+
+
Shares

न्यून ब्याजदरले बढ्यो लघुवित्तको आम्दानी, सुध्रिएन खराब कर्जा

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २ गते १७:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वित्तीय प्रणालीमा घट्दो ब्याजदरले लघुवित्त वित्तीय संस्थाहरूको खुद नाफा २१.३२ प्रतिशतले बढेको छ।
  • लघुवित्त वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा २०८२ असार मसान्तसम्म ७०.४१ प्रतिशतले वृद्धि भई ४८ अर्ब ९५ करोड पुगेको छ।
  • २०८२ असार मसान्तमा लघुवित्त वित्तीय संस्थाहरूको कुल सम्पत्ति ८.०२ प्रतिशतले वृद्धि भई ५ खर्ब ३५ अर्ब ९ करोड पुगेको छ।

२ वैशाख, काठमाडौं । वित्तीय प्रणालीमा घट्दो ब्याजदरले लघुवित्त वित्तीय संस्थाहरूको आम्दानी बढेको छ । लघुवित्त वित्तीय संस्थाको असुली समस्यामा सुधार आएर नभई ब्याज खर्च घट्दा आम्दानी बढेको हो ।

बैंक तथा वित्तीय संस्थाबाट निश्चित सापटी लिइ ग्रामीण अर्थतन्त्रमा लगानी गर्ने लघुवित्तलाई ब्याजदर घट्दा फाइदा भयो । तर, ती संस्थाले लगानी गरेको कर्जा असुली नहुने समस्या भने झनै बढेको केन्द्रीय बैंकले जनाएको छ ।

गत आर्थिक वर्ष केन्द्रीय बैंकले सञ्चालनमा रहेका ५२ मध्ये ४० संस्थामा स्थलगत निरीक्षण गरेको छ । निरीक्षणमा लघुवित्त क्षेत्रको खराब कर्जा  औसत ९.५ प्रतिशत रहेको छ । यस्तो कर्जा चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा झनै बढेर ९.९९ प्रतिशत पुगेको बैंकले जनाएको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा समेत असुली समस्या झनै जटिल बन्दै गएको तथ्याङ्कले देखाउँछ ।

राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तसम्म लघुवित्त वित्तीय संस्थाहरूले कुल कर्जा नोक्सानी व्यवस्था वापत ३२ अर्ब ४१ करोड कायम राखेका छन् । यो रकम कुल कर्जाको ६.५९ प्रतिशत हो । २०८२ असार मसान्तमा लघुवित्त वित्तीय संस्थाहरूको औसत निष्क्रिय कर्जा अनुपात ९.९५ प्रतिशत रहेको छ ।

गत आर्थिक वर्ष २०८१/८२ मा लघुवित्त वित्तीय संस्थाहरूको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २१.३२ प्रतिशत बढेको केन्द्रीय बैंकले जनाएको छ । गत आवमा वित्तीय प्रणालीको ब्याजदर घटेपछि लघुवित्तहरूको खुद नाफा ५ अर्ब ५२ करोड पुगेको हो । २०८१/८२ मा लघुवित्त वित्तीय संस्थाहरूले बैंक तथा वित्तीय संस्थाहरूबाट लिने सापटी रकमको व्याजदर घटेका कारण समग्रमा संस्थाहरूको ब्याज  खर्चमा कमी आई खुद नाफा वृद्धि भएको देखिन्छ ।

२०८१/८२ मा लघुवित्तहरूको कुल ब्याज आम्दानी ६३ अर्ब ७ करोड, ब्याज खर्च ३१ अर्ब ५३ करोड र सञ्चालन आम्दानी ३९ अर्ब ८३ करोड रहेको छ । गत आवमा लघुवित्तहरूको कुल कर्जा सापटी अघिल्लो आवको तुलनामा ७.९५ प्रतिशतले वृद्धि भई ४ खर्ब ९१ अर्ब ८० करोड पुगेको छ । अघिल्लो आवमा कुल कर्जाको आकार ४ खर्ब ५५ अर्ब ५७ करोड थियो ।

त्यसैगरी, २०८२ असार मसान्तमा लघुवित्त वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा अघिल्लो वर्षको सोही अविधको तुलनामा ७०.४१ प्रतिशतले वृद्धि भई ४८ अर्ब ९५ करोड पुगेको छ । गत आवमा कुल कर्जा तथा सापटमा निष्क्रिय कर्जाको अनुपात ९.९५ प्रतिशत रहेको छ । निष्क्रिय कर्जाको अनुपात २०८१ असार मसान्तमा ६.३१ प्रतिशत रहेको थियो । यसले लघुवित्तको कर्जाको गुणस्तरमा ह्रास आएको देखिन्छ ।

२०८१ असार मसान्तमा लघुवित्त वित्तीय संस्थाहरूको कुल चुक्ता पुँजीे ३५ अर्ब ८४ करोड रहेकोमा २०८२ असार मसान्तमा आउँदा ७.२४ प्रतिशतले वृद्धि भई ३८ अर्ब ४३ करोड पुगेको छ । साथै, लघुवित्त वित्तीय संस्थाहरुको प्राथमिक पुँजी २०८१ असार मसान्तमा ५३ अर्ब १६ करोड रहेकोमा २०८२ असार मसान्तसम्म ७.२७ प्रतिशतले वृद्धि भई ५७ अर्ब ३ करोड पुगेको बैंकले जनाएको छ । त्यस्तै, लघुवित्त वित्तीय संस्थाहरूको कुल पूँजीकोष २०८१ असार मसान्तमा ५८ अर्ब ८९ करोड रहेकोमा २०८२ असार मसान्तमा ७.०३ प्रतिशतले वृद्धि भई ६३ अर्ब ३ करोड पुगेको छ ।

२०८१ असार मसान्तको तुलनामा २०८२ असार मसान्तमा जोखिम भारित सम्पत्ति ८.७२ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ । २०८२ असार मसान्तमा जोखिम भारित सम्पत्तिको आधारमा लघुवित्त वित्तीय संस्थाहरूको प्राथमिक पूँजी अनुपात १०.४३ प्रतिशत रहेको छ भने पूँजीकोष अनुपात ११.५३ प्रतिशत रहेको छ । २०८१ असार मसान्तमा यस्तो अनुपात क्रमशः १०.५७ तथा ११.७१ प्रतिशत रहेको थियो ।

२०८२ असार मसान्तसम्म लघुवित्त वित्तीय संस्थाहरूको कुल सम्पत्ति २०८१ असार मसान्तको तुलनामा ८.०२ प्रतिशतले वृद्धि भई ५ खर्ब ३५ अर्ब ९ करोड पुगेको छ । २०८२ असार मसान्तसम्म कुल सम्पत्तिमा जोखिम भारित सम्पत्तिको अनुपात १०२.१८ प्रतिशत रहेको छ जुन अघिल्लो आर्थिक वर्षमा १०१.५३ प्रतिशत रहेको थियो ।

२०८२ असार मसान्तमा लघुवित्त वित्तीय संस्थाहरूको जोखिम भारित सम्पत्ति २०८१ असार मसान्तको तुलनामा ८.७२ प्रतिशतले वृद्धि भई ५ खर्ब ४६ अर्ब ७८ करोड पुगेको बैंकले जनाएको छ । २०८१ असार मसान्तमा समग्र संस्थाहरूको जोखिम भारित सम्पत्ति अघिल्लो आर्थिक वर्षको तुलनामा ८.२० प्रतिशतले बढी ५ खर्ब २ अर्ब ९१ करोड थियो ।

२०८२ असार मसान्तमा लघुवित्त वित्तीय संस्थाहरूले कर्जामा प्राप्त गर्ने भारित औसत ब्याजदर १४.३३ प्रतिशत रहेको देखिन्छ भने सो अवधिमा संस्थाहरूको कोषको लागत ७.१४ प्रतिशत रहेको देखिन्छ । जस अनुसार लघुवित्त वित्तीय संस्थाहरूको भारित औसत ब्याजदर अन्तर ७.१९ प्रतिशत देखिन्छ ।

२०८२ असार मसान्तमा लघुवित्त वित्तीय संस्थाहरूको बचत १ खर्ब ९९ अर्ब ९४ करोड र सापटी २ खर्ब ३९ अर्ब ४८ करोड रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएको छ । लघुवित्त वित्तीय संस्थाहरूको वित्तीय स्रोत सङ्कलन अनुपात २०८१ असार मसान्तमा प्राथमिक पूँजीको ७.६७ गुणा रहेकोमा २०८२ असार मसान्तमा सो अनुपात ७.६५ गुणा रहेको केन्द्रीय बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?