News Summary
Generated by OK AI. Editorially reviewed.- सल्यानको सिद्ध कुमाख गाउँपालिका-३ फँलाटेका पुरानाराम रेउले ४७ वर्षदेखि परम्परागत पानी घट्ट बनाउने पेसा गर्दै आएका छन्।
- रेउलेले दमको बिरामी भए पनि ६ जनाको परिवार पाल्न पानी घट्ट, जातो र सिलौटा बनाउने पेसा छोडेका छैनन्।
- उनको १५ वर्षीय नाति सुजनले पनि यो पेसा सिकेर निरन्तरता दिने इच्छा व्यक्त गरेको छ।
१४ वैशाख, सल्यान । सल्यानको सिद्ध कुमाख गाउँपालिका-३ फँलाटेका ६३ वर्षीय पुरानाराम रेउले परम्परागत पानी घट्ट बनाउने पेसाबाट परिचित छन् । ४७ वर्षअघि सुरु गरेको यो पेसालाई उनले अहिले पनि निरन्तरता दिइरहेका छन् ।
कडा चट्टान फोडेर छिनो र हथौडाको सहारामा ढुङ्गा कुदेर पानी घट्टको चक्का, जातोको चक्का र सिलौटो बनाउनु उनको दैनिकी हो । शारीरिक अस्वस्थताकाबीच पनि रेउलेले घर चलाउन यो पेसा छोडेका छैनन् । उनी दमको बिरामी छन् ।
‘१६ वर्षको उमेरदेखि यो पेसा गर्दै आएको छु । छोरा, नाति र श्रीमतीसहित ६ जनाको परिवार पाल्दै आएको छु’, उनले भने, ‘हात दुख्छ, ढाड दुख्छ, दमको बिरामी छु । टाढा जान सक्दिनँ, यहीँ काम गरेर परिवार चलाएको छु’, उनले भने ।
एक दशकअघिसम्म पानीघट्टका लागि चक्काको माग धान्नै मुस्किल हुने गरेको उनको अनुभव छ । बीचमा खोलाका घट्ट चल्न छोडेपछि माग घटेको उनी बताउँछन् । पछिल्लो दुई वर्षयता भने बिजुलीबाट चल्ने उपकरण आएपछि फेरि केही माग बढेको उनको भनाइ छ ।
‘१०/१२ वर्षअघिसम्म माग धान्नै मुस्किल हुन्थ्यो, वर्षमा १२ देखि १६ लाखसम्मको बिक्री हुन्थ्यो’, उनले भने, ‘तर विस्तारै खोलाका घट्ट चल्न छोडेपछि माग घट्यो । पछिल्लो दुई वर्षयता बिजुलीबाट चल्ने उपकरण आएपछि फेरि केही माग बढेको छ, अहिले वर्षमा ६ देखि ७ लाखसम्मको बिक्री हुन्छ।’
नातिको साथ

पछिल्लो पुस्ताले परम्परागत पेसाप्रति खासै चासो नदिँदा यस्तो सीप लोप हुने खतरा बढिरहेको पुनाराम रेउले बताउँछन् । आफूले सिकाउने प्रयास गरेपनि पछिल्लो पुस्ताले खासै चासो नदेखाउने गरेको उनको भनाइ छ । तर, रेउलेका १५ वर्षीय नाति सुजनले भने हजुरबुबाको पेसा सिक्दै निरन्तरता दिन अघि सरेका छन् ।
कक्षा १० मा अध्ययनरत सुजनले बिदाको समयलाई सदुपयोग गर्दै घट्ट, जातो र सिलौटा बनाउन सिकिसकेको बताउँछन् । ‘म १५ वर्षको भए, कक्षा १० मा पढ्छु । बिदामा समय खेर नजाओस् भनेर हजुरबुबासँगै सिकिरहेको छु’, उनले भने, ‘अहिलेसम्म ६ जोडी सम्मे जातो–सिलौटा बेचिसकेको छु । पढ्दै जाँदा पनि समय मिलाएर यो पेशालाई निरन्तरता दिने इच्छा छ।’
सुजनकै उमेरका पछिल्लो पुस्ताले यो पेशालाई निरन्तरता दिने हो भने यो पेसा पछिल्लो पुस्ता सम्म पुस्तान्तरण हुनुका साथै पेसा जिबित रहिरहने छ ।
बजार र मूल्य

साइज अनुसार एक जोडी पानी घट्टको चक्काको मूल्य ३० हजारदेखि एक लाख रुपैयाँसम्म पर्ने गर्दछ । त्यस्तै, जातो २ हजार ५ सयदेखि ५ हजार रुपैयाँ र सिलौटा ५ सयदेखि ३ हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ ।
हाल घट्टको चक्काभन्दा बढी जातो र सिलौटाको माग बढ्दै गएको छ । रेउलेले बनाएका सामग्री रुकुम, रोल्पा, सुर्खेत, दैलेख, जाजरकोट र दाङसम्म पुग्ने गरेका छन् ।
फलाँटेका मात्रै दर्जन बढी घरपरिवार यही पेसामा आवद्ध छन् । यसैबाट उनीहरुले घर खर्च टर्ने गर्छन् । परम्परागत सीप र श्रममा आधारित यस्तो पेसा संरक्षण र प्रवर्द्धन गर्न राज्य तथा स्थानीय तहको ध्यान दिनुपर्ने उनीहरुको माग छ ।




प्रतिक्रिया 4