+
+
Shares
आईपीयूको महासभा :

हिमाल पग्लिँदा र हिमताल फुट्दा जैविक विविधतामा असर पर्‍यो : अध्यक्ष दाहाल

टर्कीको इस्तानबुलमा भएको महासभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले युवा सहभागिता, समावेशिता, विकास, जलवायु र डिजिटल रूपान्तरणका विषयमा विश्वभरका संसद् एकताबद्ध हुनुपर्ने बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ४ गते १४:५८

४ वैशाख, काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १५२ औँ महासभालाई सम्बोधन गरेका छन् ।

टर्कीको इस्तानबुलमा भएको महासभालाई सम्बोधन गर्दै उनले विश्व समुदायलाई युवा सशक्तिकरण, समावेशिता र जलवायु न्यायका विषयमा एकताबद्ध हुन आह्वान गरे ।

अध्यक्ष दाहालले युवा सहभागिता, समावेशिता, विकास, जलवायु र डिजिटल रूपान्तरणका विषयमा विश्वभरका संसद् एकताबद्ध हुनुपर्ने बताए ।

विश्व भूराजनीतिक प्रतिस्पर्धा, द्वन्द्व, जलवायु परिवर्तन, आर्थिक संकट, असमानता र युवा बेरोजगारीजस्ता बहुआयामिक चुनौतीसँग जुधिरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले यी समस्याहरू परस्पर सम्बन्धित रहेकाले सामूहिकता, दूरदर्शिता र समावेशितामा आधारित समाधान आवश्यक रहेको बताए ।

महासभाको मूल नारा ‘आशाको सम्वर्धन, शान्तिको सुनिश्चिूतता र भावी पुस्ताका लागि न्याय‘को सान्दर्भिकता रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले जनप्रतिनिधिका रूपमा वर्तमानमा गर्ने निर्णयले भोलिका पुस्ताको भविष्य निर्धारण गर्नमा महत्वपूर्ण योगदान गर्ने बताए ।

अध्यक्ष दाहालले आशा र विश्वासलाई सुदृढ बनाउन युवाकेन्द्रित नीति अपरिहार्य रहेको उल्लेख गर्दै नेपालमा हाल प्रतिनिधि सभामा ठूलो संख्यामा युवाको सहभागिता रहेको जानकारी गराए ।

समावेशिता लोकतन्त्रको आधार भएको भन्दै दाहालले नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रको सफल अभ्यास गर्दै संविधानमा महिला, दलित, आदिवासी जनजाति र अन्य सीमान्तकृत समुदायको प्रतिनिधित्व सुनिश्चित गरेको स्मरण गराए ।

विकास र शान्ति एकअर्कासँग अन्तरनिर्भर रहेको उल्लेख गर्दै उनले विकासको असमानता अन्त्य गर्नुपर्नेमा जोड दिए ।

जलवायु परिवर्तनलाई विश्वकै गम्भीर चुनौतीका रूपमा औंल्याउँदै नेपालजस्ता कार्बन न्यून उत्सर्जन गर्ने तर उच्च जोखिममा रहेका देशहरूका लागि जलवायु न्याय सुनिश्चित गर्न आग्रह गरे ।

हिमाली क्षेत्रमा तापक्रम वृद्धि, हिमाल पग्लिने र हिमताल फुट्ने जोखिम बढ्दै गएको भन्दै अध्यक्ष दाहालले यसको असर जनजीविका र जैविक विविधतामा परेको बताए ।

यद्यपि, नेपालले सन् २०४५ सम्म नेट–शून्य उत्सर्जन हासिल गर्ने लक्ष्यसहित नवीकरणीय ऊर्जा र जलवायु अनुकूलन कार्यक्रम अघि बढाएको जानकारी दिए ।

डिजिटल रूपान्तरण र कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र विकासले अवसरसँगै चुनौती पनि ल्याएको उल्लेख गर्दै उनले डिजिटल विभाजन घटाउन अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?