News Summary
Generated by OK AI. Editorially reviewed.- एपीएफ क्लबले पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशलाई ५ रनले पराजित गरेको छ ।
- कोशीले २२६ रनको लक्ष्य पछ्याएकोमा ४९.५ ओभरमा २२० रनमा अलआउट भयो ।
- एपीएफले ८ खेलमा ९ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ भने कोशी पुछारमा छ ।
२७ चैत, काठमाडौं । पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले कोशी प्रदेशमाथि रोमाञ्चक जित हासिल गरेको छ । शुक्रबार जनकपुरमा भएको खेलमा एपीएफले कोशीलाई ५ रनले पराजित गरेको हो ।
एपीएफले दिएको २२६ रनको लक्ष्य पछ्याएको कोशी ४९.५ ओभरमा २२० रनमा अलआउट भयो । ओपनरद्वय सुमन श्रेष्ठ र अंकित सुवेदीले शतकीय साझेदारी बनाएर शानदार सुरुवात दिलाएपनि पर्याप्त भएन ।
अंकित ७२ तथा सुमन ६५ रनमा आउट भए । यी दुई मिलेर १२२ रनको प्रारम्भिक सााझेदारी गरेका थिए । रोहन साहले ३२ तथा आशिष मगरले १७ रन बनाए ।
३१औं ओभरमा १२८-२ को अवस्थामा भएपनि कोशीले त्यसपछि खेलमा नियन्त्रण गुमायो । अन्तिम २ ओभरमा १७ रन आवश्यक हुँदा कोशी २०९-७ को अवस्थामा थियो । त्यहाँबाट ११ रन जोड्दा बाँकी ३ विकेट गुमायो ।
एपीएफका अभिशेष गौतमले १० ओभरमा ४१ रन दिएर ४ विकेट लिए । कप्तान रोहित पौडेलले २ तथा भुवन कार्की र अमरसिंह राउटेलाले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले सन्दीप जोरा र सुमित महर्जनको अर्धशतक मद्दतमा ४७.५ ओभरमा अलआउट हुँदै २२५ रन बनाएको थियो । जोराले ७२ तथा सुमितले ५७ रन बनाए । अमरसिंह राउटेलाले २७ तथा कप्तान रोहित पौडेलले २० रन बनाए ।
कोशीका कप्तान सुजन थपलियाले ३ विकेट लिँदा बिपिन महतो र दिपेश कँडेलले २-२ तथा रोहन साहले १ विकेट लिए ।
प्रतियोगितामा एपीएफको यो चौथो जित हो र ८ खेलमा ९ अंकका साथ पाँचौं स्थानमा उक्लिएको छ । ८ खेलमा सातौं हार बेहोरेको कोशी १ अंकका साथ पुछारमा छ ।
प्रतिक्रिया 4