+
+
Shares

लन्डन म्याराथनमा गुन्यू चोलीमा दौडिएर अन्जुले बनाइन् विश्व रेकर्ड

नवीन पोखरेल नवीन पोखरेल
२०८३ वैशाख १४ गते ६:३९

१४ वैशाख, लन्डन । ४६ औं लन्डन म्याराथन नयाँ रेकर्ड कायम गर्दै आइतबार सम्पन्न भएको छ ।

विश्वको सबैभन्दा प्रतिष्ठित र समावेशी खेलकुद इभेन्टमध्ये एक लन्डन म्याराथनमा यस वर्ष ५९ हजार बढी धावकले २६.२ माइल (४२.२ किमी) लामो दौड पूरा गरे ।

गत वर्ष लन्डन म्याराथनमा कुल ५६,६४० ले दौड पूरा गर्दा गिनिज वर्ल्ड (विश्व रेकर्ड) कायम भएको थियो । यसपटक धावक संख्या झन् बढी रह्यो ।

साउथ इष्ट लन्डनको ब्ल्याकहिथ र ग्रीनवीचबाट सुरु भएको म्याराथन बकिङ्घम प्यालेस र हर्स गाड्रस रोड नजिकै सेन्ट जेम्स पार्क आएर समापन भएको थियो ।

यसपटकको म्याराथनमा नेपालीहरुले समेत उत्साहजनक सहभागिता जनाएका छन् ।

नेपाल रन यूकेले आफ्नो संस्था आवद्ध विश्वका १२ देशका नेपाली र बेलायतमै रहेका सदस्यहरु गरि ५८ जनाले दौडिएको सो संस्थाका संस्थापक सन्तोष राईले जनाए ।

राईले संस्थागत र व्यक्तिगत रुपमा दौडिएका समेत गरि झण्डै एकसय २० जनाले सहभागिता जनाएको पनि बताए ।

अमेरिका, अष्ट्रेलिया, जर्मनी, सर्बिया, नेपाल, अष्ट्रिया, सिंगापुर, बेल्जियम, यूएई लगायत देशमा बस्ने नेपाली समेत लन्डन म्याराथनमा भाग लिन आएका थिए ।

अन्जुले गुन्यू चोली लगाएर बनाइन् विश्व रेकर्ड

बेलायतको नेपाली समुदायमा आफ्नो दौडका सहयात्रीबीच ‘आइरन लेडी’ उपनामले चिनिने तेजमाया रेग्मी सिग्देल (अन्जु) ले लन्डन म्याराथनमा मौलिक नेपाली पहिरन गुन्यू चोलीमा दौडिएर गिनिज वर्ल्ड रेकर्ड कायम गरेकी छन् ।

एबोट वर्ल्ड च्याम्पियनसीपले आयोजना गर्ने विश्वका ठूला म्याराथन लन्डन, बर्लिन, बोष्टन, न्यूयोर्क, सिकागो, टोकियो र सिड्नी पार गरिसकेकी अन्जुले यसपटक केही नयाँ र च्यालेन्ज हुने गुन्यू चोलीमा दौडिन आंट गरेको बताइन् । लन्डन म्याराथनमा उनको सहभागिता सातौंपटक हो ।

‘यस्तो पहिरनमा दौड्दा अलिक असहज भएपनि दर्शकहरुले ‘ओहो नेपाली, कस्तो अमेजिङ आउटफिट’ भन्दा दूरी पार गरेको थाहै भएन’, उनले सुनाइन् ।

उमेर र समय नभनि कुनै पनि काम सुरु गर्ने र प्रतिबद्धता, लगाव भए असम्भव केही नभएको उनी बताउँछिन् । ‘महिलाहरु भएर पनि केही पृथक गरौं न । म सबै महिलालाई दौड्न सल्लाह दिन्छु’, अन्जुले अनलाइनखबरसँग भनिन्, ‘यसले तपाईंको जीवनशैली र मानसिक स्वास्थ्य पनि राम्रो हुन्छ । दौड्दा आफ्नो आत्मविश्वास बढ्छ, नयां साथी, नयाँ ठाउँ देख्न भेट्न पाइन्छ ।’

अन्जुले केही साताअघि सात दिनमा नेपालको सातवटा प्रदेशमा सात म्याराथन समेत पूरा गरेकी थिइन् ।

उनले नेपालमा फेब्रुअरी १४ देखि २१ सम्म सञ्चालन भएको ‘७७७ म्याराथन च्यालेन्ज’ प्रतियोगिता सफलतापूर्वक पूरा गरी यस्तो दौड पूरा गर्ने प्रथम नेपाली महिला बनेकी छन् ।

२०१९ को कोभिड महामारीबाट म्याराथन यात्रा सुरु गरेकी अन्जुले एभरेष्ट म्याराथन, अन्नपूर्ण म्याराथन र यूकेको सबैभन्दा कठिन मानिने वेल्सको स्नोडोनिया १०० किमी ट्रेल रन समेत पूरा गरिसकेकी छन् ।

सुवास गुरुङ

उता, सिंगापुर पुलिसमा कार्यरत सुवास गुरुङले पहिलोपटक फूल म्याराथनमा ‘डेब्यू’ गरेर आफ्नो रेकर्ड कायम गरेका छन् । उनले लन्डन म्याराथन २ : २३ : ३६ मा पार गरेर ५३ औं स्थान ओगटे ।

सुवासले जुलाई २०२४ मा अष्ट्रेलियास्थित गोल्ड कोस्ट इभेन्टमा हाफ म्याराथन १ : ०४ : ५५ मा पूरा गरेका थिए ।

यही म्याराथनमा क्यान्सर रोग जितेका धावक पाण्डव महतोले आफ्नो पेशा ‘सेफ’ कै पहिरन लगाएर दौडिए । हालसम्म विश्वका ९ प्रमुखमध्ये ६ सहित कुल ४२ वटा म्याराथन पूरा गरिसकेका उनले दोश्रो जीवन पाएपछि यसप्रति झन् सक्रिय भएको बताए ।

पेटको क्यान्सर र पछि पक्षघात भएपछि धेरैले उनी पुनः दौडमा फर्कने छैनन् भनेका थिए तर उनले त्यो भविष्यवाणी गलत सावित गरिदिए ।

यसैबीच, लन्डन म्याराथनमा भाग लिएका धावकहरुलाई लन्डनस्थित नेपाली दूतावास र नेपाल रन यूकेले स्वागत सम्मान गरेका छन् ।

पाण्डव महतो

आइतबार सांझ दूतावासमा आयोजित एक समारोहमा कार्यवाहक राजदूत विपिन दुवाडीले धावकहरुलाई सम्मान गरे ।

सम्मानका क्रममा कार्यवाहक राजदूत दुवाडीले सबैलाई बधाई दिंदै नेपाल रन यूकेले नेपाली समुदायमा स्वास्थ्य सचेतनामात्र नभइ च्यारिटी समेत गरेर प्रशंसनीय कार्य गरेको बताए ।

नेपाल रन यूके संस्थापक एवं कोच सन्तोष राईले स्वयंसेवकहरुलाई विशेष धन्यवाद दिंदै नयाँ रेकर्ड राखेका र सहभागिता जनाएका सबै धावकहरुलाई बधाइ दिए ।

सो अवसरमा नेपाल रन यूकेका सचिव तथा संस्थापक डा. जगन कार्कीले संस्थाका परोपकारी तथा दौड कार्यक्रमबारे जानकारी दिएका थिए ।

साबास्टियनले बनाए म्याराथनको विश्व रेकर्ड

टिसिएस लन्डन म्याराथनमा केन्याका साबास्टियन सावेले म्याराथनको विश्व रेकर्ड तोडेका छन् । उनले पुरुषहरूको एलिट दौडमा दुई घण्टाभन्दा कम समयमा दूरी पार गरे ।

उनले १ : ५९ : ३० मा दौड पूरा गरेका हुन् जुन इतिहासकै सबैभन्दा छिटो म्याराथन रेकर्ड हो ।

उता, इथियोपियाका योमिफ केजेल्चाले १ : ५९ : ४० मा दौड पूरा गरेर दोस्रो स्थान हासिल गरे भने युगान्डाका ज्याकब किप्लिमोले २ : ००.२८ मा म्याराथन पार गरे तेस्रो स्थान ओगटे ।

त्यस्तै, महिला एलिट दौडतर्फ इथियोपियाकी टिग्स्ट असेफाले लन्डन म्याराथन जितिन् । असेफाले लगातार दोस्रो वर्ष महिला एलिट दौड जितेकी हुन्।

उनले २ : १५ : ४१ को समयमा म्याराथन पूरा गरेकी छिन्, जुन गत वर्ष उनको रेकर्ड समयभन्दा नौ सेकेन्ड छिटो छ । यो महिला लन्डन म्याराथनमा विश्व रेकर्ड हो ।

केन्याकी हेलेन ओबिरी र जोयसिलिन जेप्कोसगेइले क्रमशः दोस्रो र तेस्रो स्थान जिते ।

यसैबीच, स्वीट्जरल्याण्डका मार्सेल हगले पुरुष ह्वीलचेयर दौड जितेका छन् । डेभिड वेयरको रेकर्ड बराबरी गर्दै लन्डन म्याराथनमा मार्सेलको लगातार छैटौं र समग्रमा आठौं जित हो ।

महिला ह्वीलचेयर दौडमा भने क्याथरिन डेबरनरले आफ्नो उपाधि सुरक्षित गरेकी छिन् ।

पुरुष र महिला एलिट दौडमा पहिलो स्थान जित्नेले ५५ हजार डलर र दोस्रो स्थान जित्नेले ३० हजार डलर प्राप्त गरेका छन् । यस अतिरिक्त आकर्षक बोनस समेत संलग्न छ ।

लेखक
नवीन पोखरेल

नवीन पोखरेल अनलाइनखबरका लागि बेलायतका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?