News Summary
Generated by OK AI. Editorially reviewed.- हृदयघात तब हुन्छ जब मुटुमा रगत पुर्याउने धमनीमा अवरोधले मांसपेशी मर्न थाल्छ र छातीमा दबाब वा दुखाइ हुन्छ।
- सडन कार्डियाक अरेस्टमा मुटुको इलेक्ट्रिकल प्रणालीले काम छोड्छ र व्यक्ति तुरुन्तै बेहोस हुन्छ।
केही कुराहरू यस्ता हुन्छन् जसलाई सुन्दा मानिसहरू अलमलमा पर्ने गर्छन् । त्यसमध्ये एक हो मुटुसँग सम्बन्धित दुई गम्भीर अवस्था हृदयघात र सडन कार्डियाक अरेस्ट ।
यी दुवैलाई धेरैजसो मानिसहरू एउटै ठान्छन्, तर वास्तवमा यी पूर्णरूपमा फरक छन् । सरल भाषामा भन्नुपर्दा हृदयघात रक्त प्रवाहसँग जोडिएको समस्या हो भने कार्डियाक अरेस्ट मुटुको इलेक्ट्रिकल प्रणालीमा भएको गडबडीको परिणाम हो ।
हृदयघात भनेको के हो ?
हृदयघात तब हुन्छ जब मुटुमा रगत पुर्याउने कुनै धमनी ‘कोरोनरी आर्टरी’मा अवरोध सिर्जना हुन्छ । प्रायः कोलेस्टेरोल रगतको थक्का वा प्लाक जम्मा हुँदा रगत बग्न बाटो बन्द हुन्छ । यसले गर्दा मुटुको एक भागमा रगत र अक्सिजन पुग्न सक्दैन ।
यदि समयमै अवरोध हटाइएन भने त्यो भागको मांसपेशी बिस्तारै मर्न थाल्छ । हृदयघातका लक्षणहरू कहिलेकाहीं अचानक र तीव्र हुन्छन् तर धेरैजसो अवस्थामा यो बिस्तारै सुरु हुन्छ । जस्तै छातीको बीच भागमा दबाब, कडापन वा दुखाइ महसुस हुनु, दुखाइ बायाँ हात, काँध, घाँटी वा ढाडमा फैलिने हुन्छ । सास फेर्न गाह्रो हुनु, चिसो पसिना आउनु, अत्यधिक थकान, चक्कर लाग्नु, बान्ता हुनु वा पेट फुल्नु जस्ता लक्षण देखिन सक्छन्।
हृदयघात हुँदा मुटुको धड्कन प्रायः पूर्णरूपमा बन्द हुँदैन । महिलाहरूमा भने लक्षणहरू फरक हुन सक्छन् । उनीहरूलाई छाती दुखाइको तीब्रता कम हुन सक्छ वा नहुन पनि सक्छ । यसको सट्टा असामान्य थकान, बान्ता, ढाड वा बंगाराको दुखाइ, सास फेर्न गाह्रो र चक्कर लाग्ने समस्या बढी देखिन्छन् । यसले गर्दा महिलाहरूले प्रायः यी लक्षणहरूलाई सामान्य तनाव ठानेर बेवास्ता गर्छन् ।
सडन कार्डियाक अरेस्ट भनेको के हो ?
सडन कार्डियाक अरेस्ट अचानक हुन्छ र प्रायः कुनै चेतावनी बिना नै आउँछ । यसमा मुटुको धड्कन नियन्त्रण गर्ने इलेक्ट्रिकल प्रणालीले काम गर्न छोड्छ । जसले गर्दा मुटु अनियमित रूपमा धड्कन थाल्छ वा पूर्णरूपमा रोकिन्छ । यस्तो अवस्थामा मुटुले शरीरका महत्वपूर्ण अङ्गहरू जस्तै मस्तिष्क र फोक्सोमा रगत पुर्याउन सक्दैन । व्यक्ति तुरुन्तै बेहोस हुन्छ, नाडी छामिँदैन र सास फेर्न छोड्छ । यदि केही मिनेटभित्रै सहायता नपाएमा भने ज्यान जाने खतरा अत्यधिक हुन्छ किनकि हरेक मिनेटमा बच्ने सम्भावना ७ देखि १० प्रतिशतले घट्छ ।
दुवैबीच के सम्बन्ध छ ?
हृदयघात र कार्डियाक अरेस्ट एक-अर्कासँग जोडिन सक्छन् । धेरै पटक हृदयघातको बेला वा त्यसपछि मुटुको मांसपेशीमा भएको क्षतिले इलेक्ट्रिकल समस्या निम्त्याएर कार्डियाक अरेस्ट हुन सक्छ । तर हरेक हृदयघात कार्डियाक अरेस्टमा बदलिँदैन । यद्यपि हृदयघातले कार्डियाक अरेस्ट हुने जोखिम भने निकै बढाउँछ ।
यसबाहेक मुटुको मांसपेशी मोटो हुनु, जन्मजात इलेक्ट्रिकल समस्या, मुटुको भल्भमा समस्या, पहिलेको हृदयघातबाट भएको क्षति, अत्यधिक व्यायाम, लागूपदार्थ वा बढी मदिरा सेवन जस्ता कारणले पनि कार्डियाक अरेस्ट हुन सक्छ ।
हृदयघातको अवस्थामा के गर्नुपर्छ ?
यदि हृदयघातको शंका लागेमा ढिला नगरी तुरुन्तै इमरजेन्सी कल गर्नुपर्छ । नेपालमा एम्बुलेन्सका लागि १०२ वा प्रहरीका लागि १०० नम्बरमा कल गर्न सकिन्छ । जति सक्यो छिटो अस्पताल लैजानुपर्छ । यदि एम्लुलेन्समै स्वास्थ्यकर्मीसहितको सेवा भए अझै राम्रो हुन्छ । बाटोमा नै मेडिकल टोलीले अक्सिजन, एस्पिरिन वा अन्य आवश्यक उपचार सुरु गर्न सक्छ र अस्पताल पुग्दा एन्जियोग्राम, स्टेन्ट वा अन्य उपचार छिटो उपलब्ध हुन्छ । हरेक मिनेट समय छोट्याउन सक्दा मुटुको क्षति घटाउँछ ।
कार्डियाक अरेस्टको अवस्थामा के गर्नुपर्छ ?
सडन कार्डियाक अरेस्ट ज्यान लिने अवस्था हो र तुरुन्तै उपचार आवश्यक पर्छ । त्यसपछि सकेसम्म चाँडो सीपीआर कार्डियोपल्मोनरी रिससिटेसन सुरु गर्नुपर्छ । यदि उपलब्ध छ भने स्वचालित बाह्य डिफिब्रिलेटर प्रयोग गर्नुपर्छ जसले मुटुलाई विद्युतीय झट्का दिएर सामान्य लयमा फर्काउन मद्दत गर्छ । समयमा सीपीआर दिँदा व्यक्तिको बच्ने सम्भावना दोब्बर वा तेब्बरसम्म बढ्न सक्छ ।
मुटुसँग जोडिएका यी दुवै अवस्थाको फरक बुझ्नु अत्यन्त जरुरी छ । सही समयमा लक्षण पहिचान गर्नु र तुरुन्तै सहायता पुर्याउनु नै जीवन बचाउन सबैभन्दा महत्वपूर्ण कुरा हो । शंका लागेमा कहिल्यै ‘यो केही होइन’ भनेर बस्नु हुँदैन ।
प्रतिक्रिया 4