काठमाडौं ।नेप्लिज सोसाइटी अफ भास्कुलर एण्ड इन्टरभेन्सनल रेडियोलोजी (आईआर) को नयाँ नेतृत्व चयन भएको छ ।
हालै अनलाइन माध्यमबाट सम्पन्न निर्वाचनले डा. अजित थापालाई अध्यक्ष चयन गरेको छ । उपाध्यक्षमा डा.मनिष किरण श्रेष्ठलाई निर्वाचित गर्दा डा. मनिष थापालाई महासचिवको जिम्मेवारी प्रदान गरिएको छ ।
त्यस्तै, कोषाध्यक्षमा डा. सन्तोष जोशी, सहसचिवमा डा. प्रदेश घिमिरे, सदस्यहरुमा डा. श्रृष्टि श्रेष्ठ र डा. काजन रानाभाट चयन हुँदा प्रेसिडेन्ट इलेक्ट डा. अमृत कोइराला र पूर्व अध्यक्ष प्रा.डा. रामकुमार घिमिरे कार्यसमितिमा समेटिएका छन्।
आईआर किन महत्वपूर्ण ?
आईआर आधुनिक उपचार पद्धति हो, जसमा ठूलो शल्यक्रियाबिना सानो सुई वा क्याथेटरमार्फत जटिल रोगको उपचार गरिन्छ । पछिल्ला वर्षहरूमा नेपालमा यो पद्धति लोकप्रिय बन्दै गएको छ ।
देशका प्रमुख सरकारी तथा सुरक्षा निकायका अस्पतालमा कार्यरत विशेषज्ञहरू नेतृत्वमा आएकाले देशभर आईआर सेवाको पहुँच विस्तार, नयाँ चिकित्सकलाई तालिम, र प्रविधि हस्तान्तरणमा थप प्रभावकारी काम हुने अपेक्षा गरिएको छ ।
नवनिर्वाचित महासचिव तथा इन्टरभेन्सनल रेडियोलोजीस्ट डा. मनिष थापाका अनुसार नयाँ कार्यसमितिको प्राथमिकता आईआर सेवा देशभर विस्तार, मिनिमली इन्भेसिभ उपचारबारे जनचेतना अभिवृद्धि, र नयाँ पुस्ताका चिकित्सकलाई दक्ष बनाउने हुनेछ ।

प्रतिक्रिया 4