News Summary
Generated by OK AI. Editorially reviewed.- हिमालयन जाभा नेसनल बास्केटबल लिग २०२६ मा आर्मी क्लब र गोल्डेनगेट क्लबले लिग चरणको अन्तिम खेलमा जित हासिल गरेका छन् ।
- आर्मीले १४ मध्ये १३ खेल जितेर २७ अंकसहित शीर्ष स्थान हासिल गरेको छ भने गोल्डेनगेटले १२ जित र २६ अंकसहित दोस्रो स्थानमा रह्यो ।
- पहिलो क्वालिफायर खेल मंगलबार आर्मी र गोल्डेनगेटबीच हुनेछ भने टाइम्स र हाउण्ड्सबीच एलिमिनेटर खेल हुनेछ ।
२३ चैत, काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ अन्तर्गत सोमबार भएको लिग चरणको अन्तिम दुई खेलमा त्रिभुवन आर्मी क्लब र गोल्डेनगेट बास्केटबल क्लब विजयी भएका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा आर्मीले केभिसी हाउण्ड्स र गोल्डेनगेटले टाइम्स बास्केटबल क्लबलाई पराजित गरेका हुन् ।
आर्मी र गोल्डेनगेटले जितसहित पहिलो क्वालिफायर खेल्ने पक्का भएको छ ।
आर्मीले लिग चरणमा १४ मध्ये १३ खेल जित्दै २७ अंक जोडेर शीर्ष स्थानमा रहेको हो ।
डबल राउण्ड रोविनका आधारमा भएको लिगमा आर्मी पहिलो चरणमा टाइम्ससँग मात्र पराजित भएको थियो ।
यस्तै गोल्डेनगेटले १४ मध्ये १२ खेल जित्दै २६ अंक जोडेर दोस्रो भयो । अन्तिम खेलमा पराजित टाइम्सले १० जित र ४ हारबाट २४ अंक जोडेर तेस्रो स्थानमा रह्यो । हाउण्ड्सले ९ जित र ५ हारबाट २३ अंक जोडेर चौथो स्थानमा टुङ्ग्यायो ।
अब पहिलो क्वालिफायरमा आर्मी र गोल्डेनगेटबीच प्रतिस्पर्धा हुनेछ र विजेता फाइनल पुग्नेछ । पराजित हुने टोलीले भने अर्को मौका पाउनेछन् । टाइम्स र हाउण्ड्सले दोस्रो क्वालिफायरमा स्थान बनाउन एलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछ । यस खेलमा पराजित हुने टोली बाहिरिनेछ ।
सोमबारको दुवै खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक रहे । पहिलो खेलमा आर्मीले केभीसी हाउन्ड्सलाई १०३–९९ ले पराजित गर्यो ।
खेलमा आर्मी र हाउण्ड्स दुवैले समान दुई क्वाटर आफ्नो पक्षमा पारेको थियो । पहिलो क्वाटरमा हाउण्ड्सले २५-१८ को अग्रता लिएको थियो । तर दोस्रो क्वाटरमा आर्मीले पुनरागमन गर्दै २९-१५ ले आफ्नो पक्षमा पार्दै हाफटाइमसम्म ४७-४० को अग्रता बनाएको थियो । तेस्रो क्वाटर हाउण्ड्सले ३२-२५ ले आफ्नो पक्षमा पारेपछि चौथो क्वाटरअघि हाउण्ड्सले ७२-७२ को बराबरी गरेको थियो ।
तर चौथो तथा निर्णायक क्वाटरमा आर्मीले ३१-२७ को अग्रता बनाउँदै रोमाञ्चक जित हात पारेको हो ।
आर्मीका निश्चल महर्जनले २२ अंक जोडे । उनी म्यान अफ दि म्याच घोषित भए ।
यस्तै सोमबारको दोस्रो खेलमा गोल्डनगेटले टाइम्सलाई ९७-९५ ले हरायो ।
निकै प्रतिस्पर्धातम्क खेलमा गोल्डेनगेटले टाइम्सलाई ओभरटाइममा पराजित गरेको हो । निर्धारित चार क्वाटरमा ८९-८९ अंक जोडेपछि लिगमा पहिलो पटक ओभरटाइमबाट विजेता टुङ्गो लागेको हो ।
ओभरमा गोल्डेनगेटले ८-६ को अग्रता बनाउँदै जित हात पारेको हो ।
त्यसअघि टाइम्सले पहिलो क्वाटर २३-१४ र दोस्रो क्वाटर २२-१४ ले आफ्नो पक्षमा पार्दै हाफटाइमसम्म ४५-२८ को अग्रता बनाइसकेको थियो । तेस्रो क्वाटरमा दुवैले समान ३१-३१ अंक जोडेपछि टाइम्सले चौथो क्वाटरअघिसम्म ७६-५९ ले अघि थियो ।
तर चौथो क्वाटरमा गोल्डेनगेटले सानदार पुनरागमन गर्दै ३०-१३ ले आफ्नो पक्षमा पार्दै खेल ओभरटाइसम्म पुर्याएको थियो ।
गोल्डेनगेटका विकास गुरुङ म्यान अफ दि म्याच घोषित भए । गोल्डेनगेटका जाइन खानले सर्वाधिक २९ अंक जोडे ।
नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भईरहेको एचजेएनबीएको प्लेअफका खेलहरु मंगलबारदेखि सुरु हुनेछ ।
मंगलबार पहिलो क्वालिफाय र एलिमिनेटर खेल हुनेछन । क्वालिफायरमा आर्मी र गोल्डेनगेटबीच खेल हुनेछ भने टाइम्स र हाउण्ड्सबीच एलिमिनेटर खेल हुनेछ ।
कीर्तिपुर,रोएल, प्लेक्स एरेना र सोलो बास्केटबल बटम चार रहँदै प्लेअफ होडबाट बाहिरिएका छन् । चारै टोली रेलिगेट भएका छन् भने अर्को संस्करणका लागि क्वालिफायर खेल्नुपर्ने छ ।
प्रतियोगिताको विजेताले नगद ४ लाख प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख हात पार्नेछन् । यस्तै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै मोस्ट भ्यालुएबल प्लेअर (एमभिपी) घोषित हुनेलाई पनि आकर्षक पुरस्कार प्राप्त गर्ने नेबाले जनाएको छ ।
प्रतिक्रिया 4