+
+
Shares

फाखेल-मातातीर्थ सडक निर्माण सात वर्षसम्म अधुरै, ठेकेदारलाई १० प्रतिशत जरिबाना

पटक–पटक गरी पाँच पटकसम्म म्याद थप्दा पनि काम नसकिएपछि प्रदेश सरकारले निर्माण कम्पनीलाई ठेक्का रकमको १० प्रतिशत जरिबाना लगाएको पूर्वाधार विकास कार्यालय ललितपुरका प्रमुख राजु श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।

नवीन तिमल्सिना नवीन तिमल्सिना
२०८३ वैशाख ९ गते १३:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फाखेल–मातातीर्थ–सतुंगल सडक निर्माण कार्य सात वर्षपछि पनि अधुरो छ र काठमाडौं खण्डमा ६७ प्रतिशत मात्र भौतिक प्रगति भएको छ।
  • प्रदेश सरकारले निर्माण कम्पनीलाई पाँच पटक म्याद थप्दा पनि काम नसकिएपछि ठेक्का रकमको १० प्रतिशत जरिवाना लगाएको छ।
  • मकवानपुर खण्डको ९० प्रतिशत सडक निर्माण भइसकेको छ र वैशाखभित्र बाँकी काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

९ वैशाख, हेटौंडा । बागमती प्रदेशको सदरमुकाम हेटौंडा र संघीय राजधानी काठमाडौं जोड्ने सबैभन्दा छोटो दुरीको वैकल्पिक मार्गका रूपमा हेरिएको ‘फाखेल–मातातीर्थ–सतुंगल’ सडक निर्माण अझै अधुरो छ ।

प्रदेश सडक गुरुयोजनामा समेटिएको यस सडकको निर्माण कार्य सुरु भएको सात वर्ष बितिसक्दा पनि अझै सम्पन्न हुन नसकेको हो । यस सडकको ट्रयाक खोल्ने काम तत्कालीन जिल्ला विकास समिति काठमाडौंले २०५५ सालमै सुरु गरेको थियो । झन्डै १२ वर्षमा ट्र्याक खुलेको यस सडकको निर्माण कार्य १७ जेठ २०७६ मा बागमती प्रदेश सरकारमार्फत अघि बढाइएको थियो ।

कुल १४ दशमलव ४ किलोमिटर सडकलाई मकवानपुर र काठमाडौं गरी दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ । काठमाडौं खण्डअन्तर्गत मकैबारीदेखि मातातीर्थसम्मको ८ दशमलव १ किलोमिटर सडकको निर्माण कार्य कछुवा गतिमा देखिएको छ । पूर्वाधार विकास कार्यालय ललितपुरमार्फत अमर कन्स्ट्रक्सनले २०७६ सालमा भ्याटसहित करिब २८ करोड रुपैयाँमा यसको ठेक्का लिएको थियो ।

पटक–पटक गरी पाँच पटकसम्म म्याद थप्दा पनि काम नसकिएपछि प्रदेश सरकारले निर्माण कम्पनीलाई ठेक्का रकमको १० प्रतिशत जरिबाना लगाएको पूर्वाधार विकास कार्यालय ललितपुरका प्रमुख राजु श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए । साढे २ करोड बढी जरिबाना ठेक्काको रकमबाट काटिने उनले बताए ।

यसअघि म्याद थप गर्न नखोज्दा कम्पनीले दाबी विरोध गरेपछि यो वैशाख मसान्तसम्म काम सक्ने गरी समय दिएको उनले बताए । ‘यो वैशाखमा पनि काम सकिएला जस्तो छैन । काम सकिएन भने नियमअनुसार कार्यालय अगाडि बढ्छ,’ उनले भने ।

प्रमुख श्रेष्ठका अनुसार निर्माण कम्पनीले कालोपत्रे गर्नका लागि बेस हालिसकेको छ । यस खण्डको हालसम्म भौतिक प्रगति ६७ प्रतिशत र वित्तीय प्रगति ६६ दशमलव ०२ प्रतिशत मात्रै रहेको छ ।

मकवानपुर खण्डको काम अन्तिम चरणमा

मकवानपुर खण्डअन्तर्गत महालक्ष्मी खोलादेखि चखेल–मकैबारीसम्मको ६ दशमलव ३ किलोमिटर सडकको निर्माण कार्य भने सन्तोषजनक देखिएको छ । सदाशिव हिमाल कन्स्ट्रक्सनले १८ करोड ४६ लाख रुपैयाँमा ठेक्का लिएको यस खण्डको ९० प्रतिशत भौतिक प्रगति भइसकेको छ ।

पूर्वाधार विकास कार्यालय मकवानपुरका प्रमुख इन्जिनियर सुजन भण्डारीका अनुसार यस खण्डमा ३ किलोमिटर सडक कालोपत्रे र ढलान भइसकेको छ भने बाँकी ३.३ किलोमिटर सडक आगामी वैशाखभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यस खण्डको म्याद आगामी जेठ २५ गतेसम्म रहेको छ ।

सबैभन्दा छोटो र रणनीतिक मार्ग

महालक्ष्मी खोलादेखि काठमाडौंको कलंकीसम्म करिब २० किलोमिटर मात्र दुरी रहने यो सडक हेटौंडा–काठमाडौं जोड्ने अन्य मार्गहरु (सिस्नेरी वा फाखेल (फर्पिङ) भन्दा छोटो मानिन्छ ।

चखेल क्षेत्र तरकारी उत्पादनको पकेट क्षेत्रसमेत रहेकाले यो सडक सम्पन्न भएमा स्थानीय किसानका उत्पादन काठमाडौंको कालीमाटीसम्म सहजै पुर्‍याउन र यात्रुहरुलाई छिटो छरितो यात्रा गर्न ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ । तर, काठमाडौँ खण्डको सुस्त कामका कारण यो लक्ष्य अझै पूर्ण हुन सकेको छैन ।

लेखक
नवीन तिमल्सिना

तिमल्सिना अनलाइनखबरका मकवानपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?