उच्च अदालत पाटनले ललितपुरस्थित किस्ट मेडिकल कलेजमा कार्यरत डा. एकानन्द सिंहलाई सह–प्राध्यापक पदमा प्रमाणिकरण गर्न आदेश जारी गरेको छ । चिकित्सा शास्त्र अध्ययन संस्थान(आईओएम) तथा डीन कार्यालयको निर्णय बदर गर्दै डा. एकानन्द सिंहलाई सह–प्राध्यापक पदमा प्रमाणीकरण गर्न परमादेश जारी भएको हो ।
संयुक्त इजलासका न्यायाधीशद्वय सोमकान्त मैनाली र नेत्रप्रकाश आचार्यले अन्तर्वार्तामा प्राप्त अंकका आधारमा गरिएको मूल्यांकन कानूनसम्मत नभएको ठहर गरेका हुन् ।
त्रिभुवन विश्वविद्यालयको शिक्षक सिफारिस सम्बन्धी विनियम, २०७५ अनुसार डा. सिंहले अन्तर्वार्तामा प्राप्त गरेको अंक सह–प्राध्यापक पदमा प्रमाणीकरण हुन पर्याप्त रहेको आदेशमा भनिएको छ ।
अदालतले २०८२ जेठ ११ मा प्रकाशित नतिजा बदर गर्दै सोही मितिबाट लागू हुने गरी डा. सिंहलाई सह–प्राध्यापक पदमा प्रमाणीकरण गर्न आदेश दिएको हो ।
विवाद के थियो ?
आईओएमबाट सम्बन्धन प्राप्त किस्ट मेडिकल कलेजमा कार्यरत डा.सिंह कलेजो प्रत्यारोपण शल्यचिकित्सकको रूपमा कार्यरत छन् । डा. एकानन्द सिंहले सह–प्राध्यापक पदका लागि आवेदन दिएका थिए ।
सम्पूर्ण प्रक्रिया पूरा गरी अन्तर्वार्तामा सहभागी भएका उनले २५ पूर्णाङ्कमध्ये १० अंक ४० प्रतिशत प्राप्त गरेका थिए ।
त्रिभुवन विश्वविद्यालयको शिक्षक सिफारिस सम्बन्धी विनियम, २०७५ अनुसार ४० प्रतिशत अंक नै उत्तीर्ण मापदण्ड हो । तर आईओएमले आफ्नो आन्तरिक कार्यविधि २०८० को आधारमा ५० प्रतिशत अंक अनिवार्य रहेको भन्दै डा. सिंहलाई अनुतीर्ण घोषणा गरेको थियो।
अदालतले विश्वविद्यालयको प्रचलित विनियमको विपरीत हुने गरी आईओएमको आन्तरिक कार्यविधि बनाउन नमिल्ने ठहर गरेको छ ।
यो फैसला आईओएम अन्तर्गत चिकित्सा शिक्षाका प्राध्यापक तथा चिकित्सकहरूका लागि महत्वपूर्ण नजिर बन्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4