News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालको गर्ल्स टिम आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस कम्पिटिसनमा दोस्रो हुँदै सिंगापुरमा हुने एसियाली फाइनलका लागि छनोट भएको छ ।
- प्रतियोगितामा भारत पहिलो र नेपाल दोस्रो हुँदै छनोट भएका छन् भने श्रीलंका तेस्रो, माल्दिभ्स चौथो र पाकिस्तान पूछारमा रह्यो ।
- ब्वाइजतर्फ भारतले पाकिस्तानलाई ३–० ले हराउँदै पहिलो स्थान हासिल गरेको छ भने नेपाल चौथो स्थानमा रह्यो ।
४ बैशाख, काठमाडौं । नेपालको गर्ल्स टिम आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस कम्पिटिसन (दक्षिण एसियाली क्षेत्रिय छनोट) मा शुक्रबार दोश्रो भएको छ ।
पाँच राष्ट्र सहभागी प्रतियोगिताको राउन्ड रोविन लिगमा नेपाल दोस्रो हुँदै आगामी सेप्टेम्बर १५ देखि २० तारिखसम्म सिंगापुरमा हुने एसियाली फाइनल प्रतियोगिताका लागि छनोट भएको छ ।
दुई राष्ट्र छनोट हुने प्रावधान अनुसार भारत पहिलो र नेपाल दोस्रो हुँदै छनोट भएको हो ।
प्रतियोगितामा भारतले सबै चार खेल जित्दा नेपालले तीन खेल जित्दा भारतसँग मात्र पराजित भएको थियो । नेपालले श्रीलंका, माल्दिभ्स र पाकिस्तानलाई हराएको थियो ।
यसैगरी श्रीलंका दुई खेल जितेर तेस्रो तथा एक खेल जितेर माल्दिभ्स चौथो भयो । जितविहीन पाकिस्तान पूछारमा रह्यो ।
नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको अन्तिम दिन गर्ल्समा नेपालले माल्दिभ्सलाई २–१ ले पराजित गरेको हो । पहिलो सिंगल्समा नेपालकी आर्या पौडेलले लायरा उषामा अलीलाई ६–०, ६–२ को सेटमा पराजित गरिन् । अर्को सिंगल्समा माल्दिभ्सकी इश्रा इब्राहिमले नेपालकी सारा पन्तलाई ६–३, ६–३ ले पराजित गर्दै १–१ को बराबरीमा पुर्याइन् ।
डबल्समा नाइरा घले र साराको जोडीले लायरा र इश्राको जोडीलाई ६–३, ६–१ ले पराजित गरेपछि नेपालले खेल जित्दै सिंगापुर यात्रा पक्का गरेको हो ।
गर्ल्सतर्फ नै भारतले श्रीलंकालाई ३–० ले हरायो ।
सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको प्रतियोगिताको ब्वाइजमा भारत र पाकिस्ताले बिहीबारै एसियाली फाइनल प्रतियोगिताका लागि स्थान पक्का गरिसकेका थिए । अन्तिम दिन भएको फाइनलमा भारतले पाकिस्तानलाई ३–० ले हराएर पहिलो भयो ।
बंगलादेश बाहेक ६ दक्षिण एसियाली राष्ट्रको सहभागिता रहेको ब्वाइजमा श्रीलंका तेस्रो, नेपाल चौथो, भुटान पाँचौं र माल्दिभ्स छैटौं भए । तेस्रो स्थानको लागि भएको खेलमा श्रीलंकाले नेपाललाई २-१ ले पराजित गरेको थियो ।
विजेतालाई नेपाल टेनिस संघका अध्यक्ष मनोहरदास मुल र आईटीएफ डेभ्लप्मेन्ट अफिसर जानेथन स्तब्सले शुक्रबार एक कार्यक्रमबीच पुरस्कृत गरे ।
प्रतिक्रिया 4