News Summary
Generated by OK AI. Editorially reviewed.- चितवनको रत्ननगर प्रादेशिक अस्पतालको मातृशिशु भवन निर्माणमा ढिलासुस्ती भएपछि निर्माण कम्पनीलाई लिखित प्रतिबद्धता दिन निर्देशन दिइएको छ।
- भौतिक पूर्वाधार विकास मन्त्री डा. देवकोटा र स्वास्थ्य मन्त्री किरण थापाले अस्पतालको कामको अवस्थाबारे स्थलगत अनुगमन गरी कारण सोधपुछ गरेका छन्।
- भवन अभावले अस्पतालमा सेवा विस्तारमा अवरोध पुगेको छ र नयाँ भवन २०८३ असारभित्रै सञ्चालनमा आउने अपेक्षा गरिएको छ।
५ वैशाख, हेटौंडा । चितवनको बकुलहर रत्ननगर प्रादेशिक अस्पतालको निर्माणाधीन मातृशिशु भवनको काममा ढिलासुस्ती भएपछि निर्माण कम्पनी सञ्चालक (ठेकेदार)लाई लिखित प्रतिबद्धता दिन निर्देशन दिइएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा र स्वास्थ्य मन्त्री किरण थापाले रत्ननगर नगरपालिका–२ स्थित अस्पतालको स्थलगत अनुगमन गरी कामको अवस्थाबारे जानकारी लिए ।
निर्धारित समयसीमा सकिएर पटक–पटक म्याद थप गर्दा पनि भवन निर्माण सम्पन्न नभएपछि मन्त्रीद्वयले निर्माण पक्ष तथा मन्त्रालयका प्राविधिकहरुसँग ढिलाइ हुनुको कारण सोधपुछ गरेका छन् ।
भौतिक मन्त्री डा. देवकोटाले बाँकी समयभित्रै भवन हस्तान्तरण गर्ने गरी निर्माण कम्पनीका मुख्य सञ्चालक आफैं उपस्थित भएर लिखित प्रतिबद्धता जनाउन निर्देशन दिएका हुन् । ‘अब कर्मचारीको भर परेर हुँदैन, मुख्य प्रोपाइटरले नै हामीसँग सिधै सम्पर्क गरी काम सक्ने ठोस प्रतिबद्धता दिनुपर्छ,’ मन्त्री देवकोटाले भने, ‘हामी काम तपाईंहरुबाटै सम्पन्न होस् भन्ने चाहन्छौं, तर प्रगति देखिएन भने अब म्याद थपिने छैन । बरु जरिवाना गर्ने वा कानुनी प्रक्रियामार्फत अर्को विकल्प खोज्न बाध्य हुनेछौँ ।’
भवन अभावले सेवा प्रवाहमा सास्ती
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोपाल कर्माचार्यले भवन अभावकै कारण अस्पतालले धेरै समस्या झेल्नुपरेको बताए । उनका अनुसार दैनिक करिब १५ सय देखि १९ सय सेवाग्राही आउने यस अस्पतालमा पूर्वाधार अभावले सेवा विस्तारमा अवरोध पुगेको छ ।
‘हामीसँग डायलासिसका ५ वटा मेसिन छन्, तर ठाउँ नहुँदा ती थन्किएका छन् । सिटी स्क्यान मेसिन आउँदैछ, त्यसलाई राख्ने ठाउँ छैन,’ कर्माचार्यले गुनासो गरे, ‘ओपीडीमा एउटै कोठामा दुई जना डाक्टर बस्नुपर्ने र दुई जना बिरामीलाई एउटै बेडमा राखेर उपचार गर्नुपर्ने बाध्यता छ । एउटा मात्र शल्यक्रिया कक्ष (अप्रेसन थिएटर) हुँदा चिकित्सकहरुले पालो पर्खिनुपर्छ ।’
नयाँ भवन हस्तान्तरण भएमा २०८३ असारभित्रै बिरामीलाई सहज सेवा दिन सकिने उनको भनाइ छ ।
७० प्रतिशत भौतिक प्रगति, चालु आर्थिक वर्षभित्रै सकिने
शहरी विकास तथा भवन कार्यालयका प्रमुख भूपेन्द्र यादवका अनुसार दुई कठ्ठा क्षेत्रफलमा निर्माणाधीन तीनले भवनको करिब ७० प्रतिशत भौतिक प्रगति भएको छ । भवनको मुख्य संरचनाको काम सम्पन्न भए पनि फिनिसिङ, एचभीएसी, स्यानिटरी र विद्युतीय जडानका कामहरु बाँकी छन् ।
निर्माण अवधि दुई पटकसम्म थप भइसकेकाले अब पुन: म्याद नथप्ने पक्षमा कार्यालय छ । यादवले भने, ‘२०७८ चैत २३ मा सम्झौता भई २०८० सालमै सम्पन्न हुनुपर्ने यो आयोजनाको म्याद दुई पटक थपिसकिएको छ । अब म्याद थप गर्ने सुविधा छैन, त्यसैले २०८३ जेठ २९ गतेसम्म काम सक्न निर्माण व्यवसायीलाई कडा दबाब दिनेछौँ ।’
यता निर्माण कम्पनी ‘आशिष योगेश्वर गृह जेभी’का प्रतिनिधि विराट गोलेले प्रशासनिक र प्राविधिक जटिलताका कारण ढिलाइ भएको दाबी गरे । सम्झौता भएको लामो समयपछि मात्र कार्यसम्पादन आदेश पाउनु, साइट क्लियर गर्न ढिला हुनु र आयोजना स्थानीय तहबाट प्रदेश सरकारमा हस्तान्तरण हुँदा केही अलमल भएको उनको भनाइ छ । अन्तर्राष्ट्रिय बजारबाट आउनुपर्ने सामानहरु केही दिनमै आइपुग्ने भएकाले तोकिएको समयमै काम सक्ने गोलेले प्रतिबद्धता जनाए ।
२०२४ सालमा स्वास्थ्य चौकीका रुपमा स्थापना भएको यो अस्पताल २०७७ मा प्रदेश सरकार मातहत ५० शय्याको अस्पतालमा स्तरोन्नति भएको थियो । २०७३ फागुनदेखि विशेषज्ञ प्रसूति सेवा सुरु गरेको यस अस्पतालले २०७४ मंसिर २० गते पहिलो पटक शल्यक्रियामार्फत सफल सुत्केरी सेवा प्रदान गरेको थियो ।
करिब १४ करोड ५८ लाख रुपैयाँको लागत अनुमान गरिएको यस मातृशिशु भवन निर्माणका लागि ९ करोड ५८ लाखमा ठेक्का सम्झौता भएको थियो । यो भवन सञ्चालनमा आएपछि भरतपुर अस्पतालमा हुने सुत्केरीको चाप कम हुने र स्थानीयले सहजै विशेषज्ञ सेवा पाउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4