग्यो होला,’ सहजै भनिदिन्छन् बाउ। छोरी आफ्नो बाउको नैतिक स्खलनबाट अवाक् बन्छे। कतै पनि सिधै इरानमा चोरी बढेको छ भन्ने संवाद छैन, तर सडकमा सेकेन्ड ह्यान्ड सामान बेच्ने पसल र पुलिसको एउटा कार्यालयको दृश्यले भयावह चोरी, ठगी र लुटपाट, महँगिँदो डलरले अर्थतन्त्रमा पारेको प्रभाव र परिवारहरूका सङ्कटतिर सङ्केत गर्छन्।
बाबु कुनै पेसामा टिक्न सक्दैन। आमा चाहिँ आफ्नो पतिका दुःखमा साथ दिनुभन्दा गाली गर्न र उसलाई हतोत्साही बनाउनमा लाग्छे। छोराछोरी आफ्ना आवश्यकता र परिवारको गरिबीका बीच पिसिएर हुर्किरहेका छन्। बाबुलाई आमाले लगाइरहेका बचनबाट छोराछोरी दुवै बाबुप्रति झुकाव राख्छन्। उक्त पुस्ताको अवचेतनमा विद्रोह र असन्तोषको झिल्को सल्किरहेको छ।
ल्यापटपका लागि राहाले आफ्नो सुन्दर र लामो कपाल बिक्री गर्छे आफ्नै साथी मिनालाई। राहाले मन पराएको केटोले उसको परिवारको गरिबीकै कारण राहाका ठाउँमा मिनालाई रोजेको हुन्छ। मिना राहाको कपाल गाँसेर राहाको पूर्वप्रेमीसँग बिहे गर्ने तरखरमा छे। ऊ पैसावाला परिवारकी सदस्य हो।
यसैबीच सेकेन्ड ह्यान्ड पसलबाट ल्याइएको ल्यापटपमा उक्त ल्यापटप हराउनु (चोरी हुनु) भन्दा पहिले चलाउने गरेकी केटीका अनेक नग्न तस्बिर र पार्टीहरूमा सहभागिताको दृश्य भएका फोटाहरू हुन्छन्। यसलाई विस्तारमा केही भनिन्न तर इरानी समाजमा इस्लामिक प्रहरीको प्रयोग र कडा दमनका बाबजुद गोप्य रूपमा इरानी युवायुवतीहरू मनोरञ्जनका अनेक विकल्पहरूको प्रयोग गरिरहन्छन्, ड्रग उपयोग बढ्दै छ भन्ने सन्देश दिन्छ सिनेमाले।
राहा आफ्नो प्रोजेक्ट वर्क यही ल्यापटपमा गर्दै छे। इरानी पैसाको भाउ कति घटेको छ भने नयाँ एप्पलको ल्यापटपलाई सात करोड पर्छ र सेकेन्ड ह्यान्ड पसलबाट राहाको बाबुले यो ल्यापटप कपाल बेचेको पैसा प्रयोग गरेर डेढ करोडमा ल्याएको छ। यो ल्यापटप हराएकी केटी अस्पतालमा बेहोस अवस्थामा छे। उसको दाजु प्रहरी लिएर राहाकहाँ आइपुग्छ, परिवारको अपमान गर्छ र ल्यापटप लिएर जान्छ।
यो ल्यापटपमा भएका आफ्ना डकुमेन्टहरू ल्याउँछु भनेर प्रयास गरिरहेको समयमा लिफ्टबाट घरमा प्रवेश गर्न खोज्दा लिफ्टमै अड्केर (लिफ्ट बिग्रिरहन्छ) निस्सासिएर राहाको मृत्यु हुन्छ। उसको दाजु आफ्नो बाबुलाई बिग्रेको ल्यापटप बेच्नेलाई समात्छु भनेर दौडँदा गाडीको ठक्कर खाएर भाँचिएको खुट्टा लिएर बाँचेको छ र ल्यापटपका लागि अर्की एक जना केटीलाई ठग्न पुगेको छ।
राहाको मृत्यु भएको केही दिनमा मिना आफ्ना केही सामान राहाका कोठामा छुटेका छन् भन्दै लिन आइपुग्छे। मिना राहाले प्रयोग गर्ने कोठामा जान्छे जहाँ राहा र ऊ पहिले सँगै पढ्ने, बस्ने गर्थे। त्यही बेला राहाको बाबुले मूल ढोका लगाउँछ। मिना कोठाबाट बाहिर निस्केपछि उसँग आफ्नी छोरीको कपाल फिर्ता माग्छ। मिनाले प्रतिरोध त गर्छे तर विवश भएर कपाल काटेर दिन्छे। कथाको अन्त्यमा बाबु मरिसकेकी छोरीको काटिएको चुल्ठो खेलाएर सुतिरहेको देखिन्छ।
सन् २०२५ को सुरुतिर राहा सिनेमा प्रदर्शनमा आयो। त्यसको वर्ष दिन नपुग्दै इरानमा आममानिसहरू सरकारका विरुद्ध प्रदर्शनमा निस्के। विशाल प्रदर्शन र उग्र दमनको शृङ्खला चल्यो। सयौँ मानिसहरू गोलीको सिकार भए। त्यो प्रदर्शनका कारणहरू यो राहा सिनेमा हेर्दा अनुभव गर्न सकिन्छ। समाज घनघोर अर्थराजनीतिक र नैतिक सङ्कटमा फसेको छ। यस्तो समाज जहाँ आममान्छे विवशतामा अपराध गरिरहेको छ, समाजले त्यसलाई रोजमर्राको दैनिकी मानेर चलिरहेको छ। सबै विवश छन्।
यतिबेला इजरायल र अमेरिकाले इरानमाथि युद्ध थोपरिरहेका छन्। आमइरानीहरू तीनवटा दुःख एकैपटक सामना गरिरहेका छन्। गरिबी छ, इस्लामिक सत्ताको दमन छ र युद्ध छ।
समाजभित्र पाकिरहेको असन्तोष र विद्रोहका कारणहरूलाई सूक्ष्म र कलात्मक तरिकाले निर्देशकले सिनेमामा उतारेका छन्।
नेपाली सिनेमाका दर्शकहरू र यहाँको समाज विश्लेषण गरिरहेका समाजशास्त्रीहरूसहित अर्थपूर्ण सिनेमा बनाउन चाहनेहरूका लागि यो सिनेमा एउटा पाठ बन्न सक्छ।
सिनेमाः राहा
निर्देशकः हसम फराहमन्द
भाषाः फारसी (इरानी) अङ्ग्रेजी सबटाइटलसहित
निर्माणः २०२५
कलाकारहरूः शाहाव हुसैनी, गजल शाकेरी
(राहा ‘RAHA’ आगामी सोमबारदेखि काठमाडौँमा आयोजना हुन लागेको नवौँ नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल २०२६ को उद्घाटन सत्रमा देखाइँदै छ।)
प्रतिक्रिया 4