News Summary
Generated by OK AI. Editorially reviewed.- वेब-सिरिज ‘साहु बा’को ट्रेलर सार्वजनिक भएको छ जसले क्राइम, एक्सन र रिभेन्जमा केन्द्रित कथावस्तु प्रस्तुत गर्छ।
- ‘साहु बा’मा ३८० भन्दा बढी कलाकारले अभिनय गरेका छन् र निर्माणमा तीन वर्ष खर्चिएको छ भने यो नेपाली डिजिटल जगतकै महत्वाकांक्षी काम हो।
- ट्रेलरमा एक्सन दृश्य, प्रहरी अनुसन्धान प्रक्रिया र सत्ता संघर्षलाई देखाइएको छ जसले दर्शकमा उत्साह र कौतुहलता जगाएको छ।
काठमाडौं । वेब-सिरिज ‘साहु बा’को ट्रेलर सार्वजनिक भएको छ । म्युजिक नेपाल र फ्रेम इन मोसनको संयुक्त प्रस्तुतिमा तयार भएको यो सिरिजको ट्रेलरले दर्शकमाझ उत्साह जगाउने देखिन्छ ।
ट्रेलरले सिरिजको कथावस्तु ‘क्राइम, एक्सन र रिभेन्ज’ (बदला) मा केन्द्रित रहेको प्रष्ट पार्छ ।
सिरिजको मुख्य पात्र विजु पार्की रहेको ट्रेलरको सुरुवात र बीचमा देखाइएको सेतो कागजको जहाजले दर्शकमा कौतुहलता जगाउँछ । यो कुनै पात्रको बाल्यकालको स्मृति वा कसैलाई दिइने बदलाको संकेत हुन सक्छ ।
ट्रेलरमा एक्सन दृश्य, प्रहरी अनुसन्धानको प्रक्रिया र पात्रबीचको द्वन्द्वलाई देखाइएको छ । बदलाको आगोमा जलिरहेको युवकको संघर्ष र उसले सामना गर्नुपर्ने आपराधिक सञ्जाललाई ट्रेलरमा मुख्य स्थान दिइएको छ ।
नेपाली वेब-सिरिज प्रायः संवाद केन्द्रित हुने गरेकोमा ‘साहु बा’ ले एक्सनलाई प्राथमिकता दिएको देखिन्छ । ट्रेलरमा देखाइएका सडकका दृश्य, गुडिरहेको गाडीमाथिको स्टन्ट र गोदामभित्रका ‘कोरियोग्राफ्ड’ लडाइँका दृश्य मेहनतका साथ खिचिएका छन् ।
ट्रेलरको अन्त्यमा देखाइएको भव्य रातो कुर्सीले ‘साहु बा’को सत्ता वा शक्तिको संघर्षलाई संकेत गर्छ । यो कुर्सीको मालिक को हो र त्यहाँ पुग्न कति रगत बग्छ भन्ने कुरा नै सिरिजको मुख्य क्लाइमेक्स हुन सक्छ ।
निर्देशक एवं लेखक सुजोय योङका अनुसार यो सिरिज कुनै सामान्य प्रोजेक्ट मात्र नभई नेपाली डिजिटल जगतकै एक महत्वाकांक्षी काम हो । यसमा ३८० भन्दा बढी कलाकारले अभिनय गरेका छन्, जुन नेपाली वेब-सिरिजको इतिहासमा ठूलो संख्या हो ।
२४ एपिसोडको यो सिरिजलाई पूर्ण रूप दिन निर्माण टोलीले करिब तीन वर्ष खर्चिएको छ ।
प्रतिक्रिया 4