+

अध्ययनको रिपोर्ट : २०५० सम्म १.८ अर्ब मानिस हुनेछन् कलेजो रोगबाट पीडित

२०८३ वैशाख  ४ गते १३:३७ २०८३ वैशाख ४ गते १३:३७

यसो तीब्र वृद्धिलाई बेलैमा नरोके यसले भविष्यमा मानव समुदायको स्वास्थ्य तथा आर्थिक प्रणालीमा ठूलो असर पार्ने चेतावनी दिइएको छ ।

अध्ययनको रिपोर्ट : २०५० सम्म १.८ अर्ब मानिस हुनेछन् कलेजो रोगबाट पीडित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अध्ययनले एमएएसएलडीको तीब्र वृद्धिको मुख्य कारण पश्चिमी शैलीअनुसारको खानपान, अत्यधिक चिनी, अल्ट्रा-प्रशोधित खाना र शारीरिक गतिविधिको कमी रहेको बताएको छ।

कलेजो मानव शरीरको एक महत्त्वपूर्ण अंग हो ।  हामीले खाएको खानामा भएको विषाक्त पदार्थ कलेजोको माध्यमबाट बाहिर निस्कन्छ । हामीले खाने औषधिहरूलाई शरीरमा पठाउने, त्यसलाई पचाउने काम पनि कलेजोले नै गर्छ।

यसले शरीरलाई प्रोटिन बनाउछ । शरीरलाई रोगसँग लड्न चाहिन तत्व पनि यसले उत्पादन गर्छ । काटेका बेला रगत बग्न नदिएर रोक्ने तत्व पनि कलेजोले नै उत्पादन गर्छ ।

कलेजो फेल भएपछि शरीरका विभिन्न भागमा रक्तश्राव हुने हुन्छ ।  रगत पुरानो भएको, मरेका रक्तकोषहरू कलेजोले पित्त नली हुँदै फाल्छ ।

यी कुराहरूले नै हामी बुझ्न सक्छौँ, कलेजोलाई स्वस्थ राख्नु कति जरुरी छ भनेर । हालै कलेजो रोगबारे गरिएको एक अध्ययनले चिन्ताजनक रिपोर्ट निकालेको छ ।

खराब खानपान र अस्वस्थ जीवनशैली जस्ता कारणले कलेजोसम्बन्धी समस्याहरू बढिरहेका छन् ।

आगामी २५ वर्षभित्र विश्व जनसंख्याको ठूलो यो हिस्सा कलेजो रोगबाट प्रभावित हुन्छ भन्ने प्रक्षेपण एक अध्ययनले गरेको छ ।

के देखियो अध्ययनमा ?

यो अध्ययन सियाटलको वाशिंगटन विश्वविद्यालयको सार्वजनिक स्वास्थ्य अनुसन्धान संस्थान, स्वास्थ्य मेट्रिक्स एण्ड इभ्यालुएसन इन्स्टिच्युटको नेतृत्वमा गरिएको थियो । यसको रिपोर्ट केहीदिन अघि ल्यान्सेट ग्यास्ट्रोएन्टेरोलोजी र हेपाटोलोजी जर्नलमा प्रकाशित गरिएको छ ।

अध्ययनले मेटाबोलिक डिसफंक्शन-सम्बन्धित स्टेटोटिक कलेजो रोग(एमएएसएलडी) तीब्र गतिमा बढ्ने तथ्य उजागर गरेको छ । एमएएसएलडीलाई पहिला गैर-अल्कोहलिक फ्याटी लिभर रोग(एनएएफएलडी) को रूपमा चिनिन्थ्यो ।

यो समस्यामा कलेजोमा आवश्यकताभन्दा बढी बोसो जम्मा हुन्छ। उपचार नगरेमा यो रोग बढ्दै गएर कलेजोलाई गम्भीर असर पुर्‍याउन सक्छ ।

यो विश्वव्यापी रूपमा तीब्र गतिमा बढिरहेको कलेजोको समस्या हो ।

सन् २०५० सम्म विश्वमा करिब १ अर्ब ८० करोड व्यक्तिमा एमएएसएलडीको समस्या देखिने उक्त अध्ययनको रिपोर्टमा उल्लेख छ ।

रिपोर्टमा भनिएअनुसार २०२३ सम्मको तथ्यांक हेर्दा १ अर्ब ३० करोड मानिस कलेजो सम्बन्धी यो समस्याबाट पीडित छन् । पछिल्लो ३० वर्षमा एमएएसएलडीको समस्या अत्याधिक वृद्धि भएको छ ।

१९९० मा विश्वमा करिब ५० करोड मान्छेहरू एमएएसएलडीबाट पीडित थिए । १९९० देखि २०२३ सम्मको वृद्धिदर १४३ प्रतिशत रहेको छ । २०५० सम्म करिब १ अर्ब ८० करोडमा देखिँदा यसको वृद्धिदर ४२ प्रतिशतले वृद्धि हुने अध्ययनको रिपोर्टमा उल्लेख छ ।

२०२३ मा मात्रै यो प्रति १ लाख जनसंख्या मध्ये १४ हजार ४२९ का दरले वृद्धि भएको अध्ययनले भनेको छ ।

एमएएसएलडी महिलाहरू भन्दा पुरुषहरूमा आम रूपमा देखियो । यो रोग प्रायः ८० देखि ८४ वर्ष उमेरका वृद्धवृद्धाहरूमा देखिन्छ, तर प्रभावित हुनेहरूमध्ये अधिकांश कम उमेरकै छन् । जसमा लगभग ३५ देखि ३९ वर्ष उमेरका पुरुषहरू र ५५ देखि ५९ वर्ष उमेरका महिलाहरू छन् ।

किन बढेको छ यो रोग ?

एमएएसएलडीको समस्या बढ्नुको मुख्य कारणमा रगतमा चिनीको मात्रा उच्च हुनुलाई मानिएको छ । यसका लागि अत्यधिक चिनी, अल्ट्रा-प्रशोधित खाना र खराब चिल्लोको सेवन जिम्मेवार भनिएको छ । मोटोपन बढ्नु, धुम्रमान जस्ता कारणले हुने टाइप २ मधुमेह कजेलो बिगार्ने धेरै जिम्मेवार रहेको अध्ययनको निष्कर्ष छ ।

प्रतिवेदनले यो रोग बढ्नुको सबैभन्दा ठूलो कारण पश्चिमी शैलीअनुसारको खानपान र शारीरिक गतिविधिको कमी मानेको छ ।

एमएएसएलडीको वृद्धि विश्वव्यापी रूपमा भए पनि उत्तर अफ्रिका र मध्य पूर्वसहित केही क्षेत्रहरूमा यसको वृद्धिदर धेरै रहेको अध्ययनमा उल्लेख छ ।

बेलायतमा, १९९० र २०२३ को बीचमा यसको दर ३३ प्रतिशतले बढ्यो, जुन पश्चिमी युरोपमा सबैभन्दा ठूलो वृद्धि हो । अस्ट्रेलियामा ३० प्रतिशत र संयुक्त राज्य अमेरिकामा २२ प्रतिशतले बढेको विश्लेषणले गरिएको छ ।

यो रोगबाट प्रभावित हुनेको संख्या वृद्धि भएपनि यसबाट हुने मृत्युको दर स्थिर रहेको कुरा अध्ययनले देखाएको छ । हेरचाह तथा उपचारमा भएको वृद्धिले यो समस्याबाट पीडित व्यक्तिलाई मृत्युको मुखमा पुग्नबाट बचाइरहेको निष्कर्ष छ ।

एमएएसएलडी हुनेको बढ्दो संख्याले भविष्यमा कलेजो सिरोसिस वा क्यान्सर जस्ता गम्भीर जटिलताहरू निम्त्याउन खतरा रहेको अध्ययनले भनेको छ।

यो समस्यामा सामान्यतया कुनै लक्षण देखिँदैन । धेरै मानिसहरू थाहै नपाई यो रोगबाट पीडित हुन्छन् । प्रायगरी अर्को कुनै समस्या लिएर परीक्षण गर्न जाँदा मात्रै यो रोग पत्ता लाग्ने गर्छ ।

यसमा धेरै थकान महसुस हुनु, सामान्यतया अस्वस्थ महसुस हुनु, र कलेजो दुखाइ वा असुविधा हुने जस्ता लक्षणहरू हुन्छन् ।

विज्ञहरूले यो रोग टाइप २ मधुमेह, उच्च रक्तचाप र मोटोपनसँग प्रत्यक्ष रूपमा जोडिएको भनेका छन् । यदि जीवनशैली परिवर्तनलाई समयमै सम्बोधन गरिएन भने, कम उमेरमै कलेजो रोग लाग्ने, कलेजो फेल हुने र कलेजोको क्यान्सरको समस्या बढ्ने बढ्ने विज्ञहरू बताउँछन्।

रोकथाम तथा उपचार कसरी गर्ने ?

प्रायः अधिक तौलसँग जोडिएको हुन्छ र सामान्यतया जीवनशैली परिवर्तनहरूद्वारा उपचार गर्न सकिन्छ ।

त्यसकारण, सबैले आफ्नो आहारको बारेमा सचेत हुनुपर्छ, तैलीय खानाबाट टाढा रहनुपर्छ र शारीरिक रूपमा सक्रिय रहनुपर्छ ।

यसो तीब्र वृद्धिलाई बेलैमा नरोके यसले भविष्यमा मानव समुदायको स्वास्थ्य तथा आर्थिक प्रणालीमा ठूलो असर पार्ने चेतावनी दिइएको छ । अध्ययनले सरकारहरूलाई चिनीयुक्त पेय पदार्थ र जंक फूडको विज्ञापनमा कर बढाउन पनि आग्रह गरेको छ ।

कलोजो रोग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय