News Summary
Generated by OK AI. Editorially reviewed.- मोरङ–६ बाट निर्वाचित सांसद रुबिना आचार्यले संसद्को हिउँदे अधिवेशन सकिएपछि 'जनताको प्रतिनिधि जनताकै माझमा' अभियान सुरु गरेकी छिन्।
- सांसद आचार्यले मोरङ–६ का सबै वडामा प्रत्यक्ष जनभेटघाट गर्दै स्थानीय समस्या र जनगुनासाहरू संकलन गरिरहेकी छिन्।
- उनीले शिक्षा, लागुऔषध दुर्व्यसन, कृषि विकास र अस्पताल सेवा सुधारका लागि आवश्यक कदम चाल्न सुझाव दिएकी छिन्।
१३ वैशाख, मोरङ । चुनावी अभियानमा मतदाताले गुनासो गरेका थिए, ‘चुनाव जितेपछि नेताहरू जनताबाट टाढा हुन्छन् ।’
मोरङ–६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित सांसद रुबिना आचार्यलाई पनि धेरै मतादाताले यही गुनासो राखेका थिए ।
संसद्को हिउँदे अधिवेशन सकिएपछि सांसद रुबिनाले ‘जनताको प्रतिनिधि जनताकै माझमा’ भन्ने अभियान चलाएकी छिन् । अधिवेशन सकिएपछि उनी मतदाताको घरदैलोमा पुगेकी छिन् ।
‘जनप्रतिनिधि सधैं जनताकै बीचमा रहनुपर्छ । प्रत्यक्ष भेटघाट, निरन्तर संवाद र जनताको आवाज सुन्ने संस्कृतिमार्फत मात्र वास्तविक समस्या पहिचान र समाधान सम्भव हुन्छ,’ सांसद रुबिनाले भनिन्, ‘संसद्को पहिलो अधिवेशन सकिएसँगै आफ्नो निर्वाचन क्षेत्रमा ‘जनताको प्रतिनिधि जनताकै माझमा’ अभियानलाई स्थलगत भ्रमण र जनसम्पर्क कार्यक्रममार्फत निरन्तर अघि बढाइरहेको छु ।’

सदनको प्रत्येक अधिवेशनपछि यो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता उनले मतदातासँग गरेकी छिन् । ‘मोरङ–६ का सबै वडामा प्रत्यक्ष जनभेटघाट कार्यक्रम सञ्चालन गर्दै स्थानीय समस्या, चुनौती तथा जनगुनासाहरू संकलन गरेको छु,’ उनले भनिन्, ‘क्षेत्रगत समस्या समाधानको वास्तविक आधार नै जनतासँगको प्रत्यक्ष संवाद हो ।’
मतदातासँगको संवादबाट प्राप्त सुझाव, सल्लाह र जनगुनासालाई संस्थागत रूपमा सम्बोधन गर्न मोरङ–६ को सचिवालय समितिमार्फत आवश्यक प्रक्रिया उनले अघि बढाएकी छिन् ।
स्थलगत भ्रमणका क्रममा सरकारी विद्यालय, सरकारी अस्पताल, डुबान तथा कटान हुने क्षेत्रहरू तथा जमिन उत्खनन भएका स्थानहरूको निरीक्षण तथा अवलोकन गरेकी छिन् । निरीक्षणको क्रममा देखिएको र स्थानीयबाट आएका राय-सुझावलाई संसद्मा उठाउनुका साथै नीतिगत समस्या समाधान गर्ने योजना उनको छ ।
‘स्थानीय जनतासँग प्रत्यक्ष संवाद गर्दै उहाँहरूका समस्या, गुनासा तथा सुझावहरू संकलन गरेको छु,’ उनले भनिन्, ‘स्थानीय तहमा शिक्षा क्षेत्रको अवस्था कमजोर र पछाडि परेका समुदायहरूमा शिक्षाको पहुँच नभएको पाइयो । यो समस्या समाधानको पहल गर्छु ।’
गुणस्तरीय शिक्षा सुनिश्चित गर्न स्थानीय सरकारको सक्रिय र जिम्मेवार भूमिका अपरिहार्य रहेको उनले पाएकी छिन् ।

युवामा बढ्दो लागुऔषध दुर्व्यसनले समाजमा गम्भीर चुनौती सिर्जना गरिरहेकोले दीर्घकालीन समाधान गर्न ठोस रणनीति आवश्यक रहेको रुबिनाको निष्कर्ष छ ।
‘जनचेतना अभिवृद्धि, कडा निगरानी, प्रभावकारी पुनर्स्थापना कार्यक्रम तथा परिवार–समुदायको सहभागिता बिना यो समस्या समाधान सम्भव छैन,’ उनले भनिन्, ‘कृषि क्षेत्रमा सम्भावना विकास, स्थानीय उत्पादन प्रबर्द्धन तथा किसान मैत्री योजनाहरू प्रभावकारी रूपमा अगाडि बढाउनु पर्नेछ ।’
निर्माणाधीन पूर्वाधारका कार्यहरू छिटो, गुणस्तरीय र समयमै सम्पन्न गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले सम्बन्धित निकायमा ध्यानकर्षणसमेत गराएकी छिन् ।
अस्पतालमा बिरामीले गुणस्तरीय सेवा पाउनुपर्ने विषय रुबिनाले उठाएकी छिन् । अस्पताल व्यवस्थापन, सेवा प्रवाहलाई प्रभावकारी, सहज र जनमैत्री बनाउन आवश्यक सुधारका पहल तत्काल अघि बढाउन उनले सुझाव दिएकी छिन् ।
प्रतिक्रिया 4