News Summary
Generated by OK AI. Editorially reviewed.- एमाले र नेकपाका वामदलहरूबीच एकताको चर्चा भए पनि ठोस सल्लाह नभएको र पार्टीभित्र सुधार आवश्यक रहेको नेताहरूले बताएका छन्।
- नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले निर्वाचन समीक्षा र पार्टी पुनर्गठनलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्नुभयो।
- प्रचण्ड र ओलीबीच भेटवार्तापछि वाम एकताको चर्चा चले पनि तत्काल एकता सम्भव नरहेको नेताहरूले बताएका छन्।
एमाले र नेकपाका सहितका वामदलहरूबीच एकता हुने अहिले राजनीतिक वृत्तमा चर्चा सुनिन थालेको छ । तर ती दलहरूबीच ठोस सल्लाह नै भएको छैन । बरु आ–आफ्ना पार्टीभित्र सुधार गर्नुपर्ने माग चर्किएका छन् ।
७ वैशाख, काठमाडौं । प्रतिनिधि सभा चुनावमा निकै ठूलो धक्का खाएपछि वामपन्थी वृत्तमा अहिले एकताको प्रसंग चर्चामा आउन थालेका छन् । विशेष गरी दुई ठूला दल एमाले र नेपाल कम्युनिस्ट पार्टी नेकपाबीच मिल्ने विन्दु छ कि छैन भन्दै विश्लेषण पनि हुन थालेको छ । तर दुवै पार्टीभित्र आफैं भित्रको सुधार कि पार्टी–पार्टीबीचको एकता भन्नेमा फरक फरक धारणाहरू छन् ।
वामपन्थी एकताबारे चलेको चर्चालाई नेकपा एमालेका केही शीर्ष नेताहरूले असान्दर्भिक भनेका छन् । उपाध्यक्ष विष्णुप्रसाद पौडेलले निर्वाचनको समीक्षा र पार्टी पुनर्गठनको एजेण्डालाई ओझेलमा पार्न वाम एकताको असान्दर्भिक चर्चा चलाइएको टिप्पणी गरेका छन् ।
‘नेकपा एमालेका लागि निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन आजको प्राथमिक कार्यसूची हो,’ पौडेलले फेसबुकमा लेखेका छन्, ‘यस यथार्थबाट अन्यत्र ध्यान मोड्नेगरी पर्दाभित्रबाट वामपन्थी एकताको असान्दर्भिक चर्चा कसले, किन चलाइरहेका हुन् ?’
पौडेलकै जस्तो मिल्दो टिप्पणी सुरेन्द्र पाण्डे र प्रदीप ज्ञवालीको पनि छ । ‘हाम्रा कतिपय कमरेडहरू नेतृत्वमाथि संकट आइलाग्यो भन्दै फेरि पनि वाम एकताको दौडधुपमा हुनुहुन्छ,’ पाण्डेले फेसबुकमा लेखेका छन्, ‘हिजो पद प्राप्तिका लागि एकता गरियो । आज सायद आफ्नो गुम्दो अस्तित्व जोगाउन । तर पार्टी एकता स्पष्ट विचार र सिद्धान्तका लागि गर्ने कि केही सीमित व्यक्तिको स्वार्थपूर्तिका लागि ?’
ज्ञवालीले पनि एकता भन्दा पहिले आफंैभित्रको सुधार आवश्यक रहेको सुझाव दिएका छन् ।
‘यतिबेला वामपन्थीसहित सबै पार्टीहरू समीक्षाको प्रक्रियामा छन् । धक्का एमालेले पनि खाएको छ, दर्जन बढी समूह एकीकृत गरेर बनेको नेकपाले पनि । विद्रोह गरेर बनेका संयुक्त या प्रलोपाहरूले पनि । समस्या एउटै छैन र समाधानको रेसिपी पनि एउटै हुन सक्दैन,’ ज्ञवालीले लेखेका छन् ।
शीर्ष नेताहरूकै विचार र शैली पछ्याउँदै एमालेको तल्लो तहसम्म यो बहस पुगेको छ ।
‘अहिले निर्वाचनमा भएको पराजयको समीक्षा गर्ने समय हो, पराजयको कारण खोजेर उपयुक्त निकास दिने बेला हो,’ केन्द्रीय सदस्य विष्णु रिजाल भन्छन्, ‘तर संकट टार्न अर्को पार्टीसँग मिल्ने कुरा ल्याइँदा हरेक पार्टी सदस्यले चासो राख्नु स्वाभाविक हो ।’
सबै वाम शक्ति संकटमा रहेकाले अहिले एकता भन्नुको अर्थ समस्याहरूको एकता हुने उनी बताउँछन् । ‘यथास्थितिको एकता पार्टीहरूको एकता हुँदैन, समस्याहरूको एकता हुन्छ, संकटहरूको एकता हुन्छ,’ रिजाल भन्छन् ।
नेपाली कम्युनिस्ट पार्टीमा के छ ?
एमाले नेताहरूले जसरी खुलेर नेताहरूले आपत्ति नजनाए पनि नेपाली कम्युनिस्ट पार्टीमा पनि यो एजेण्डाप्रति असहमति राख्ने नेताहरू छन् ।
गत १९ चैतबाट सुुरु भएको केन्द्रीय कार्य संयोजन समितिको बैठकमै नेताहरूले तत्काल एकता सम्भव नरहेको बताएका थिए ।
संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको दस्तावेजमाथि धारणा राख्ने क्रममा नेताहरूले तत्काल वाम एकताको विपक्षमा अडान लिएका थिए ।
‘वाम एकता के आधारमा र कुन आवश्यकतामा गर्ने हो भन्ने खुलाएर मात्र अगाडि बढ्नुपर्छ,’ उक्त बैठकमा सहभागी एक नेता भन्छन्, ‘केपी ओलीसँग कुरा मिलेर मात्र पार्टी मिल्न सक्दैन भन्ने अडान हामीले राखेका छौं ।’
अहिले वाम एकताको चर्चा चल्नुमा पनि नेकपाको उक्त बैठकमा प्रस्तुत दस्तावेज एक कारण हो । २१ फागुनको निर्वाचनमा पराजय बेहोर्नुको आन्तरिक ११ कारणमा वाम शक्तिहरू छिन्नभिन्न रहनु पनि एक रहेको निष्कर्ष दस्तावेजमा उल्लेख छ ।
यदि वामपन्थीहरू एकैठाउँ भए थप २६ सिट जित्न सकिने विवरण प्रचण्डले प्रस्तुत गरेका थिए ।
‘एमाले र नेकपा गरेर अहिले ४२ सिट छौं । यदि एउटै चिह्न लिएर लडेको भए थप २६ सिट जित्ने रहेछौं भन्ने निष्कर्ष प्रस्तुत भएको थियो,’ ती नेता भन्छन्, ‘यही दस्तावेजलाई लिएर पनि वाम एकताको चर्चा शुरु भएको देखिन्छ ।’
ओली-प्रचण्ड भेटपछि चलेको चर्चा

वाम एकताबारे चर्चा चल्नुको दोस्रो कारण भने ओलीलाई भेट्न बिहीबार प्रचण्ड महाराजगञ्जस्थि शिक्षण अस्पताल पुग्नु हो । उक्त भेटमा दुई नेताबीच वामपन्थी एकताबारे छलफल भएको दावी सहित नेताहरुले आपत्ति जनाइरहेका छन् ।
एमाले नेताहरुको आशंका पनि यी भेटवार्तापछि सार्वजनिक भइरहेको देखिन्छ । यद्यपि प्रचण्ड निकट स्रोत भने उक्त भेटमा वामएकताबारे छलफल नभएको बताउँछन् ।
‘प्रचण्ड कमरेडले उभिएरै स्वास्थ्य लाभको कामना गर्नुभयो,’ स्रोत भन्छ, ‘केपी ओलीले केही बोल्न खोज्नुभयो । र, राजनीतिक विषय पनि उठाउनुभयो ।’ स्रोतका अनुसार विगतमा केही कमजोरी गरियो कि भन्ने हिसाबले ओलीले प्रसंग उठाएका थिए ।
‘दुरदर्शी काम गर्न सकिएन कि आजको अवस्था आउनुमा भन्ने केपी ओलीको कुरा थियो,’ उनी भन्छन्, ‘तर प्रचण्ड कमरेडले धेरै कुरा गर्न चाहनु भएन ।’
प्रचण्डले यसबारे पछि छलफल गरौंला भनेका थिए । ‘तपाईं पहिले ठीक हुनुहोस्, अनि पछि कुरा गरौंला भन्नुभयो’, त्यो स्रोत भन्छ, ‘भएको यत्ति हो । चर्चा धेरै भयो ।’
एमाले-नेकपा एकताको आधार कति बलियो ?
नेकपाका एक शीर्ष नेता, प्रचण्डले ओलीसँग एकताकै कुरा गरेको भए पनि तत्काल सम्भव नरहेको बताउँछन् ।
‘अस्पतालमा जाने कुरो स्वभाविक हो । स्वास्थलाभको कामना गर्न हाम्रो पार्टीका अरु नेताहरू झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र वर्षमान पुनहरू पनि जानुभएको थियो,’ उनी भन्छन्, ‘जहाँसम्म एकताको कुरा छ, त्यो पार्टीभित्र छलफलकै विषय हो ।’
ती नेता, पार्टीभित्रको शक्ति समीकरणले पनि एमालेसँग एकता तत्काललाई सम्भव नरहेको बताउँछन् । ‘निर्वाचनअघि भएकै एकतालाई टुंग्याउन बाँकी छ । नेताहरूले नेताहरूलाई नै चिन्ने स्थिति छैन,’ उनी भन्छन्, ‘बैठकमा प्रस्तुत वामपन्थी मिलनको कुरामा असहमति राख्ने धेरै छौं ।’
एकतामा पुगिहाल्ने आधार कमजोर भए पनि ओली र प्रचण्डप्रतिको अविश्वास भने दुवै पार्टीभित्र देखिन्छ ।
‘उहाँहरूको विगतले पनि धेरैलाई झस्काएको होला । व्यक्तिगत संकट टार्न अर्काे पार्टीसँग मिल्ने दुवै नेताको शैली हो,’ नेकपाका अर्का एक नेता भन्छन्, ‘पार्टीभित्र अहिले जस्तो गञ्जागोल छ, त्यसले पनि शंका सिर्जना गरेको छ ।’
यद्यपि दुवैतिर एकताको पक्षमा पनि सानो संख्यामा नेताहरू छन् । एमालेतर्फ महेश बस्नेतले स्टाटस लेखेरै बचाउ गरेका छन् । ‘… कम्युनिष्ट पार्टी एकता भयो भने त बर्बादै हुन्छ भन्ने शैलीमा समाजवाद र जनवाद मन नपराउने र मुलुकको समृद्धि, विकास र राष्ट्रिय हित नचाहने शक्तिहरूले विरोध गर्नु त स्वभाविक हो,’ बस्नेतले लेखेका छन् ।
वाम एकताबारे भइरहेको चर्चामा असहमति राख्ने एमालेकै नेताहरूप्रति पनि बस्नेतले व्यंग्य गरेका छन् । ‘आफूलाई वामपन्थी भन्न रुचाउने, अझ एमालेकै नामसँग जोडिएका कतिपय नेताहरूले समेत अनावश्यक हल्ला र टीकाटिप्पणी गरेको सुन्दा भने अचम्म लाग्छ,’ बस्नेतले लेखेका छन् ।
नेकपाका नेता अशेष घिमिरे, दीर्घकालीन वाम एकताको विपक्षमा नभएर नेतृत्वको नियतमाथि प्रश्न उठिरहेको बताउँछन् ।
‘संकटमा जुटिहाल्ने र सजिलोमा फुटिहाल्ने प्रवृत्तिको विरुद्धमा आवाज उठेको रुपमा बुझ्नुपर्छ,’ उनी भन्छन्, ‘निर्वाचनमा पराजित भएका छौं भने पहिले गम्भीर समीक्षा गर्नुपर्छ । त्यसपछि योजनाबद्ध छलफल मार्फत अगाडि बढ्नुपर्छ । झ्याप्पै मिलौं अनि समीक्षा थालौं भनेर हुन्न ।’
प्रतिक्रिया 4